काठमाडौं— नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा अख्तियारले अनुसन्धानमा गरेको ढिलाईको निष्पक्ष छानबिनका लागि समिति गठन गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा उनले उजुरी परेको २ वर्ष पछि बल्ल अख्तियारले छानबिन गरेको भन्दै महालेखाको प्रतिवेदनमा प्रष्ट लेखिएको कुरा अख्तियारले ढिला किन गर्यो भन्ने कुराको छानबिनका लागि सो माग गरेका हुन् ।
उनले भने, ‘उजुरी परेको २ वर्ष पछि बल्ल अख्तियारले छानबिन गरेको महालेखाको प्रतिवेदनमा प्रष्ट लेखिएको कुरा अख्तियारले यति ढिला किन गर्यो ? म अनुरोध गर्न चाहन्छु । यो गम्भिर विषय छानबिन गर्न सदनले एउटा समिति बनाएर यसको पूरा र निष्पक्ष छानबिन हुने स्थिति निर्माण होस्।’
सांसद पौडेलले जलहरीको कुरा सांसदले उठाउँदा त्यसलाई रेकर्डबाट हटाएर संसद्ले यस विषयलाई ढाकछोप गर्न खोजेको आरोप लगाए ।
उनले भने, ‘पशुपतिनाथको मन्दिरमा रहेको जलहरीको कुरा सांसदले उठाउँदा त्यसलाई रेकर्डबाट हटाइयो । मेरो बिचारमा संसद्ले त्यस विषयलाई ढाकछोप गर्न खोजेको सन्देश गएको ।’
उनले धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा संसारसामु शिर निहुराउने अवस्था आएको भन्दै तत्कालीन सरकारले गरेको जस्तो अब निर्णय गर्न पाइने कि नपाइने भनेर प्रश्न गरे ?