News Griha :: न्यूजगृह
आजदेखि टी२० विश्वकप

काठमाडौं— आईसीसी टी२० विश्वकप आइतबारबाट अमेरिकामा सुरु भएको छ। वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता एक महिनासम्म चल्नेछ।

उद्घाटन खेलमा अमेरिका र क्यानडा आमनेसामने हुँदैछन्। खेल नेपाली समय अनुसार अहिले सवा ६ बजे डलासमा सुरु भएको छ। अमेरिकाले टस जितेर बलिङ गर्ने भएको छ। टस हारेको क्यानडाले ब्याटिङ गर्नेछ।

वेस्ट इन्डिजले दोस्रोपटक विश्वकप आयोजना गर्न लागेको हो भने अमेरिकाले पहिलो पटक मौका पाएको हो। अमेरिकामा क्रिकेटलाई लोकप्रिय बनाउने लक्ष्यसहित विश्वकप अमेरिकामा पुर्याइएको हो।

प्रतियोगिताको इङ्ग्ल्याण्ड साविक विजेता टोलीको हो। इङ्ल्याण्डले सन् २०२२ मा अष्ट्रेलियामा भएको विश्वकपको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि चुमेको थियो।

प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन्। पछिल्लो संस्करणमा १६ टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा यसपटक ४ टोली थपेर २० टोलीमा पुर्याइएको हो।

सहभागी २० टोलीमा सन् २०२२ को विश्वकपको शीर्ष आठ र टी२० वरीयताको आधारमा दुई टोलीले सीधैं स्थान बनाउँदा अन्य ८ टोली क्षेत्रीय छनोटबाट स्थान बनाएका हुन्। यस्तै वेस्ट इन्डिज र अमेरिका आयोजकको रूपमा सीधैं विश्वकप खेल्न पाएका हुन्। आयोजक अमेरिकासँगै क्यानडा र युगान्डाले पहिलोपटक विश्वकप खेल्दैछन्।

सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानसँगै क्यानडा, आयरल्याण्ड र आयोजक अमेरिका रहेका छन्।

यस्तै समूह ‘बी’मा साविक विजेता इङ्ग्ल्याण्ड, अष्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् भने समूह ‘सी’मा न्युजिल्यान्ड, आयोजक वेस्ट इन्डिज, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डा तथा समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश नेपाल र नेदरल्याण्ड्स रहेका छन्।

सबै समूहको शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन्। उक्त आठ टोलीलाई सुपर आठमा चार/चार टोलीको दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहको शीर्ष दुई स्थानमा रहने चार टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलको विजेता टोली २९ जुनमा हुने फाइनल खेलमा उपाधिको लागि भिड्नेछन्।

यसपटक वेस्ट इन्डिजको ६ र अमेरिकाको ३ रङ्गशाला गरि ९ रङ्गशालामा विश्वकपको खेल हुँदैछ। आयोजक अमेरिका र क्यानडाबीच हुने उद्घाटन खेल टेक्सासको डलासस्थित ग्रान्ड प्रेरी  स्टेडियममा हुनेछ। यस रङ्गशालाले विश्वकपको ४ खेल आयोजना गर्नेछ।

यस्तै वेस्ट इन्डिजको सिर भिभिन रिचार्ड स्टेडियममा ८, प्रोभिड़न्स स्टेडियममा एक सेमिफाइनलसहित ६, ड्यारेन स्यामी क्रिकेट ग्राउन्डमा ६, अर्नोस भाले स्टेडियममा ५, ब्रायन लारा क्रिकेट एकेडेमीमा एक सेमिफाइनलसहित ५ र केंसिन्टनओभलमा फाइनलसहित ९ खेल हुनेछ।

प्रतियोगितामा ११ टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयरल्यान्ड तथा ९ एसोसिएट राष्ट्र, अमेरिका, नेपाल, क्यानडा, नेदरल्याण्ड्स, युगान्डा, पपुवा न्युगिनी, नामिबिया, ओमान र स्कटल्यान्डले सहभागिता जनाएका छन्। अघिल्लो संस्करण खेलेका जिम्बावे र यूएई अनुपस्थित हुँदा नेपाल ३ तथा पपुवा न्युगिनी विश्वकपमा फर्किएका छन्।  

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०६:२७
Weather Update