News Griha :: न्यूजगृह
नक्कली शरणार्थी प्रकरण : मुद्दा दर्ताको समय नजिकिँदै, अनुसन्धान अझै बाँकी

काठमाडौं—  जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिल कार्यालयमा नबुझाउने भएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली गरेको गिरोह बारेको अनुसन्धान सकेर बुधबार साँझसम्म रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको थियो  । तर, अनुसन्धान नसकिएको भन्दै बुधबार प्रतिवेदन नबुझाउने निर्णय भएको जिल्ला प्रहरी परिसरका एसपी सिताराम रिजालले बताए ।

‘गर्नुपर्ने काम धेरै छ, आज प्रतिवेदन नबुझाउने भएका हौँ,’ उनले भने । यस्तो मुद्दामा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेस गर्नुपर्छ ।

प्रहरीको रायसहितको अनुसन्धान प्रतिवेदन अध्ययनपछि मात्र सरकारी वकिल कार्यालयले मुद्दा अदालतमा दर्ता गर्छ । १२ जेठसम्म सरकारी वकिल कार्यालयले मुद्दा अदालतमा दर्ता गर्नुपर्छ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध प्रहरीले ठगी र सङ्गठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले अनुसन्धान थालेको बुधबार ५४ दिन भइसक्यो । सरकारी वकिलले अनुसन्धान प्रतिवेदन अध्ययनका लागि भन्दै एकसाताको समय चाहिने भन्दै बुधबारसम्म प्रतिवेदन बुझाउन एक साता अघि प्रहरीलाई भनेको थियो ।

यो प्रकरणमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । यो प्रकरणका गिरोह गत १२ चैतमा पहिलोपटक पक्राउ परेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १३:१३
Weather Update