
काठमाडौं— असार ७ गते बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना दिवस, काठमाडौं महानगरका मेयर बालेन साहको सरकार र अदालतप्रतिको अभिव्यक्ति, राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालतले दिएको आदेश र आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालको प्रदर्शन मुख्य चर्चामा रह्यो । यसबाहेक विभिन्न नेताहरूको भनाइ तथा अन्य विषयमा पनि समाचर बनेका छन् । दिनभरका केही समाचार यस्ता छन् :
हरेक पहाडका टाकुरालाई पर्यटनस्थल बनाऔँ : वामदेव गौतम
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटनस्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताएका छन् ।
बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालमा रहेका १० हजार भन्दा बढी पहाडी टाकुरालाई पर्यटनस्थलको रुपमा विकास गर्नुपर्ने बताएका हुन् । उनले नेपाललाई भूगर्भ र सतहअनुसार विकास गर्न नसक्दा दिगो विकास हुन नसकेको बताए ।
विपद् व्यवस्थापनमा गृहमन्त्रीको सक्रियता
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि सरकारले देशभरका ११ स्थानमा मानवीय सहायता स्थल र आपत्कालीन भण्डारणको स्थापना गरेको बताएका छन् ।
बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा विपद् व्यवस्थापनका लागि सरकारले २३ वटा इन्फेटेबल डुंगा र ५ वटा इन्जिनसहितको डुंगा तयारी अवस्थामा राखेको पनि बताए ।
उनले आवश्यक पर्ने विभिन्न प्रकारका खोज तथा उद्धार सामग्री, एम्बुलेन्स बस, सामान्य एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्रसहितका सामग्री खरिद गरी जिल्ला सुरक्षा परिषद्मा पठाइसकेको पनि बताए ।
राष्ट्रिय आपतलीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन
दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपतकालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपतलीन कार्य सञ्चालन गर्नका सरकारलाई निर्देशन दिएको हो । बैठकपछि निर्देशन दिँदै समिति सभापति प्रकाश पन्थले बैठकले विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःनिर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिएको बताए ।
बजेट नसच्याइकन पारित हुन सक्दैन : उपेन्द्र यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय काार्यलय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विगतका कमी कमजोरीलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको बताए ।
नागरिक राहत कार्यक्रम घोषणा गर्न अधिकारकर्मीको माग
उपभोक्ता अधिकारकर्मीले आगामी आर्थिक वर्षको बजेटले उपभोक्ताको भान्सा महंगिएको भन्दै बजेट पास हुनुअघि नै नागरिक राहत सहितको कार्यक्रम घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपभोक्ता अधिकारकर्मीले सरकारको बजेट नीति तथा कार्यक्रमपछि आलु,प्याज लगायत तकारी, फलफूल तथा खाद्यजन्य पदार्थ उपभोक्ताले खरिद गरी निर्वाध रुपमा उपभोग गर्न पाउनुपर्ने अधिकार कुण्ठित भएको बताएका छन् ।
संविधान प्रदत्त उपभोक्तको हक तथा खाद्य सम्बन्धी हकलाई बेवास्ता गरी दैनिक अत्यावश्यकीय वस्तुहरुमा हचुवाको भरमा भ्याटमा समावेश गर्दा यसबाट आपूर्ति व्यवस्था अस्तव्यस्त भएको बताए ।
चुम्बन सामान्य हो : रेस्मा घिमिरे
अभिनेत्री दिया पुनले आफूलाई हरेक चलचित्रमा फरक अभिनय गर्न रुचि रहेको बताएकी छिन् ।
बिहीबार काठमाडौंमा नेपाली चलचित्र अन्तिम संस्कार सार्वजनिक हुनु पूर्वसन्ध्यामा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उनले आफूलाई धेरै चलचित्रमा काम गर्नुभन्दा गुणस्तरीय चलचित्रमा काम गर्न मन पर्ने बताइन् ।
अभिनेत्री पुनले चलचित्रमा चुम्बन नेचुरल प्रसेस भएको बताइन् । उनले माया गर्ने व्यक्तिले अर्को माया गर्ने व्यक्तिलाई चुम्बन गर्ने भएकाले सामान्य रुपमा लिनुपर्ने बतइन् । उनले आँखा चिम्लिने गरी कुनै पनि दृश्य फिल्ममा दिन नसक्ने बताइन् ।
गैरसरकारी संस्थालाई विद्युत् प्रसारणलाइन बनाउन दिनुहुँदैन : कुलमान घिसिङ
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अफ्ठ्यरो व्यहोर्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै प्रबन्ध निर्देशक घिसिङले काठमाडौंमा विद्युत्को तार भूमिगत गर्ने काम भइरहेको बताए ।
खानेपानीको पनि भूमिगत गर्ने काम भइरहेको भन्दै उनले प्राधिकरणले तार भूमिगत गरिसकेपछि खानेपानीको काम नसकिएसम्म सडक पिच गर्न नसकिने बताए । प्रबन्ध निर्देशक घिसिङले एनजीओ आइएनजीओलाई विद्युत् प्रसारणलाइन बनाउन दिनु नहुने बताए ।
समाज परिवतर्नको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थाल्यो : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थालेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा जायर हुन थालेको बताएका हुन् ।
उनले त्यसको स्पष्ट संकेत देखिइसकेको बताए । उनले आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रुपमा बितेको बताए । उनले रास्वपालाई जनताले आशा र भरोसाको रुपमा लिएको बताए ।
कृषिलाई प्राथमिकतामा राखेर १६औं योजना बनाउन विज्ञको सुझाव
कृषिलाई प्राथमिकतामा राखेर १६औं योजना बनाउन राष्ट्रिय योजना आयोगलाई विज्ञले सुझाव दिएका छन् । बुधबार राष्ट्रिय योजना आयोगले सोह्रौं योजना तर्जुमाको तयारीका लागि विज्ञसँग गरेको छलफलमा आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य तथा विज्ञहरूले सुझाव दिएका हुन् ।
आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयन गर्ने गरी १६औं योजना तर्जुमाको तयारी गरेको छ । छलफलमा अधिकांश विज्ञले १६औं योजना बनाउँदा सम्भवना भएका क्षेत्रलाई प्राथमिकतामा राखेर महत्वकांक्षी योजना भन्दा पनि कार्यान्वयन पक्षलाई ध्यानमा राखेर योजना बनाउन सुझाव दिए ।
उनीहरुले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीहरूको सामना गरी राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सक्ने गरी १६औं योजना बनाउनुपर्ने आवश्यकता रहेको बताए ।