News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

असार ११ गते सोमबार राजनीति र पशुपतिनाथ मन्दिरको जलहरीको विषयका समाचार मुख्य बने । प्रतिनिधि सभा बैठकमा सांसदहरूले मन्त्रालयगत बजेटका विषयमा उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिए । त्यसैगरी सोमबार बजेट संशोधन नभइकन पास हुने अर्थमन्त्रीका कुरा र वर्तमान सरकारको भविष्यबारे पनि चर्चा भयो । प्रधानमन्त्रीले धादिङमा सरकार पाँच वर्ष नै टिक्ने बताए । नेकपा एमालेका नेताहरूले भने सरकार जुनसुकै बेला भत्किन सक्ने संकेत गरे । काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा.श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएको विषय पनि सोमबार मुख्य बन्यो । 

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज सोमबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

०००

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरूको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका छन् । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले जलहरीमा जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले महादेवलाई नामबाट खुवाउने चलन किन परेछ ? भन्नेकुराको सत्यतथ्य आउनुपर्ने बताए ।

०००

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने बताएका छन्  । सोमबार संसद् भवनबाहिर सञ्चारकमीसँग कुरा गर्दै उनले बजेट असार १३ गते कुनै पनि संशोधनबिना पास हुने बताए ।

०००

काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा.श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफैंले कानुनी र नैतिकरूपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने बताए । सोही कारण राजीनामा दिएको उनको भनाइ छ ।

०००

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा खड्काले हुम्ला सदरमुकाम जोड्ने सडक नेपाली सेनाले आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धतासमेत व्यक्त गरे । सो सडकको केही भाग निर्माणको काम मात्रै नेपाली सेनाले पाएको र सो काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

०००

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसदमा पेश गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सरकारमा सत्तारुढ दलहरू फेरबदल भएका कारण सो ऐनको मस्यौदा संसदमा पेस गर्ने काममा ढिलाइ हुन गएको बताए ।

०००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको बताएका छन् । उनले बजेट असन्तुलित भएकोमा माफी समेत मागे । उनले बजेटको सिलिङ कम भएका कारण सांसदहरूले दिएका धेरै योजनाहरू समेट्न नसकेको बताए । उनले सांसदहरूलाई खुसी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताए ।

०००

साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । आइतबार ६२.२१ अंकले बढेको नेप्से परिसूचक सोमबार ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले बढेको छ । सोमबार कारोबारमा आएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने गिरावट आएको छ । आइतबारको तुलनमा करिव १ अर्ब बढीले गिरावट आएको हो । आइतवार ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

०००

भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले दुई दिनदेखि भन्सार विभागमा धर्ना गरेको छ । आइतबारदेखि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था नै खारेज गरेको भन्दै धर्नामा बसेका हुन् । देशभर कार्यरत ३०० भन्दा बढी  भन्सार प्रतिनिधिहरू जेठ १५ गतेबाट बेरोजगार भएको भन्दै भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था कायम गर्न माग गरेका हुन् ।

०००

कार्यवाहक महालेखापरीक्षक राममाया कुँवरले महालेखापरीक्षकको कार्यालय मुलुकमा सुशासन कायम गर्न असहयोग गर्ने निकाय नभएको बताएकी छिन् । सोमबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै कार्यवाहक महालेखापरीक्षक कुँवरले पछिल्लो समय महालेखापरीक्षकको कार्यालयले विकास निर्माणलगायतका क्षेत्रमा असहयोग गरेको आरोप लाग्न थालेको भन्दै महालेखापरीक्षकको कार्यालय सहयोग गर्ने निकाय भएको स्पष्ट पारिन् । उनले महालेखापरीक्षकको कार्यालयले बेरुजु लगायतका कुराहरु सार्वजनिक गर्दा विकास निर्माणका काममा ढिलासुस्ती भएको आरोप लाग्ने गरेको बताइन् ।

०००

नेपाल लघुवित्त बैंकर्स संघले आफ्नो सुरक्षा अवस्थामा सुधार नभए लघुवित्त वित्तीय संस्थाहरुले सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ । सोमबार लघुवित्त बैंकर्स संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लघुवित्त वित्तीय संस्थाहरू माथिको अराजक गतिविधिहरू निरन्तर भए, राज्य संयन्त्रबाट असहयोग भए र सुरक्षा व्यवस्थामा सुधार नभए लघुवित्तहरूले देशभरको सम्पूर्ण वित्तीय सेवा बन्द गर्ने जानकारी गराएको हो ।

०००

खानेपानीमन्त्री महिन्द्र राय यादवले याङ्ग्री र लार्के खोलाबाट मेलम्ची खानेपानीको मुख्य सुरुङमा पानी जोडेपछि काठमाडौंमा बाह्रै महिना खानेपानी उपलब्ध हुने बताएका छन्  । यादवले याङ्ग्री र लार्के छिटोभन्दा छिटो सुरु गर्ने मन्त्रालयको योजना रहेको बताएका हुन् । उनले काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि ललितपुरको तोस्ने खोला र मकवानपुरको सिस्ने खोलामा अध्यययन भइरहेको बताए ।

०००

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारहरूका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रयस्थलको व्यवस्था गरिएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले वैदेशिक रोजगारका लागि सबै प्रकारका श्रम स्विकृति दिने व्यवस्था प्रदेश स्तरमा रहेका श्रम तथा रोजगार कार्यालयहरूबाट मिलाइएको जानकारी समेत दिए ।

 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २०:४५
Weather Update