News Griha :: न्यूजगृह
टी–२० विश्वकप: क्यान अध्यक्ष डाक्टर बनेर पत्नीसहित अमेरिका गएको खुलासा

काठमाडौं— नबौं संस्करणको टी–२० विश्वकप संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी छ। यता, नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीलाई लिएर विभिन्न विवादहरू भइरहेका छन्। उसो त क्यान र विवाद पर्यायजस्तै भइसकेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली, टिम डाक्टर, टिम सेक्युरिटी म्यानेजरबिना अमेरिका उडेको खुलासा भएको छ।

टी–२० विश्वकपका लागि २५ सदस्यीय टोली हुनुपर्ने प्रावधान छ। टोलीमा १५ खेलाडी अनिवार्य हुनुपर्छ भने अन्य व्यवस्थापकीय जनशक्ति सहभागी रहन्छन्। नेपाल न्यूज बैंकलाई प्राप्त लिस्टमा २५ सदस्यीय टोलीमा अध्यक्ष चन्द समेत अटाएका छन्। 

क्यान उपाध्यक्ष रोशन सिंहका अनुसार चन्द नेपाली क्रिकेट टोलीको मेडिकल सम्हालेर टोलीसँगै अमेरिका उडेका हुन्। अर्थात् उनी टिम डाक्टर भएर अमेरिका गएका हुन्। नेपाली टिमभित्र रहेर प्रतियोगिता हेर्न जाने चन्द क्यानका पहिलो अध्यक्ष हुन्।

यसअघि सन् २००८ मा विश्व क्रिकेट लिग डिभिजन ५ खेल्न नेपाली टोली जर्सी जाँदा व्यवस्थापकका रुपमा गएका तत्कालीन महासचिव टङ्क पनेरु विवादमा परेका थिए। यसपटक अध्यक्ष चन्द आफैँले अमेरिका भ्रमण गर्ने निर्णय गरेका हुन्, त्यो पनि सपत्नी ! 

आईसीसीले दिएको २५ जनाको कोटामा अध्यक्ष त मेडिकल डाक्टरका रुपमा जानुभएको भन्ने बाहिर आएको छ, तपाईंलाई के जानकारी छ ? भन्ने प्रश्नमा क्यानका उपाध्यक्ष रोशन सिंहले भने, ‘आईसीसीको गाइडलाइन अनुसार टोलीमा एकजना डाक्टर अनिवार्य हुनुपर्ने भनिएको थियो। मैले अध्यक्षलाई २५ जनाको कोटामा नजान आग्रह गरेको थिएँ। मैले बोर्डबाट निर्णय गराएर अध्यक्षको कोटामा जानुभन्दा मान्नुभएन। अमेरिका गएपछि मलाई फोन गरेर पनि मैले बुझिन सचिवले बर्बाद पार्यो भनेर चन्द दाइले फोन गर्नुभएको थियो। अध्यक्षलाई गुमराहमा पारेर पठाइएको रहेछ। अहिले उहाँले नै आत्मग्लानि महसुस गरिरहनुभएको छ। यसमा दोषी चाँहि सचिव नै देख्छु। टिममा डाक्टर नहुँदा उहाँ जानु त डाक्टर कै रुपमा गएको बुझ्नुपर्‍यो नि।’ 

यसरी अध्यक्षलाई गुमराहमा पार्ने जोसुकै भएपनि कारबाही हुनुपर्ने सिंहको भनाई छ। अफिसियल टोलीमा चन्द बाहेक प्रशिक्षक मोन्टी देसाई, बलिङ प्रशिक्षकमा रोडेरिक ओर्भिल इस्टविक, रमन सिवाकोटी (एनालिस्ट), विक्रम न्यौपाने (फिजियो), अब्दुल सतार (ट्रेनर), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दन हनमन्त फाडनिस (कन्सलटेन्ट प्रशिक्षक) अमेरिका गएका छन्। 

आईसीसीले संवादका लागि आवश्यक परेमा विभिन्न देशका मिडिया म्यानेजरलाई सम्पर्क गर्नु भनेर मिडिया नोट पठाए पनि क्यानले अझै मिडिया म्यानेजर उपलब्ध गराउन सकेको छैन। 


नेपाल न्यूज बैंक नेपालको निजी क्षेत्रको समाचार एजेन्सी हो। न्यूजगृह नेपाल न्यूज बैंकको ग्राहक हो। यो समाचारको जिम्मेवार स्वयम् नेपाल न्यूज बैंक हुनेछ– सम्पादक ।   

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १८:०१
Weather Update