News Griha :: न्यूजगृह
क्यान अध्यक्षको 'चतुर' बदमासीः आईसीसीको कोटामा आफू गए, क्यानको खर्चमा भाडाको डाक्टर राखे 

काठमाडौं— आर्थिक पारदर्शिता नभएको भन्दै विवादले घेरिएको नेपाल क्रिकेट संघ (क्यान) मा अध्यक्ष चतुरबहादुर चन्दको अर्को बदमासी बाहिरिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले तोकेको २५ सदस्यीय कोटामा सेक्युरिटी म्यानेजर र अफिसियल डाक्टर नराखी आफू अमेरिका उडेका अध्यक्ष चन्दले सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि भाडामा डाक्टर राखेको पाइएको छ। त्यो पनि नेपाल क्रिकेट संघले नै पारिश्रमिक दिनेगरी।

क्यान आफैँले खर्च बेहोर्नेगरी नेपाली मूलका अमेरिकी डाक्टर होमनाथ पन्तलाई भाडामा लिएको तथ्य बाहिरिएको हो। क्यानका सचिव पारस खड्काले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई जेठ २१ गते लेखेको जबाफी पत्रमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अवधिभरका डाक्टर होमनाथ पन्तलाई टोलीमा समावेश गरेको बताएका छन्।

आईसीसीको कोटामा आफू नबसी चन्दले त्यसमा टिम डाक्टर राख्न सक्थे। त्यसो हुँदा डाक्टरको हुन आउने खर्च आईसीसीले नै बेहोर्नुपर्थ्यो भने चन्दले आफ्नो खर्च बेहोर्नुपर्थ्यो। तर, उनले त्यसो गरेनन्। बरु क्यानको खर्चमा डाक्टर टोलीमा समावेश गरे। आफू आईसीसीको कोटामा बसे।

आईसीसीको टोलीमा अमेरिका उडेका नेपाली क्रिकेट इतिहासमै चन्द पहिलो अध्यक्ष हुन्। आईसीसीबाट प्राप्त हुने २५ सदस्यीय सुविधाबाहेक सम्बन्धित संघले आफ्नै स्रोतबाट खर्च बेहोर्नेगरी थप खेलाडी तथा अफिसियलहरू राष्ट्रिय टोलीमा समावेश गर्न पाउने प्रावधानअनुसार संघबाट खर्च बेहोर्नेगरी आईसीसीको स्वीकृतिमा टोलीमा समावेश गरिएको र विश्वकप क्रिकेट प्रतियोगिता अवधिभरका लागि एक जना स्थानीय अमेरिकन डाक्टर होमनाथ पन्तलाई समेत राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको व्यहोरा अनुरोध छ,’ क्यानका सचिव पारस खड्काले राखेपलाई लेखेको पत्रमा उल्लेख छ।

can-letter-1718293160.jpg
सचिव पारस खड्काले राखेपलाई पठाएको पत्र। 

यसअघि सन् २००८ मा विश्व क्रिकेट लिग डिभिजन ५ खेल्न नेपाली टोली जर्सी जाँदा व्यवस्थापकका रुपमा गएका तत्कालीन महासचिव टंक पनेरु विवादमा परेका थिए । यसपटक अध्यक्ष चन्द आफैँले अमेरिका भ्रमण गर्ने निर्णय गरेका हुन्, त्यो पनि सपत्नी।

आईसीसीले दिएको अफिसियल टोलीमा चन्दबाहेक १५ जना खेलाडी, प्रशिक्षक मोन्टी देसाइ, बलिङ प्रशिक्षकमा रोडेरिक ओर्भिल इस्टविक, रमन सिवाकोटी (एनालिस्ट), विक्रम न्यौपाने (फिजियो), अब्दुल सतार (ट्रेनर), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दन हनमन्त फाडनिस (कन्सलटेन्ट प्रशिक्षक) अमेरिका गएका छन्।

आईसीसीले संवादका लागि आवश्यक परेमा विभिन्न देशका मिडिया म्यानेजरलाई सम्पर्क गर्नु भनेर मिडिया नोट पठाए पनि क्यानले अझै मिडिया म्यानेजर उपलब्ध गराउन सकेको छैन। 

उता काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत पनि क्रिकेट हेर्ने बहानामा अमेरिका पुगेका छन्। उनले आफूलाई क्रिकेट प्रतियोगिता हेर्न भनेर क्यानले नै पत्र लेखेको भन्दै नगरपालिकामा बिदा स्वीकृत गराएका थिए।

‘नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतसमेत आफ्नै खर्चमा नेपालको खेल अवलोकनका लागि अमेरिका भ्रमणमा जानुभएको बुझिन आएको व्यहोरा उल्लेख छ,’ सचिवले राखेपलाई पठाएको पत्रमा भनिएको छ। नगरप्रमुख बस्नेतले भ्रमणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृति समेत लिएका छैनन्। अफिसियल भिजिटमा जाने हो भने मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाटै स्वीकृत हुनुपर्ने हुन्छ।

क्यान, राखेप र खेलकुद मन्त्रालय छानबिनको घेरामा 
क्यानका एकपछि अर्को विवादित कदमहरू बाहिरिएसँगै राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ र युवा तथा खेलकुद मन्त्रालय छानविनको घेरामा पर्ने पक्का छ।

बुधबारको प्रतिनिधि सभा बैठकमा समेत सांसद भीम आचार्यले क्रिकेट विश्वकप हेर्ने बहानामा प्रधानमन्त्री कार्यालयबाटै पत्र कटाउने काम भएको र यो क्यानको नेतृत्वको संलग्नता विना सम्भव नभएको भन्दै छानबिन गर्न माग गरेका थिए।

खेलकुद मन्त्रालयसमेत आवश्यक अनुसन्धान गर्न तयारी गरिरहेको विशेष स्रोतले जनाएको छ। 

सम्बन्धित समाचार

टी–२० विश्वकप: क्यान अध्यक्ष डाक्टर बनेर पत्नीसहित अमेरिका गएको खुलासा


नेपाल न्यूज बैंक नेपालको निजी क्षेत्रको समाचार एजेन्सी हो। न्यूजगृह नेपाल न्यूज बैंकको ग्राहक हो। यो समाचारको जिम्मेवार स्वयम् नेपाल न्यूज बैंक हुनेछ– सम्पादक ।   

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  २१:२४
Weather Update