
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका महासचिव शान्तिनाथ योगीले अपेक्षित माग निष्कर्षमा पुर्याउन अझै केही दिन लाग्नसक्ने बताएका छन् ।
विद्यालय कर्मचारीको आन्दोलन, सरकारसँग वार्ता, प्रधानमन्त्री र शीर्ष नेताहरूसँगको भेटवार्ताबारे आमविद्यालय कर्मचारीलाई जानकारी गराउँदै योगीले माग पूरा हुन केही दिन लाग्ने बताएका हुन् ।
योगीले माग पूरा नभएको खण्डमा आन्दोलन पृथक् ढंगले हाँक्नुपर्ने स्थिति पनि आउनसक्ने तर्फ संकेत गर्दै सबै चनाखो र तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।
‘नेपाल विद्यालय कर्मचारी परिषद्ले मिति २०८०/०१/२९ गतेदेखि निरन्तर काठमाडौं केन्द्रिकृत आन्दोलनका कार्यक्रम चरणबद्ध रुपमा सफलता पूर्वक सम्पन्न गरी हालसम्म पनि निरन्तर खबरदारीका कार्यक्रमहरु यथावत् नै छ,’उनले भने,‘मिति २०८०/०३/०१ को नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मनत्रालय सिंहदरबार काठमाडौंको च.नं.९२२ को परिपत्रमाफर्त वार्ता, संवाद तथा छलफल एवम् भेटघाट तीव्रताका साथ अघि बढीरहेको सर्वविदितै छ । तथापि अपेक्षित माग मुद्दालाई निष्कर्षमा पुर्याउन अझै केही दिन लाग्ने हुँदा सम्पूर्ण जिल्ला कार्यसमितिहरूमा निर्देशन बमोजिमका कामकाज गर्न गराउन हुन अनुरोध छ । यदाकदा अन्तिम र निर्णायक आन्दोलन पुनः पृथक् ढङ्गबाट हाँक्न समेत अवस्था नआउला भन्न सकिँदैन । यसका लागि सम्पूर्ण विद्यालय कर्मचारीहरूमा उच्च तयारीका साथ रहनका लागि समेत हार्दिक अनुरोध छ ।’