News Griha :: न्यूजगृह
नक्कली शरणार्थी प्रकरणः १०६ जनाको उजुरी, २३ करोड ठगिएको दाबी 

काठमाडौं— नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्म ८ जना पक्राउ परेका छन्। केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।  उक्त मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

परिसरमा अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन् । २० वटा उजुरीमा २३ करोड २५ लाख ठगी भएको दाबी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए । यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिएको छ । तर अन्य व्यक्ति प्रहरीको सम्पर्कमा पुगेका छैनन् ।  गिरोहले २०७७ सालदेखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ ।

यस सम्बन्धमा पहिलो पटक गत जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो । घटनामा मुख्य आरोपित भनिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ झण्डै १० महिनापछि गत १२ चैतमा पक्राउ परेका थिए । त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परे  ।

उनीहरु कै बयानका आधारमा गृह मन्त्रालयका अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिरिएको हो ।  घटनाको थप अनुसन्धान र कानुनी कारबाहीका लागि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपितसहित अनुसन्धान फाइल हस्तान्तरण गरेको थियो ।

प्रहरीले १९ वैशाखमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल'का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । प्रहरीले बुधबार तत्कालीन गृहसचिव (हाल उपराष्ट्रपति कार्यालय) का सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरेको थियो ।  

प्रहरीले सन्दीपका नाममा काटेको चेकसमेत बरामद गरेको छ । एमाले सचिव एवम् प्रतिनिधि सभा सदस्य रायमाझी र डा. राईका छोरा नीरजमाथि पक्राउ पुर्जी जारी भएको छ । नीरजले काठमाडौँका विभिन्न होटलमा पुगेर करोडौँ रकम बुझेको प्रहरी स्रोतको भनाइ छ । 

‘अन्य केही व्यक्ति पनि अनुसन्धानको घेरामा छन्, प्रमाण जुटेपछि पक्राउ पर्छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । यो समूहले गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनाएको भेटिएको छ ।

गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरुका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए ।उनीहरुले शरणार्थी फारम भर्नेबाट १५ देखि २० लाख रुपैयाँ असुलेका थिए । 

गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको भन्दै पीडितलाई विश्वास दिलाउने गरेका थिए । विश्वासमा पारिराख्न गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र देखाउने गरेका थिए । 

पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौंलगायत स्थानमा पटकपटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ । उनीहरुले काम नभएमा रकम फिर्ता गरिदिन्छु भन्दै ८ करोड बराबरको चेकसमेत दिएका थिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १४:४४
Weather Update