News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
पशुपतिमा चढाइएको जलहरी विवाद के हो ?

काठमाडौं— पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा करिब ११ किलो सुन हराएको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानले तीव्रता पाएको छ ।

हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर मानिने पशुपतिनाथकै मन्दिरमा घोटाला भएको भन्दै त्यसले ठूलो संशय मच्चाएको छ । महालेखापरीक्षकको कार्यालयद्वारा २०७९ असार २९ मा सार्वजनिक भएको ५९औँ वार्षिक प्रतिवेदनमा जलहरीबारे प्रश्न उठाएपछि सो विषय सडकदेखि सदनसम्म निरन्तर चर्चामा छ । 

त्यसो त जलहरीमा अनियमितताको कुरा २०७८ असारमा नै उठेको थियो । जलहरीमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि त्यस विषयमा अनुसन्धान सुरु भएको थियो । तत्कालीन कोषका सदस्य सचिव डा. प्रदीप ढकाल र हालका सदस्य सचिव र तत्कालीन कोषाध्यक्ष डा. मिलन थापा र निर्देशक घनश्याम भुसालसहित २२ जनालाई अख्तियारले बयानको लागि बोलाएको थियो भने कोषको फाइल पनि जफत गरिएको थियो । तर, अनियमिततामा राजनीतिक दलका नेताहरू पनि मुछिन थालेपछि अनुसन्धान ‘होल्ड’ भएको थियो । 

Prabhu Bank

महालेखाको प्रतिवेदनले जलहरीको रिङ्गमा उठाएको प्रश्न

महालेखापरीक्षकको प्रतिवेदनमा १० किलो ९७६ ग्रामको रिङ्ग बनाइ जलहरीमा लगाएको भनिए पनि सो पुष्टि हुने विवरण नभएको भन्दै प्रश्न उठेको हो । रिङ्ग बनाउन प्रयोग भएको सुनको मूल्य सात करोड ८६ लाख ४६ हजारको खर्च पुष्टि नभएको महालेखाको प्रतिवेदनले जनाउँछ । प्रतिवेदनमा जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको उल्लेख छ ।

प्रतिवेदनअनुसार पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि २०७७÷०७८ मा नेपाल राष्ट्र बैंंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरिएको थियो । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा दुई किलो ८९० ग्राम, चाँदी एक किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम हुने थियो । जबकी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले पशुपतिमा राखिएको १०८ किलो सुनको जलहरी अनावरण गरेकी थिइन् । जसको मूल्य एक अर्ब आठ करोड रहेको बताइएको थियो । 

यस्तै, प्रतिवेदनअनुसार सुनको खरिद कार्य ८० करोड ११ हजारमा भएको देखिन्छ । सो जलहरी निर्माण कार्यको लागि दाताबाट व्यहोरेको रकमको हिसाब लेखाङ्कन गरेको छैन । पाटन औद्योगिक क्षेत्रको एक रोलिङ्ग मिल्समार्फत् उक्त निर्माण कार्य गराएकोमा मिल्ससँग भएको सम्झौता र संलग्न १३ जना कालीगडलाई भुक्तानी भएको विवरण पेस नगरेको भन्दै महालेखाले प्रश्न उठाएको थियो ।

जलहरीको कुरा कसको पालाबाट सुरु ?

हरेक बिहान पशुपतिमा शिवलिङ्गको स्नान हुन्छ । शिवलिङ्गलाई स्नान गराइसकेपछि त्यस मुनितिरबाट पानी बग्नेलाई जलहरी भनिन्छ । 

डा. गोविन्द टण्डनका अनुसार पशुपतिमा चाँदीको जलहरी तत्कालीन शाह वंशीय राजा रणबहादुर शाहको पालोमा राखिएको थिए । तर, उनी पशुपति विकास कोषको सदस्य सचिव हुँदा २०७० सालमा पशुपतिमा सुनको जलहरी राख्ने विषय पहिलोपटक उठेको थियो । ‘त्यसबेलाको मूल पुजारी महाबलेश्वरम् भट्टले ठाउँ ठाउँमा जलहरी च्यातिएर पूजा गर्दा हात काट्ने भयो, अब जलहरी फेर्नुपर्‍यो भनेर मलाई भन्नुभयो,’ उनले भने, ‘उहाँले अब चाँदीको ठाउँमा सुन राख्दा ठिक होला भनेर प्रस्ताव गर्नुभयो । मैले त्यही कुरा तत्कालीन सरकार प्रमुखसँग राखे ।’

‘त्यसबेला नै सुन नै राख्ने भनेपछि ३० करोड लाग्ने अनुमान गरिएको थियो । तर, त्यो सम्भव भएन,’ संस्कृतिविद् टण्डनले थपे । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा टण्डन कोषमा सदस्य सचिव नै थिए । उनले प्रधानमन्त्री ओलीलाई पशुपतिमा दर्शनको लागि बोलाएर जलहरी फेर्नुपर्ने अवगत गराएका थिए । तर, ओलीले पहिलो कार्यकालमा वास्ता नै गरेनन् ।

ओलीको कार्यकालमा जलहरी राखियो

आफ्नो दोस्रो कार्यकालमा कोभिड १९ ले आर्थिक चपेटामा विश्व नै आर्थिक मन्दीको चपेटामा परेको बेला २०७७ माघ १२ मा पशुपतिमा विशेष पूजाआरधना गरेर पशुपतिमा जलहरी राख्ने र त्यसको लागि नेपाल सरकारले ३० करोड बजेट विनियोजन गर्ने प्रतिबद्धता ओलीले गरेका थिए । त्यसपछि तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकाल र कोषको सक्रियतामा पशुपतिमा जलहरी राख्ने प्रक्रिया अघि बढ्यो । सोही वर्षको फागुन १२ मा राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा क्षमा पूजा गराइ जलहरी राखियो । यता जलहरी राख्दै गर्दा उता सर्वोच्च अदालतमा नेपाली कांग्रेसका पूर्वप्रदेश सभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गुठी संस्थान र पुरातत्त्व विभागविरुद्ध फरक–फरक दुईवटा रिट दायर गरे । युनेस्को र प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत जलहरी राख्ने निर्णय गरिएको भन्दै उनीहरूले रिट दायर गरेका थिए ।

‘मैले अनियमितता भन्दा पनि प्राचीन स्मारक संरक्षण ऐनविपरीत सुनको जलहरी राखियो भनेर उजुरी दिएको हुँ । पशुपति विश्व सम्पदा सूचीमा पर्छ,’ नेता वैद्यले भने, ‘यस्तो सूचीमा पर्ने सम्पदामा जे, जुन अवस्थामा छ, त्यही अवस्थामा पुर्नर्निमाण गरिनुपर्छ । इच्छा लाग्यो भन्दैमा चाँदीको स्थानमा सुन, सुनको स्थानमा हिरा राख्ने भन्ने हुन्न ।’ 

नेपाल धर्मनिरपेक्ष राज्य भएको र सरकारको कुनै धर्म नहुने हुँदा उत्पादन नहुने यस्ता क्रियाकलापमा राज्यको एक रुपैयाँ पनि खर्च गर्न नहुने उनको भनाइ छ । भन्छन्, ‘एक त राज्य धर्मनिरपेक्ष छ । त्यसमाथि कम्प्युनिस्ट सरकारले ३० करोड दिनु कानुनविपरीत हो ।’ 

यति मात्र होइन, जलहरीमा पूर्वराष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्री ओली र तत्कालीन मन्त्रीसहित ११ जनाको नाम कुँदिएको भेटिएको छ । यसले पनि जनआक्रोश बढाएको छ । सरकारको पैसाले बनाएको जलहरीमा व्यक्तिगत पैसाले बनाए जसरी व्यक्तिको नाम राखेको भन्दै प्रश्न उठेको छ । नेता वैद्य भन्छन्, ‘पशुपतिमा जलहरी राख्दा पुरातत्त्व विभागले आफूलाई सरकारले जानकारी नदिएको बताएको छ, तर, तत्कालीन विभागीय प्रमुख दामोदर गौतमको नाम जलहरीको पछाडि कुँदिएको भेट्टिनु शंकास्पद छ ।’

संसद्मा चर्चा 

महालेखाको वार्षिक प्रतिवेदनपछि पशुपति जलहरीको विषयमा सडक र सदनमा चर्का प्रश्नहरू उठ्ने गरेका छन् । यसै वर्षको जेठ १० गते सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री छँदा केपी शर्मा ओलीले पशुपतिको मन्दिरमा सुनको जलहरी भन्दै पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । उनको सो अभिव्यक्तिले प्रमुख प्रतिपक्षी दल एमाले रुष्ट भएपछि संसद् नै अवरोध भएको थियो । पछि संसद्ले दाहालको अभिव्यक्ति रेकर्डबाट हटायो । 

जेठ ३० गते राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य सचिव डा. थापाले जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको रुँदै बताएका थिए ।

असार ११ गते सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा सत्तापक्षका सांसदहरूले नै जलहरीको विषयमा अनुसन्धान प्रभावित भएको भन्दै प्रश्न उठाएका थिए । कांग्रेसका सांसद प्रदीप पौडेलले जलहरीको विषयमा अख्तियारले अनुसन्धानमा गरेको ढिलाइको निष्पक्ष छानबिनका लागि समिति गठन गर्न माग गरेका थिए ।

यस्तै, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथको गर्भगृहको जलहरी प्रकरणको सत्यतथ्य तथा सुन जोखेकोमा कति हरायो र कति बाँकी छ भन्ने कुराको जानकारी सदनमा गराउन माग गरेका थिए ।

अनुसन्धान कता पुग्यो ?

अख्तियारले असार १० गते आइतबार पशुपतिको जलहरी झिकेर नापतौलको प्रक्रिया अगाडि बढाएको छ । जलहरी नापजाँच गर्ने काम अझै जारी रहेको अख्तिायारका प्रवक्ता भोला दाहालले न्यूजगृहलाई बताए । उनले भने, ‘अनुसन्धान जारी छ । टुङ्गिएको छैन । समिति गठन भएर विस्तृत अनुसन्धान भइरहेको छ । आइतबारको नापजाँच अनुसन्धानको नियमित पाटो हो ।’

असार ११ गते सोमबार अख्तियारले कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सदस्य सचिव रहँदा गैरकानुनी सम्पत्ति आर्जन गर्दै उनले १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १८:१९
Weather Update