
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्दैछन्।
१७औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ।
तेश्रो पटक उपाधिको दाउमा रहेको कोलकाताले दोश्रो पटक उपाधि दाउमा रहेको सनराइजर्सको भिडन्त उत्कृष्ट हुने क्रिकेट विश्लेषकहरूको दाबी छ।
गत मङ्गलबार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको थियो। शुक्रबार भएको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँगको भेट पक्का गरेको थियो।
कोलकाता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो। उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो। त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ। उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो।
हैदराबाद र कोलकाताको हेड टु हेड अहिलेसम्म कोलकाता अगाडि छ। पाँच प्रतिस्पर्धामा हैदराबादले एउटा मात्र जित निकालेको छ। यो सिजनमा भएका दुई भेटमा कोलकाता विजयी भएको थियो।