News Griha :: न्यूजगृह
सरकारमै रहेको माधव नेपाल नेतृत्वको पार्टीले बजेट पारित गर्न नदिने 

काठमाडौं— नेकपा एकीकृत समाजवादीका सांसदहरू यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन् । माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीका सांसदहरू सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट यथास्थितिमा पारित गर्न नहुने पक्षमा उभिएका हुन् ।

बिहीबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै सांसदहरूले बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्नु नहुने धारणा राखे ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले यस विषयमा अध्यक्ष माधव नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने बताए । उनले आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको बताए ।

बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उनले स्पष्ट पारे ।

‘यथास्थितिमा बजेट पारित गर्नुहुन्न भन्ने सबै साथीहरूले बताउनुभएको छ । यही विषयलाई लिएर हामीले अध्यक्ष तथा हाम्रो दलको नेतालाई भनेका छौँ, तपाईंले प्रधानमन्त्री,अर्थमन्त्रीहरूलाई समय राख्नुस्,’उनले भने,‘साथीहरुबाट सुझाव आएको छ, गठबन्धनमा रहेका सबै दलहरुका बीचमा छलफल गरेर, साझा ढंगले बसेर छलफल गर्नुस् भन्नेखालको कुरा भएको छ । दुई दिन अगाडि मैले प्रधानमन्त्रीलाई भेटेर पनि भनेको छु, यथास्थितिमा यो बजेट पारित हुँदैन । यसमा परिवर्तन गरेर, असन्तुलन भएको कुरालाई सन्तुलित बनाएर मात्रै यो बजेट पारित गर्न सकिन्छ भन्ने खालको कुरा आएको छ ।’

उनले बजेटकै कारण सत्तासमीकरण भने नटुट्ने बताए । तर बजेटमा भएको गलत कुरालाई सच्याउनुपर्ने उनको भनाइ छ । आगामी दिनमा निर्वाचित सांसदको सल्लाह, छलफल, र जनतासँगको सल्लाहमा ल्याएको प्रतिवेदन बेगर बजेट बजेट बनाउनु नहुने उनले बताए ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १८:३३
Weather Update