News Griha :: न्यूजगृह
साहारा सहकारीबाट गोर्खा मिडियामा गएको रकमबारे थप अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन
फाइल तस्बिर।

चितवन— जिल्ला सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडियामा गएको रकमबारे थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ।

सहकारीबाट रकम गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको ४७ करोड रुपैयाँ बराबरको कारोबार के कसरी, को–कोसँग भएको हो सोको विवरण प्राप्त नदेखिएकाले सो सम्बन्धमा थप अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले चितवन प्रहरीलाई निर्देशन दिएको हो।

साथै, सरकारी वकिलको कार्यालयले गितेन्द्रबाबु राई (जीबी राई) समेत भएको ठगी मुद्दामा साहारा चितवन सहकारीबाट रकम गएको देखिएको सन्दर्भमा सहकारीबाट रकम गएको भनि खुल्न आएका कम्पनी तथा प्रालिहरूको समेत बैंक खाताको स्टेटमेन्टको सफ्ट कपीको विवरण नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागसँग माग गरिएकोमा सोको विवरण प्राप्त हुन नसकेको भनेको छ।

‘सम्बन्धित संस्था, कम्पनी तथा प्रालिहरूको खुल्न आएको बैंक खाताको बैंक स्टेटमेन्टको सफ्ट कपीको विवरण सम्बन्धित बैंकसँग माग गरिएकोमा कतिपय बैंकबाट उक्त विवरण प्राप्त हुन नसकेको, साहारा चितवन सहकारीबाट रकम गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आइएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार के कसरी को कोसँग भएको हो सोको विवरण प्राप्त भएको नदेखिएकाले सो सम्बन्धमा थप अनुसन्धान गरी कानुन बमोजिम अनुसन्धान अघि बढाउनुहुन निर्देशन दिइएको छ,’ कार्यालयले जिल्ला प्रहरीलाई भनेको छ।

साहारा चितवन सहकारीको लामो समय अडकिएको फाइल माथि केही दिनअघि सीआईबीको टोलीले अनुसन्धान गरेको थियो। त्यही अनुसन्धानलाई आधार बनाएर प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो।सरकारी वकिलको कार्यालयले मंगलबार जीबी राईलगायत १७ जनाविरूद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

राईसहित सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त रानाभाट, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भुपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देबेन्द्रबाबु राई, दिनेश रोका, दिपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, कुमार रम्तेल, शरण विश्वकर्मा र थमन भन्ने थानबहादुर बुढा मगर उपर ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो। 

उनीहरूमध्ये यसअघि कुमार रम्तेललाई कास्की प्रहरीले पक्राउ गरेको थियो। कारागार चलान रम्तेललाई मात्रै चितवन झिकाएर प्रहरीले बयान लिएको थियो। अन्य १६ मध्ये ११ जना फरार, ३ जना कारागारमा रहेको र ३ जना अनुपस्थित रहेको भनी मुद्दा दायर भएको छ।

साहारा सहकारीका ४ सय ४६ जना बचतकर्ताले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको हो। उजुरी दिनेहरूको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ सहकारीमा बचत थियो। 

उक्त बचत रकम साहारा चितवन सहकारीको एक मुख्य र दुई शाखा कार्यालयका जिम्मेवार व्यक्तिहरुले भर्पाई गर्नुपर्ने मागदाबीसहित मुद्दा दर्ता गरेको सरकारी वकिलको कार्यालयले जनाएको छ।

यो सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय ३४ छन्। कुल बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। अब प्रहरीले अहिले उजुरी दिएका ४ सय ४६ जनाबाहेककाले थप उजुरी दिएको अवस्थामा पनि पुनः अनुसन्धान गर्नुपर्ने छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १९:०७
समसामयिक
Weather Update