
काठमाडौं— हाम्रो पात्रो एपका सञ्चालक मध्ये एक रुद्र पाण्डे र राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनबीचको सवालजवाफले यतिबेला सामाजिक सञ्जाल तातेको छ ।
आविष्कार केन्द्रको नाममा रकम उठाएर लामो समयसम्म पनि त्यो रकम केन्द्रलाई नबुझाएको भन्दै सामाजिक सञ्जालमा हाम्रो पात्रो एपका सञ्चालक पाण्डेमाथि ट्वीटर प्रयोगकर्ताले प्रश्न उठाएका छन् । हाम्रो पात्रो एपका सञ्चालकले आविष्कार केन्द्रको नाममा अमेरिकामा चन्दा उठाएर पनि नदिएको भन्दै अहिले ट्वीटरमा ‘बोयकट हाम्रो पात्रो’ ट्रेन्ड नै चलेको छ ।
अर्काको नाममा चन्दा उठाएर त्यसको अपचलन गरेको भन्दै ट्वीटरमा हाम्रो पात्रो एप ‘अन्स्टल’ गर्ने ट्रेन्ड चलेको हो । केन्द्रका लागि भन्दै नेपालमा रहेको संस्था डियरवाकफाउन्डेसनको तर्फबाट अमेरिकामा पाण्डेले चन्दा सङ्कलन गरेका थिए । करिब २३ हजार डलर रकम चन्दाबापत उठिसकेको छ । चर्चित चन्दा सङ्कलन साइट ‘गो फन्ड मी’ मार्फत फाउन्डेसनले च्यारिटी सङ्कलन गरेको थियो । चन्दा उठेको ३ वर्षभन्दा बढी समय हुँदासम्म पनि केन्द्रलाई फाउन्डेसनले उक्त रकम बुझाएको छैन ।
ट्वीटर प्रयोगकर्ता समीर भण्डारीले आफ्नो ह्यान्डलमा लेखेका छन्, ‘बोयकट डियरवाक, बोयकट हाम्रो पात्रो ।’ त्यस्तै अर्का ट्वीटर प्रयोगकर्ता पौडेल राजेन्द्रले आफ्नो वालमा लेखेका छन्, ‘यो त हद भयो । महावीर पुनको नाम बेचेर पैसा उठाउने अनि अहिले अनेक बहानाबाजी गरेर दिन्न भन्न मिल्छ ?’ पुन र पाण्डेबीचको यो भनाभनपछि ट्वीटरमा‘अनस्टल हाम्रो पात्रो’को ट्रेन्ड सुरु भएको हो ।
अहिलेसम्म धेरैजनाले आफ्नो डिभाइसबाट हाम्रो पात्रो अन्स्टल गरिसकेको भन्दै शेयर गरिरहेका छन् । ट्वीटरमा उमाकान्त नाम रहेका प्रयोगकर्ताले आफूले हाम्रो पात्रो ‘अन्स्टल’ गरिसकेको भनेर लेखेका छन् । हाम्रो पात्रो नेपालकै सबैभन्दा बढी सदस्य भएको एप हो । नेपाली पात्रोसम्बन्धी जानकारी, राशीफल, समाचारलगायत सामाग्रीहरू राख्दै आएको एप एन्ड्रोइड भर्सनमै १ करोडभन्दा बढी डाउनलोड भएको छ । त्यस्तै आईओएस र विड्जेट भर्सनमा पनि नेपालबाट सबैभन्दा बढी डाउनलोड हुने एप हाम्रो पात्रो नै हो । ट्वीटरमा पछिल्लोपटक चलेको ट्रेन्ड ‘अन्स्टल हाम्रो पात्रो’ले एपको प्रयोगकर्ताहरू उल्लेख्य मात्रामा घट्ने देखिन्छ ।
खास के हो पुन र पाण्डेबीचकोलडाइँ ?
पाण्डेले केन्द्रको नाममा अमेरिकामा उठाएको रकम केन्द्रले कागजी प्रक्रिया पूरा नगरेको कारण अहिलेसम्म उपलब्ध गराउन नसकेको आफ्नो ट्वीटरह्यान्डलमा लेखेका छन् । ‘महावीरको आविष्कार केन्द्रलाई भनेर उठाएको पैसा ३ वर्ष अगाडि नै नेपाल पठाएर उनीसँग पैसा के मा खर्च गर्ने भनेर प्रोजेक्ट डकुमेन्ट मागियो । पुनले ‘म प्रोजेक्ट डकुमेन्ट दिन्न भनेर थर्काए’ नेपालका डियरवाकफाउन्डेसनको स्टाफलाई,' पाण्डेले लेखेका छन्, 'अमेरिकाको च्यारिटीबाट उठेको पैसा बिना डकुमेन्ट दिन मिलेन । अन्ततः तीन वर्षपछि पुनले कागज दिए ।'
कागज प्राप्तपछि समाज कल्याण परिषद्को अनुमतिको पर्खाइमा छ फाउन्डेसन । ‘महावीरको तुजुकको कारणले ढिलाइ भएको हो,’ पाण्डेले भनेका छन्, ‘महावीरले कागजपत्र नपुर्याइ चन्दा उठाएको पैसा गोजीमा हालेर हिँड्ने बानी छोडुन् ।’
उनको ट्वीटरमा रिप्लाइ गर्दै राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले लेखेका छन्, ‘डियरवाकको टिम राष्ट्रिय आविष्कार केन्द्रमा आएर पैसा ४ वर्ष पहिले नै नेपाल आइसकेको छ । आविष्कार केन्द्रको दर्ता, प्यान, कर चुक्ता, कर छुटको प्रमाणपत्र चाहिन्छ भनेर लिएर गएको हो । अनि हामीले त्यो पैसा कोरोनाको समयमा विभिन्न सामानहरू बनाउन प्रयोग गर्ने हो भनेको हो त । दिएनौ त ।’
पाण्डे र पुनको भनाभन व्यक्तिगत तहसम्म पनि उत्रिरहेको छ । ट्वीटरप्रयोगकर्ताहरू धेरैले पाण्डेलाई दोष लगाएका छन् भने कतिपयले उनको बचाऊ गर्दै महावीरलाई त्यसको दोष दिएका छन् ।
‘बहिष्कार संस्कार’
सामाजिक सञ्जालमा पछिल्लोपटक बोयकटको ट्रेन्ड निकै चल्न थालेको छ । नेपालमा यसअघि पनि विभिन्न समयमा बोयकट ट्रेन्ड चलेका थिए ।
केही समय अगाडि मात्रै काठमाडौं महानगरका मेयर बालेन्द्र साहको विपक्षमा लेखेको भन्दै अनलाइन पत्रिका सेतोपाटीलाई अनफलो गर्ने लहर चलेको थियो । त्योबेला थुप्रै फेसबुक प्रयोगकर्ताहरूले अनलाइनको फेसबुक पेजलाई अनफलो गरेका थिए ।
त्यस्तै रवि लामिछानेले मिडिया हाउसहरू विरुद्धमा बोलेपछि केही समय अगाडि कान्तिपुर लगायत देशका चल्तीका मिडिया हाउसको सामाजिक सञ्जाललाई अनफलो गर्ने ट्रेन्ड चलेको थियो । विश्वव्यापी रूपमा पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो ट्रेन्डलाई पछ्याइरहेको देखिन्छ ।
महावीर पुन र रुद्र पाण्डेबीचको पछिल्लो व्यक्तिगत भनाभनले गर्दा पाण्डे जोडिएको कम्पनी हाम्रो पात्रो पनि बहिष्कार संस्कारको मारमा परेको छ ।













