News Griha :: न्यूजगृह
छवि र रविलाई पाँच जिल्ला पुर्‍याएर बयान लिने प्रहरीको तयारी

काठमाडौं— पोखराको सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशी यतिबेला रूपन्देहीमा छन्। उनलाई बयानका लागि सोमबार रूपन्देही लगिएको हो।

बुधबार उनलाई रूपन्देहीबाट जहाजमा पोखरा नै पठाइने छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे सोमबार र मङ्गलबार प्रहरीले बयान लिएको छ। उनी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका हुन्।

जोशीसँगै कात्तिक २ गते सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई समेत सूर्यदर्शन सहकारी ठगीबारे बयान सकिएपछि रूपन्देही लगिने तयारी छ।

प्रहरी स्रोतका अनुसार सूर्यदर्शनसहित विभिन्न पाँचवटा सहकारीमार्फत गोर्खा मिडिया (ग्यालेक्सी टेलिभिजन)मा रकम आएको खुलेको सहकारी रहेको जिल्लाहरूमा छवि र रविलाई लैजाने तयारी गरेको हो।

रूपन्देहीसँगै उनीहरूलाई वीरगञ्ज, चितवन, काठमाडौंसमेत ल्याइने छ। वीरगञ्जको सानो पाइला सहकारी, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा अवैध तरिकाले रकम आएको खुलेको थियो। जोशी ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक र रवि प्रबन्ध निर्देशक हुन्।

गोर्खा मिडियाका अध्यक्ष जीबी राई भने अझै फरार छन्। संसद्को सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिले जीबी राईले स्थापना गरेको पाँच सहकारीमार्फत ६५ करोड रकम अवैध तरिकाले आएको खुलाएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २०:५४
समसामयिक
Weather Update