News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य खबर

साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतबाटै किनारा लगाइने

काठमाडौं—  सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै कारबाही र किनारा लगाउने अधिकार दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै कारबाही र किनारा लगाउने अधिकार दिएको बताइन् ।

लेनदेन कारोबार सहज गर्न माग गर्दै प्रदर्शन

तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीले काठमाडौंमा धर्ना दिएका छन् । बुधबार मधेस प्रदेश, रौतहटलगायत तराईका विभिन्न जिल्लाबाट आएका उनीहरुले काठमाडौंको माइतीघरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुंग पार्न खोजिएको आरोप लगाउँदै आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश तत्काल खारेज गर्न सरकारसँग मग गरेका छन् । 

योगले नेपाललाई समृद्ध र सुखी बनाउँछ : ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताएका छन् ।बुधबार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सन्दर्भमा योगले समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरिरहेको बताए । उनले भने,‘मान्छे सम्मानित जीवन अभावरहीत, भोकमरीरहीत सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरु सबै प्रयोग गर्न पनि चाहन्छ र सुरक्षित हुन चाहन्छ । सम्मानित जीवन बाच्न चाहन्छ । समान भएर अरु बराबरको छु है भन्ने हिसावले बाच्न चाहन्छ । त्यसकारण हामीले समृद्ध नेपाल, सुखी नेपाली भनेका हौँ । योगले भनेको त्यही हो ।’

योग र ध्यानको विषय प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमजलाई सम्बोधन गर्दै उनले  योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो निर्णय लिएको बताए । उनले यो निर्णयले आध्यात्मिक चिन्तनको महत्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतिलिपी अधिकार वर्तमान प्रविधि सुहाउँदो बन्नेछ : सचिव अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अब बन्ने प्रतिलिपी अधिकार वर्तमान प्रविधि सुहाउँदो हुने बताएको छ । बुधबार काठमाडौंमा संगीत दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले यस्तो बताएका हुन् । उनले विश्व परिवेशलाई मध्यनजर गरेर नै अहिलेको प्रतिलिपी अधिकार बनाइने जनाए ।

पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्छ : राजदूत श्रीवास्तव

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा हवाई रुटका माध्यमबाट जोड्दै जान सकिने बताए ।

पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतको हो : चिनियाँ राजदूत सोङ

नेपालको लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरुले डिजाइन गरेको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । चीनबाट उडेको एअरलाइन्सले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो ।

नेपाली स्वस्थ भएमात्रै नेपाल स्वस्थ हुन्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले योग शिक्षालाई देशले राष्ट्रिय अभियानका रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग शिक्षालाई देशले राष्ट्रिय नीतिका रुपमा आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

धेरै नेपाली बसोवास गर्ने देशमा अवैतनिक राजदूतबाट छिटो राहदानी दिऔँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै नेपालीहरु भएको देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने पहल थाल्न सरकारसँग आग्रह गरेका छन् । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले  धेरै नेपालीहरु बसोवास गर्ने देशका शहरहरुमा अवैतनिक राजदूतका माध्यमबाट समयमा नै राहदानी नविकरण गर्नुपर्ने बताए ।

नेपालमा रासायनिक मल कारखानाको आवश्यता छैन : जनार्दन शर्मा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यता नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै मल कारखाना आवश्यक नरहेको बताए ।

प्रभु साहको प्रस्ताव– किसानलाई पेन्सनको व्यवस्था गरौं

आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । कृषि क्षेत्रको प्रोत्साहनका लागि, किसानको सम्मानको लागि पनि उनीहरुलाई पेन्सन दिने व्यवस्था गर्न सरकारले आँट गर्नुपर्ने उनको तर्क  थियो । 

एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढल्छ : सचेतक बर्तौला

नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताएका छन् । बुधबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्ने बताएका हुन् । उनले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए । 

जनगुनासो सम्बोधन गर्न समाजवादी मोर्चा बनाइएको हो : सांसद शर्मा

नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले जनताको जनगुनासोलाई सम्बोधन गर्नका लागि समाजवादी मोर्चा नेपाल बनाइएको बताएकी छिन् । उनले सत्ता टिकाउनको लागि मात्रै मोर्चा नबनाएको दाबी गरिन् ।

नागरिकता विधेयकको मुद्दा छिटो किनारा लगाउन सांसद श्रेष्ठको माग

नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले नागरिकता विधेयकसम्बन्धी अदालतमा परेको मुद्दा छिटो किनारा लगाउन माग गरेका छन् ।

पर्याप्त पूर्वाधार बनाउन नसक्दा राहदानी वितरणमा समस्या : नेता पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पर्याप्त पूर्वाधार बनाउन नसक्दा विद्युतीय राहदानी वितरणमा समस्या बढेको बताएका छन् । उनले केही वर्ष अघिको सरकारले नेपाली राहदानी विद्युतीय प्रणालीमा जाने निर्णय गरेपनि पर्याप्त पूर्वाधार निर्माण गर्न नसक्दा अहिले समस्या झेल्नुपरेको बताए ।

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्नुपर्छ : योगेश भट्टराई

नेकपा (एमाले)का सचिव एवम् सांसद योगेशकुमार भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

उपप्राध्यापक चलाउनेविरुद्ध ज्यान गर्ने उद्योगअन्तर्गतको मुद्दा कांग्रेस निकट विद्यार्थी संगठनमा आबद्ध नविसंघका विद्यार्थीहरुले खेपिरहेका थिए । सो मुद्दा फिर्ता गर्ने निर्णय गरेर सरकारले दण्डहिनता निम्त्याएको उल्लेख गर्दै त्यसलाई तत्काल खारेज गर्न सचिव भट्टराईको सरकारसँग माग थियो ।

उनले सदाचारको पक्षमा सधैं उभिने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो मुद्दा फिर्ता लिने निर्णयमा कसरी हस्ताक्षर गर्न सक्नुभयो ? भनि प्रश्न समेत गरे ।

 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  २०:०८
Weather Update