
काठमाडौं— हाम्रो पात्रो एपले वनएक्स बेट (सट्टेबाजी) एप्लिकेसनको प्रचार गर्ने गरेको पाइएको छ। हाम्रो पात्रो मोबाइल एपमा वनएक्स बेटको विज्ञापन देख्न सकिन्छ।
नेपालमा वनएक्स एप नेपालमा प्रतिबन्धित छ। तर हाम्रो पात्रो एपले विना धक वनएक्स बेटको प्रचार गरिरहेको छ। हाम्रो पात्रो एममा देखिने वनएक्स बेटको विज्ञापन गुगल एड हो। तर यसको नियमन भने हाम्रो पात्रो टीमले गरेको छैन। यसलाई रोक्न सकिने भएपनि सम्बन्धित पक्षले चासो नदिएको हो।
हाम्रो पात्रो बेलाबेलामा विवादमा परिरहने गर्छ। एक वर्षअघि हाम्रो पात्रो प्रयोगकर्ताले ट्वीटर (अहिलेको एक्स)मा ‘बोयकट हाम्रो पात्रो ट्रेन्ड’ चलाएका थिए। उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्।

के हो वनएक्स बेट
वनएक्स बेट अनलाइन सट्टेबाजी प्लेटफर्म हो। नेपालमा यस प्रकरणका एप प्रयोग गर्न पाइन्न। तर हाम्रो पात्रो जस्तो लोकप्रिय एपले कानुनले बन्देज लगाएको कार्यलाई अझ बढवा दिएको छ। कतिपय देशमा सट्टेबाजी वैध छ । कर तिरेर बाजी लगाउन पाइन्छ । तर, नेपालमा पनि यससम्बन्धी कानुन छैन । पक्राउ परेकालाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर र दफा २३२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को (क) र (ख) लगायत कसुरमा अनुसन्धान गर्छ। जुन मुद्दामा उनीहरू सामान्य धरौटीमा नै छुट्ने गर्दछन् ।
एक वर्षअघि प्रहरीले वानएक्स बेटको प्रचार गरेको भन्दै धुर्वे नामले परिचित मरिचमान श्रेष्ठ, राजु मास्टर नामले परिचित राजु पौडेल, म्याकुरी नामले चिनिएका पवन खतिवडा लगायत कलाकारहरूलाई पक्राउ गरेको थियो। त्यस्तै, युट्युबर एलिस राई, भ्लगर राजकुमार थापा मगरको नामबाट परिचित राजकुमार तामाङलगायत पक्राउ परेका थिए। उनीहरूले वान एक्स बेट खेलाउन उक्साउने गर्थे। युट्युबमा आफ्ना भिडिओमार्फत प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै वेटिङ खेलाउने गरेको आरोप उनीहरूमाथि थियो।
►कलाकारलाई वान एक्स बेटको प्रचार गर्न लगाउने मुख्य नाइके ढेडु बुढो, ४० लाख रुपैयाँ बुझे
सोमबार मात्रै प्रहरीले वनएक्स बेट लगायत सट्टेबाजी कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २४ वर्षीय अनिल ढुङ्गानालाई पक्राउ गरेको हो। काभ्रेका उनी भक्तपुरको सूर्यविनायकबाट पक्राउ परेका हुन्। उनले चार वर्षको अवधिमा दुई अर्ब एक करोड रुपैयाँभन्दा बढीको अनलाइन सट्टेबाजी कारोबार गरेको दाबी प्रहरीको छ। उनले वनएक्स बेट लगायतका अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म प्रयोग गरी उक्त कारोबार गरेको प्रहरीले जनाएको छ।
यसविषयमा बुझन खोज्दा हाम्रो पात्रोका कर्मचारी सम्पर्कमा आउन चाहेनन्। काठमाडौं प्रहरी स्रोतले भने उजुरी आए कारबाही गरिने बतायो।













