News Griha :: न्यूजगृह
टी२० विश्वकप: कुन देशले कति पटक जिते?

काठमाडौं— आईसीसी टी२० विश्वकप आइतबारदेखि सुरु हुँदै छ। जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदै छन्। 

यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इङ्ल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस्, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुँदै छन्।

इङ्ल्याण्ड टी२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो। २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इङ्ल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो। टी२० विश्वकपको यो नवौँ सिजन हो। यसअघि सम्पन्न आठ विश्वकपमा सबैभन्दा बढी इङ्ल्याण्ड र वेस्ट इन्डिजले २–२ पटक जितेका छन्। इङ्ल्याण्डले २०१० र २०२२ मा विश्वकप जितेको थियो भने वेस्ट इन्डिजले २०१२ र २०१६ मा टी२० विश्वकप जितेको थियो।

त्यस्तै भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले एक–एक पटक टी२० विश्वकप जितेका छन्। भारतले टी२० विश्वकपको पहिलो संस्करण २००७ मा जितेको थियो भने अस्ट्रेलियाले २०२१ मा, श्रीलंकाले २०१४ मा र पाकिस्तानले २००९ मा जितेको थियो। त्यस्तै टेस्ट खेल्ने प्रमुख राष्ट्र न्युजिल्याण्ड र दक्षिण अफ्रिका जस्ता देशले अहिलेसम्म टी२० विश्वकप जित्न सकेका छैनन्।

न्युजिल्याण्ड २०२१ मा उपविजेता बनेको थियो भने दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो। त्यस्तै आयरल्याण्ड र बंगलादेश एक–एक पटक सुपर आठसम्म मात्र पुगेका छन् भने नेदरल्याण्डस् एक पटक सुपर १२ मा, अफगानिस्तान एक पटक सुपर १० सम्म पुगेका छन्। त्यस्तै जिम्बाबे, नामिबिया र स्कटल्याण्ड एक–एक पटक सुपर १२ सम्म पुगेका छन्। 

त्यस्तै नेपालले भने १० वर्षपछि टी२० विश्वकपमा कमब्याक गरेको छ। नेपालले यसअघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जिते पनि बंगलादेशसँग पराजित हुँदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो। 

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ। नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन्।

टी२० विश्वकपमा नेपाल समुह ‘डी’मा रहेको छ। यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस् छन्।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्ड्ससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ। 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०७:३६
Weather Update