News Griha :: न्यूजगृह
पशुपतिनाथमा जलहरी राख्ने केपी ओली सरकारको निर्णय नै गलत : माओवादी सांसद दाहाल

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताएका छन् । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै दाहालले ओलीको निर्णय गलत भएको बताए ।

जनता कोरोनाको मारमा परेको बेलामा औषधि उपचार गर्नसमेत अफ्ठ्यारो रहेको अवस्थामा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय वस्तुगत र वास्तविकता भन्दामाथि रहेको उनकाे भनाइ छ ।

उनले दुई सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैंमा वस्तुगत निर्णय नभएको दाबी गरे ।

उनले भने,‘मैले संसद्मा पशुपतिको जलहरीसँग सम्बन्धित विषयवस्तु उठान गरेको थिएँ । जतिबेला जलहरी लगाउने निर्णय सरकारले गरेको थियो, त्यतिबेला प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्थ्याे । त्यो निर्णय आफैँमा वस्तुगत थिएन । किनभने कोरोनाको महामारी चलिरहेको बेलामा जनता खान नपाएर छटपटाइरहेका थिए । दुई सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय थिएन । मनोगत थियो । अनुसन्धान प्रक्रियामा निष्पक्षता कायम हुनुपर्छ ।’

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १८:३४
Weather Update