News Griha :: न्यूजगृह
संसद्ले कानुन निर्माणमा सक्रियता देखाउन नसकेको कांग्रेस सांसद पौडेलको भनाई 

काठमाडौं—  नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसद् सामान्य ढंगले चल्ने चलाउने परिपाटिलाई बदलेर सक्रिय बनाउने पर्ने बताएका छन् । 

आइतबार राष्ट्रिय सभामा उत्पत्ति भइ प्रतिनिधि सभामा आएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० माथिको छलफलमा सहभागि उनले संसद्ले विधेयक ल्याउने र कानुन बनाउने सन्दर्भमा चाहिने जति सक्रियता देखाउन नसकेको आरोप लगाए ।

ऐन कानुन निमार्णमा सरकार र संसद् दुवैले गम्भीर भएर लाग्नु पर्ने उनको भनाई छ । पौडेलले भने,  ‘एउटा अधिवेशनमा कतिवटा विधेयक सरकारले अनिवार्य रुपमा पेश गर्नुपर्ने हो, त्यो एउटा अनिवार्य संख्या तोकौं । एउटै विधेयक पेश नगरीकन संसद्को अधिवेशन सकिने कुरा स्वभाविक हुन सक्दैन । समस्या एकदमै धेरै छ, तर हामी समस्या नै नभए जसरी एकदम सामान्य ढंगले चल्ने कुरा स्वभाविक भएन । संसद्ले आम नागरिकको बारेमा विधेयक, कानुन बनाउने बारेमा जुन ढंगले सक्रियता देखाउनुपर्ने हो, त्यो देखाउन सकेको छैन् ।’

 त्यस्तै, उनले उक्त विधेयक ल्याउन अत्यन्त जरुरी रहेको भए पनि सांसदले उक्त विधेयकमाथि पढेर छलफल गर्न नपाउने स्थिति आउनु असामान्य भएको गुनासो गरे । ‘छलफल गर्ने तर छलफलमा आएका विषयहरू संशोधनमा राख्न नपाइने १ संसारमा कुनै पनि कुरा पूर्ण हुँदैन । यस्तो परम्परा हामीले तोडौँ । नियमावलीमा रहेको व्यवस्थालाई बदलौँ,’ पौडेलले भने । 

वित्तिय साक्षरता र कानुन अभावका कारण मिटरब्याजी पीडितले धेरै समस्या भोग्नुपरेको उल्लेख गदै उनले जनतालाई राज्य भएको अनुभूति दिलाउन नसकेको भन्दै संसद्ले ख्याल गर्न नसक्नु गम्भीर विषय भएको बताए । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १५:२६
Weather Update