News Griha :: न्यूजगृह
हैदराबादमाथि सहज जित निकाल्दै कोलकाता फाइनलमा

काठमाडौं— सनराईजर्स हैदराबाद माथि शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

गएराति भएको पहिलो क्वालिफायरमा हैदराबादविरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो। हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टायो।

कोलकाताको जितमा कप्तान श्रेयस ऐयरले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको अविजित इनिङ खेले।  वेंकटेश ऐयर २८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे।

ओपनरद्वय रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन बनाए। हैदराबादका कप्तान प्याट कमिन्स र थाङगारासु नटराजनले समान १ विकेट लिए।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर ब्याटिङ गरेको हैदराबाद १९.३ ओभरमा १ सय ५९ रनमा समेटियो। हैदराबादका लागि राहुल त्रिपाठीले ३५ बलमा सर्वाधिक ५५ रन जोडे। हेनरिच क्लासनले २१ बलमा ३२ रन जोड्दा कमिन्सले २४ बलमा ३० रन बनाए।

कोलकाता लागि मिचेल स्टार्कले ३ , वरुण चक्रवर्तीले २ विकेट लिए। वैभव अरोरा, हर्षित राना, सुनिल नरिन र आन्द्रे रसेलले समान १ विकेट लिए।

कोलकाता जितसँगै फाइनलमा प्रवेश गर्‍यो भने पराजित हैदराबादले भने फाइनल पुग्ने दोस्रो मौका पाउनेछ। सो अवसर तेस्रो र चौथो स्थानमा रहेका राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलूरु बीचको एलिमिनेटर खेलको विजेता विरुद्ध हुनेछ। एलिमिनेटर खेल आज हुँदैछ। 

दोस्रो क्वालिफायर भने शुक्रबार चेन्नईमा हुनेछ। फाइनल आगामी आइतबार चेन्नईमा नै हुनेछ। 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०६:१४
Weather Update