News Griha :: न्यूजगृह
म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत लगिँदै

काठमाडौं— सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछानेलाई म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लगिँदै छ।

लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ।

लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको बयान नसकिएको बताइन्। उनले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा पर्ने उल्लेख गरिन्। 

लामिछानेले बयानका क्रममा समन्वय गरेको उनले बताइन्। उनले भनिन्, ‘हामीसँग छिटो बयान सक्नुस् भन्नुभएको छैन। बयानमा सघाउने उहाँको दायित्व र कर्तव्य पनि हो नि।’

लामिछानेलाई प्रहरीले कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको हो। यस्तै, पूर्व डीआइजी छविलाल जोशीलाई पनि आजै कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ।

छविलाललाई गत असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १५ मा पक्राउ परेकी लीला पछाईंलाई समेत म्याद थपका लागि आजै अदालत लगिँदै छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०८:२६
Weather Update