News Griha :: न्यूजगृह
क्यानभित्रको राजनीतिले कोपभाजनमा परे सन्दीप

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) यतिबेला विवादै विवादमा फस्न थालेको छ। नेपाली क्रिकेट टिमलाई टी२० विश्वकप, एशिया कप, आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा पुर्‍याउने एकजना खेलाडी अहिले क्यानभित्रको आन्तरिक राजनीतिको कारण कोपभाजनमा परेका छन्।

होला, सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान हुँदै गर्दा र भोलिपल्ट केन्या जाँदैगर्दा क्याम्प छाडेर जुन हर्कत गरे त्यसको सजाय उनले पाइसकेका छन्। जिल्ला अदालतमा मुद्दा चल्दा झण्डै एक सय दिन हिरासतमै बिताएका सन्दीपले उच्च अदालत र सर्वोच्च अदालतको आदेशबाट धरौटी बुझाएपछि विदेशसम्म गएर खेल्न पाएका थिए। यदि उनी त्यतिबेला नखेलेको भए सायदै नेपाल अहिले टी२० विश्वकपमा हुने थियो होला ।

सन्दीपले जिल्ला अदालतबाट सजाय पाएकै हुन्। त्यसविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनका लागि गएका सन्दीपले त्यहाँबाट सफाइ पाएपनि अहिले विश्वकप खेल्न जान रोक लगाइएको छ।

सफाइ पाएलगत्तै समर्थकको क्यानप्रतिको सहानुभूति बटुल्न सन्दीपको निलम्बन फुकुवा गरेको नाटक मञ्चन गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरेपनि उनको कार्यसमितिका केही व्यक्तिहरू हावी हुँदा त्यसको शिकार सन्दीप नै भएका छन्।

भिसा नदिने निकायको आवरणमा काठमाडौंमा रहेको अमेरिकन राजदूतावास भए पनि भित्री खेल क्यानकै पदाधिकारी र केही सदस्यको रहेको पक्का छ। क्यानले नै खेलाडीदेखि सबैको भिसाका लागि पहल गरेको थियो। यदि सच्चा मनका साथ क्यानले पहल गरेको भए सन्दीपले भिसा नपाएको खबर सुन्नु नै पर्ने थिएन।

यसअघि पटक पटक अमेरिका गइसकेका सन्दीपविरुद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी दिइएको थियो। सन्दीपको पहिला नै सन् २०२५ सम्मको अमेरिकी भिसा अवधि रहेको थियो। यदि क्यानको नेतृत्वको मनसाय गलत हुँदैनथ्यो भने उनले किन उच्च अदालतबाट सफाइ पाएपछि मात्रै भिसा रद्द भएको जानकारी पाए त, यहाँनेर समग्र खेलकुदप्रेमीले प्रश्न गर्ने ठाउँ छ।

सन्दीप आरोपित भएर अदालतमा चक्कर काट्दै गर्दा पनि आईसीसी र एसीसीले उनलाई कुनैपनि प्रतिबन्ध नलगाएको अवस्थामा वर्तमान कार्यसमितिले जिल्ला अदालतको फैसलालाई टेकेर उनलाई निलम्बन गरेको थियो। निलम्बन स्वभाविक मानिए पनि अमेरिकी दूतावासलाई सन्दीपको भिसा रद्द गराउनका लागि पत्र लेख्ने निर्णय क्यानको बोर्ड बैठकमा भएको थियो त यो पनि आम समर्थकले क्यानकै पदाधिकारीलाई सोध्नुपर्ने छ।

उच्च अदालत पाटनबाट जेठ २ गते उनले सफाइ पाएका थिए। जेठ ४ गते उनलाई अमेरिकी राजदूतावासले विगतको भिसा रद्द भएको इमेल पठाएको थियो। शुक्रबार परेकाले त्यसपछि सोमबारमात्रै उनले नयाँ प्रक्रिया सुरु गरेका थिए।

तर, अन्तरवार्ताका लागि गएपनि उनी असफल भएपछि अन्तर्राष्ट्रिय एरेनामा सन्दीपको ‘लेगस्पिन’बाट विकेट लिएको देख्ने सम्भावना अत्यन्त न्यून रहेको छ। क्यानले सन्दीपको भिसा प्रक्रिया जति नै अगाडि बढाएका छौं भनेपनि टिम भित्रको आन्तरिक राजनीति पनि यतिबेला छरपष्ट भएको छ ।

नेपाली टिममा सन्दीप मात्रै खेलाडी छैनन्। अरु खेलाडीलाई अपमान गर्न खोजिएको पनि होइन। तर विश्वकपमा सन्दीपको अभाव नेपाली क्रिकेट टिमलाई खड्किने पक्का छ। आसन्न टी२० विश्वकप अहिले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणलाई बिर्साउने गरी मानव तस्कर हुन लागेको समाचार सञ्चारमाध्यममा आइसकेका छन् भने केही पदाधिकारी र सदस्यहरूका श्रीमती, भाइ र छोराछोरीको भिसा लागि सकेको अवस्थामा अदालतबाट सफाइ पाइसकेको विषय उठाएर सन्दीपलाई भिसा नदिनु भनेको नेपाली क्रिकेटमाथिको गम्भीर अन्याय हो ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १९:००
Weather Update