पाकिस्तानलाई हराउँदै श्रीलङ्का महिला एसिया कपको फाइनलमा, भारतको सामना गर्ने

काठमाडौं— श्रीलङ्का महिला एसिया कपको फाइनलमा पुगेको छ। शुक्रबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलङ्काले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।
पाकिस्तानले दिएको १४१ रनको लक्ष्य पछाएको श्रीलङ्काले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।
यसअघि पाकिस्तानले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै १४० रन बनाएको थियो।
यो जितपछि श्रीलङ्काले फाइनलमा भारतको सामना गर्ने छ। शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो। अब फाइनल खेल आइतबार हुने छ।
यो हारसँगै पाकिस्तानको एसिया कप यात्रा टुङ्गिएको छ।
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१ ०७:५४