News Griha :: न्यूजगृह
सन्दीपको भिसा अन्यौलमा, विश्वकप गुमाउने खतरा

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेको सोमबार पनि भिसाको काम अघि नबढ्ने भएको छ। अमेरिकामा सोमबार ‘मेमोरियल डे’ परेको छ। हरेक वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै देशका कूटनीतिक नियोगहरूमा सार्वजनिक बिदा दिइएको छ।

सोमबार काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि बिदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएको हो। पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः सन्दीपले प्रक्रिया अघि बढाएका छन्। तर अहिलेसम्म सरकारले कूटनीतिक नोट नै जारी नगरेकाले सन्दीपले अमेरिका र वेस्टइन्डिजमा आयोजना हुन लागेको आईसीसी टी-२० विश्वकप गुमाउने खतरा झन झन बढ्दै गएको छ।

नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधीन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन। उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकट समेत व्यवस्था गरि सकेको थियो भने उनको जर्सी लगायतका कुराहरू प्रिन्ट पनि भइसकेका थिए।

फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिनमात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल पाएका थिए। त्यसपछि प्रक्रिया पूरा गरेर अन्तर्वार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो। भिसा रिजेक्ट भएपछि अहिले क्यानका पदाधिकारीहरूले सन्दीपलाई खेल्न पठाउने या नपठाउने जिम्मा नेपाल सरकारको रहेको अभिव्यक्ति दिएका छन्।

यदि सरकारले कूटनीतिक नोट बनाएर दूतावासमा पठाएमा सन्दीप खेल्न जान पाउने छन्। तर, अहिलेसम्म कूटनीतिक नोट तयार भने भएको छैन। सामान्य पत्र तयार भए पनि उक्त पत्रका आधारमा भिसा दिन नसकिने संकेत दूतावासले गरि सकेको छ। त्यसैले अहिले क्यानका पदाधिकारीहरूले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्ने प्रयास गरिरहेका छन्।

युवा तथा खेलकुदमन्त्रीलाई भने यसअघि सन्दीसहितको टोलीले भेटेको थियो। त्यहाँबाट प्रक्रिया अघि बढाएर परराष्ट्रमा पत्र पुगेको बुझिएको छ। परराष्ट्रका अधिकारीहरूले प्रक्रिया अघि बढाउनु भन्दा पहिला दूतावाससँग समन्वय हुनु पर्ने बताएका छन्। तर, सोमबार सार्वजनिक बिदा परेकाले दूतावासले छलफल गर्नका लागि मङ्गलबारलाई समय तय हुन सक्ने संकेत गरेका छन्। मेमोरियल डे अमेरिकी सेनामा कार्यरतहरुले जीवन आहुति गरेको दिनको रुपमा मनाइन्छ।

सोमबार अमेरिकी दूतावासमा बिदा भए पनि मंगलबार नेपालको गणतन्त्र दिवस परे पनि कार्यालय भने खुला रहने छ। यता नेपाल सरकारका निकायहरू भने मंगलबार बिदा हुँदा त्यसले पनि भिसा प्रकृयामा अप्ठेरो पार्ने सम्भावना झन् बढेको छ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०९:२८
Weather Update