
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने बताएका छन् । आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले बेइमानीका लागि पार्टीको ढोका सधैं बन्द रहेको बताए ।
उनले पार्टी प्रवेश गर्नेहरू धेरै भए पनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताए । उनले केही स्वार्थीहरू पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरुलाई पार्टीमा स्थान नरहेको बताए । स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरुलाई पार्टीले नियालिरहेको पनि सभापति लामिछानेले बताए ।
उनले भने,‘म छलफलमा बसेको बेला मलाई सबैले भन्थे कहाँ सकिन्छ र ? ठूला पार्टीको ठूलो सञ्जाल छ । कार्यकर्ता नै लाखौँ छन्, त्यत्रा भोटर छन्, भ्रातृ संगठन नै संगठन छन्, गर्भैदेखि फलानो पार्टी भन्ने छन्, तपाईं आफूले चाहीँ जित्नुहोला कुन्नि तर काठमाडौंमा उठ्नुभएको थियो, तर पनि प्रयास त गर्नुहोला भन्थे । तर मैले देश दौडाहामा जाँदा नागरिकको नाडी छाम्ने अवसर पाएको थिएँ । यो पार्टी एक वर्षमा नेपालको सबैभन्दा महत्वपूर्ण चासोको पार्टी बनेको छ ।’
उनले हिजोको माओवादी, कांग्रेस एमाले जस्तै हुनेभयो भन्ने चिन्ता लिन नपर्ने बताउँदै रास्वपामा सहभागी हुन सबैलाई ढोका खुला रहेको बताए ।