
काठमाडौं— नेपालमा प्रतिबन्धित अनलाइन जुवा वान एक्स बेट र त्यसको प्रोमो कोड प्रचार गरेको आरोपमा प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ ३२ गते ५ जना कलाकार र युट्युबर गरी ८ जनालाई पक्राउ गर्यो ।
पक्राउ पर्नेमा बल्छी धुर्बे नामले परिचित मरिचमान श्रेष्ठ, राजु मास्टर नामले चिनिने राजु पौडेल थिए । त्यस्तै, म्याकुरी नामबाट चर्चित पवन खतिवडा, कलाकार सरोज घिमिरे (ढेडु बुढो) र बेगम नेपाली (भटभटे माइला) तथा जलन घर्ती मगर, गणेश देवकोटा, युट्युबर एलिस राईलाई प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गर्यो । सोही अभियोगमा प्रहरीले असार १० गते अर्का युट्युबर राजकुमार थापा भनिने राजकुमार तामाङलाई पक्राउ गरेको छ ।
कलाकार तथा युट्युबर पक्राउअघि अपराध अनुसन्धान कार्यालयले वान एक्स बेट नेपालका मुख्य एजेन्ट भनिएका व्यक्तिहरू पक्राउ गरेको थियो । मुख्य एजेन्टहरूले ७४ करोड १३ लाख ५० हजार रुपैयाँ बराबर कारोबार गरेको दाबी प्रहरीको छ । अदालतबाट म्याद थप गरी प्रहरीले उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको छ । वान एक्स बेट र त्यसको प्रोमो कोड प्रचार गरेबापत कलाकार तथा युट्युबरले २ देखि ४० लाख रुपैयाँसम्म लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मुख्य व्यक्ति ढेडु
कलाकारलाई वान एक्स बेटको प्रचारप्रसार गर्न लगाउने मुख्य व्यक्ति भने सरोज घिमिरे (ढेडु बुढो) भएको तथ्य खुलेको छ । उनले वान एक्स बेट तथा त्यसको प्रोमो कोड प्रचार गरेबापत ४० लाख रुपैयाँ लिएको तथ्य खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
त्यस्तै, पक्राउ परेका अर्का कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले वान एक्स बेटको प्रचार गरेबापत १२ लाख रुपैयाँ लिएको खुलेको छ ।
‘सरोजले आफूले पनि प्रमोट गरिरहेको र त्यसले कानुनी रूपमा खासै फरक नपर्ने भन्दै प्रमोट गर्न भने,’ मरिचमानको बयान उद्धृत गर्दै स्रोतले भन्यो ।