News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नारायणगढ–मुग्लिङ सडकखण्डमा किन पहिरो गइरहन्छ ?

काठमाडौं— पहिरोका कारण गत बिहीबार (असार १४) देखि नारायणगढ–मुग्लिङ सडकखण्ड खुल्ने र बन्द हुने क्रम जारी छ । कहिले सडक एकतर्फी मात्र खुल्छ भने कहिले दुईतर्फी । शुक्रबार पहिरोले सडक अवरुद्ध हुँदा सयौँ यात्रुहरु सामान बोकेर कुद्दै सडक पार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पहिरोको असर हेर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने घटनास्थल नै पुगेका थिए । उनले यात्रुहरुलाई छेउबाट आउनुस् है भन्दै गरेको र यात्रुहरु खसिरहेको पहिरोको प्रवाह नगरी कुद्दै आएको भिडिओमा सुन्न र देख्न सकिन्छ । सोही घटनाको अर्को भिडिओमा वैदेशिक रोजगारीको लागि मलेसिया उड्न राति ११ बजेको समय तालिका रहेका एक यात्रु पहिरोले बीचमै समस्यामा परेको भेटिन्छ । उनलाई काठमाडौं पुर्‍याउने जिम्मा सांसद लामिछानको टिमले नै लिएको बताइएको छ ।

शुक्रबार साँझ सडक खुले पनि शनिबार राति पुनः पहिरो गएर अवरुद्ध भयो । दिनभरी पहिरो पन्छाएपछि आइतबार साँझ दुईतर्फी सञ्चालनमा आयो । सडक विभागअन्तर्गत सडक डिभिजन, भरतपुरका डिभिजन प्रमुख सि.डि.ई रमेशप्रसाद पौडेलले सडक खुले पनि सवारी चापका कारण समस्या भइरहेको बताए । उनले भने, ‘तुइन खोलामा पहिरो पन्छाएर बाटो खुलेपनि दुवै गाडी एकैपटक पास गर्न कठिन छ ।’

Prabhu Bank

यसरी पहिरो गएर यात्रुहरुले माल सामान बोकेर बीच बाटोमा सास्ती खेप्नु परेको पहिलोपटक होइन । प्रायः वर्षामा नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो जाने र सडक अवरुद्ध हुने भइरहन्छ । सन् १९८२ मा चीन सरकारको सहयोगमा बनेको उक्त सडक सामरिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । तर बारम्बार पहिरो जाने गर्दा यात्रुहरुले सास्ती त पाएकै छन्, ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता समेत आइपरेको छ ।

पहिरो जानुको कारण

सन् २०१५ मा नारायणगढ–मुग्लिन सडकखण्डलाई एसियाली राजमार्गको गुणस्तरमा ल्याउन सडकको स्तरोन्नति र विस्तार सुरु गरियो । जसअनुसार साढे पाँच मिटरको चौडा सडकलाई ९ देखि ११ मिटर चौडा पारियो । तर सन् २०१८ मा सडक चौडा गर्ने क्रममा पहिलो पटक पहिरो नगएको क्षेत्रमा पनि पहिरो जान सुरु भएको थियो ।

सडक चौडा गर्ने क्रममा स्लोप (भिरालो) संरचना, पुल निर्माणमा चट्टान कटान गर्दा र विभागलाई जानकारी नै नगराइ बनाइएका सहायक शाखा सडक निर्माणले बारम्बार नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो जान थालेको डिभिजन प्रमुख सि.डि.ई पौडेलको भनाइ छ ।

‘सडक चौडा बनाउन थालेपछि भिरालो पहाड अस्थिर भएको छ । त्यसले माथिको चट्टान खस्ने, पहाडै खस्ने र चट्टान खस्ने क्रम रोकिएको छैन,’ उनले भने, ‘भूक्षय र जोखिमको आकलन गरेर ३१ वटा स्थान पहिचान गरी सम्भावित पहिरो रोकथाम गरिएका थियो । तर जोखिम आकलन नगरिएको ३ नम्बर सडकको तुइन खोला नजिक पहिरो आयो । अहिले पहिरो गएको क्षेत्र नयाँ हो ।’

विभागले सो सडकखण्डमा सडक स्तरोन्नति गर्नुअघि अनुसन्धान गरे पनि ३६ किमीमै अनुसन्धान भने गरेको थिएन । त्यसबेला ३६ किमी सडककै जोखिम पहिचान गर्न खर्चिलो हुने भएकाले सम्भव नभएको विभागले जनाएको छ । सो क्षेत्रमा आएको पहिरो बर्खा सकेर कात्तिक लागेपछि मात्र रोकथाम गरिने विभागले जनाएको छ ।

गत वर्ष पनि उक्त सडकखण्डअन्तर्गत मौरी खोलामा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । त्यसबेला पनि उक्त सडकखण्डमा चट्टानको पहाडै खस्ने, चट्टान खस्ने, गेगरानको भग्नावशेष नै खसेको एक अध्ययनले देखाएको थियो । तर बिहिबारदेखि गएको पहिरो पन्छ्याउने काम अझै रोकिएको छैन ।

नयाँ पहिरो खसिरहेपछि सडक सुचारु हुन नसकेको हो । पहाड धेरै खसेपछि अहिले पनि लगातार राजमार्ग छेउको भीरको संरचना कमजोर भएपछि करिब १५ मिनेटको अन्तरमा ढुङ्गा खसी नै रहेको विभागले जनाएको छ ।

यता पुलचोक क्याम्पसका उपप्राध्यापक एवम् भूगर्भविद् डा.वसन्तराज अधिकारीकाअनुसार नारायणगढ–मुग्लिङ सडकखण्डमा बारम्बार पहिरो जानुको कारण भूगोलको राम्रोसँग अध्ययन नहुनु, गरिएको अध्ययन पनि नहेर्नु र डिजाइन सही भएपनि त्यसको कार्यान्वयनमा समस्या भएको हुनसक्ने बताउँछन् । भन्छन्, ‘पहाड चिरेर सडक बनाइएको हो । सडक फराकिलो बनाउँदा त्यसको भिरालो संरचना, भूगर्भको अध्ययन, चट्टानको प्रकार र कति डिग्रीमा चट्टान काट्नेलगायतका महत्त्वपूर्ण विषयमा अनुसन्धान गर्नुपर्छ ।’

उनकाअनुसार इन्जिनियरिङमा डिजाइन राम्रो भए पनि कार्यान्वयनको पाटो महत्त्वपूर्ण छ । भन्छन्,‘सडक निर्माणको लागि सरकारका धेरै नीति निर्देशन छन् । सामान्य नीति निर्देशन मात्र अपनाउँदा यो समस्या आएको हो जस्तो लाग्छ । स्लोप, भूगोल, पानीको प्रवाहको व्यवस्थापन नहुनु र कटिङले यो समस्या निम्त्याएको हो ।’

नेपालमा पानी धेरै पर्ने गर्छ । त्यसले जमिन कमजोर बनाउछ । अर्को, हाम्रा हिमालयहरु चलायमान छन् । ध्यान दिएर कटिङ नगर्दा त्यसले पार्ने प्रभाव भयंकर हुने विश्लेषकहरु बताउँछन् । यस्तै, सो राजमार्गलाई भौगोलिक दृष्टिकोणले मात्रै नभई सामरिक महत्त्वको रुपमा पनि हेर्नुपर्ने भूगर्भविद्, डा.अधिकारी बताउँछन् । भन्छन्,‘मुलुकको रणनीतिक हिसाबले पनि महत्त्वपूर्ण राजमार्ग यसरी बारम्बार अवरुद्ध हुँदा त्यसले अर्थतन्त्रमा पार्ने प्रभावलाई पनि हामीले मूल्यांकन गर्नुपर्छ ।’

उक्त राजमार्गमा यातायात सञ्चालन, सञ्जाल, आयात र निर्माण गरी मुलुक ९० प्रतिशत निर्भर छ । सन् २०१५ मा सडक स्तरोन्नतिअनुसार उक्त सडकखण्डमा १८ वटा पुल बन्दै छ । त्यो पुल बनाउन गरिएको विस्फोटको असरले पनि पहिरो आएको डिभिजन प्रमुख सि.डि.ई पौडेल बताउँछन् ।

हालसम्म चारवटा पुल निर्माण पुरा गरी सञ्चालनमा आएको छ । एउटा पुल बाहेक बाँकी १३ वटा पुल मंसिरसम्म सञ्चालनमा आउने विभागले जनाएको छ । तुइन खोलाको पुल निर्माणको लागि त्यहाँको भीरमा विस्फोट गरेर कटान गर्न बाँकी छ । सो पुलको निर्माणको लागि करिब पाँच महिनादेखि कार्य सञ्चालन भएपनि अझै लामो समय लाग्ने विभागको भनाइ छ ।

यता बर्सेनि पहिरो पन्छयाउन ९० देखि ९२ लाख विभागले खर्च गर्ने गरेको छ । सन् २०१५ मा आयोजना सुरु भएदेखि अहिलेसम्म पहिरो पन्छ्याउन मात्रै करिब एक अर्ब खर्च भइसकेको डिभिजन प्रमुख सि.डि.ई पौडेल बताउँछन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १९:२९
Weather Update