News Griha :: न्यूजगृह
इलाम २: कांग्रेस, एमाले, रास्वपा, राप्रपासहित पहिचान पक्षधर पनि चुनावी मैदानमा

काठमाडौं— इलाम क्षेत्र नम्बर- २ मा हुने उपनिर्वाचनले राजनीतिक दलको सक्रियता बढेको छ। जिल्लामा क्रियाशील दल उपनिर्वाचनमा आफ्नो पार्टीलाई अब्बल बनाउने गृहकार्यका साथ मतदाता नजिक पुग्न थालेका छन् भने यो उपनिर्वाचनमा इलाममा स्वतन्त्र उम्मेदवारको संख्या पनि बढ्ने देखिएको छ।

सत्तारुढ नेकपा एमालेमा जिल्ला कमिटीबाट सिफारिस भएका ६ जनाको नाम प्रदेश कमिटीबाट अनुमोदनसहित केन्द्रीय कमिटीमा पठाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि क्षेत्रीय समितिले सात जनाको नाम सिफारिस गरेर प्रदेश समितिमा पठाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार चयनको गृहकार्यमा छन् भने पहिचान पक्षधर तथा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी घोषणाको सिलसिला सुरु गरेका छन्। 

एमालेका ६ उम्मेदवार

सत्तारुढ नेकपा एमालेले इलाम क्षेत्र नम्बर- २ को उपनिर्वाचनका लागि ६ जना उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ। 

एमाले कोशी प्रदेश कमिटीको मंगलबारको बैठकले जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेर पठाएका ६ जना उम्मेदवारको नामलाई केन्द्रमा पठाउने निर्णय गरेको हो। 

प्रदेश कमिटीले सुहाङ नेम्वाङ, बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, डा. देवी क्षेत्री दुलाल र रिपल राईको नाम सिफारिस गरी केन्द्रमा पठाउने निर्णय गरेको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए। खतिवडाका अनुसार यी ६ वटै नाम जिल्लाबाट सिफारिस भएर आएका थिए। 

प्रदेशबाट सिफारिस भएर केन्द्रमा आएका नामका आधारमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाउने उनले बताए। 

यता नयाँ समीकरण बनेपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि इलाम- २ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले साथ दिए आफू उम्मेदवार बन्न तयार रहेको न्यूजगृहलाई बताए। 

खनालले नेकपा एकीकृत समाजवादीबाट मात्रै चुनावमा नजाने उल्लेख गर्दै वर्तमान गठबन्धनबाट साझा उम्मेदवारका रुपमा प्रस्ताव आए पछि नहट्ने बताए। उनले कांग्रेसकै नेताहरूले पनि सहयोग गर्ने आश्वासन दिएको न्यूजगृहलाई सुनाए। 

उनले भने, ‘अहिले इलामको अवस्था सुन्दा, इलामेको भावना बुझ्दा इलामे जनताले मलाई सम्झिरहेका छन्। केही दिन अघि म इलाम गएका बेला त्यहाँ भेटिने जनता तथा कांग्रेसकै साथीहरूले पनि मेरो उपस्थितिको बारेमा भन्नुभयो। नेता भनेको प्रतिद्वन्द्वी मान्यौँ। त्यसको होइन रहेछ। नेता विकास र समृद्धिका लागि रहेछ। मैले नेपाली कांग्रेसका नेतासँग पनि भेटेँ उहाँहरूले मलाई भन्नुभयो। हामीले नै तपाईंलाई हरायौँ। तर त्यो कमजोरी भएछ। तपाईं हामीलाई चाहिने मान्छे हुनुहुँदो रहेछ भन्नुभएको छ।’ 

कांग्रेसकै नेताहरूले चुनावमा साथ दिने आश्वासन दिएको पनि खनालले बताए। उनले भने, ‘यदि इलाम- २ मा चुनाव लड्नेगरी तपाईं आउनुहुन्छ भने हामीले पनि तपाईंलाई सहयोग गर्छौँ भन्नुभएको छ।’ अब इलाम– २ बाट देशका लागि केही गर्न सक्ने साझा उम्मेदवारले जित्ने दावी खनालको छ। उनले भने, ‘मेरो विचारमा साझा उम्मेदवार गए बामपन्थी शक्तिले अहिले पनि जित्न सक्छ। र ०८४ को निर्वाचनमा दुइटै निर्वाचन जित्छ। तर अहिले पार्टीभित्र मात्र उम्मेदवार बनाउने वा प्रतिस्पर्धा गराउने भन्ने सोचका साथ गए बामपन्थीले एक सिट गुमाउँछ र आउने निर्वाचनमा दुई सिट गुमाउने निश्चित छ।’

यता नेकपा एमालेको प्रदेश कमिटीले इलामसँग सीमा जोडिएका जिल्लाबाट निर्वाचनका लागि सहयोग गर्ने निर्णय गरेको छ। एमालेले नै जितेको क्षेत्र भएका कारण गठबन्धन दलले पनि एमालेलाई नै सहयोग गर्ने हुँदा जित्ने गरी तयारी गर्नुपर्ने प्रदेश कमिटीमा निर्णय भएको छ। 

कांग्रेसका सात उम्मेदवार, पहिलो नम्बरमा आचार्य

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा क्षेत्रबाट सात उम्मेदवारको सिफारिस भएको छ। नेपाली कांग्रेस क्षेत्रीय समितिले उपनिर्वाचनका लागि सात जनाको नाम सिफारिस गरेको हो। मंगलबारको क्षेत्रीय समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो हुने गरी सात जनाको नाम सिफारिस गरेको नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर- २ का सभापति डिकेन्द्र इदिङ्गोले न्यूजगृहलाई जानकारी दिए। 

सात जना उम्मेदवारमध्ये पहिलो नम्बरमा नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहेका नेता भेषराज आचार्य छन्। बैठकमा भएको छलफलबारे जानकारी दिँदै इदिङ्गोले भने, ‘पार्टीको विधानले क्षेत्रीय समितिलाई तीन जनाको नाम सिफारिस गर्ने अधिकार दिएको छ। सोही विषयलाई केन्द्रमा राखेर हामीले छलफल गर्‍यौँ। छलफलका क्रममा विधान अनुसार नै सर्वसम्मत प्रयास र बहुमतका आधारमा सिफारिस गर्ने विषयमा पनि कुराकानी भयो। त्यसपछि सबैले भेषराज आचार्यलाई पहिलो नम्बरमा राखेर सिफारिस गराउने सहमति जुटायौँ।’   

Nepali_Congresh_Ilam-1710898961.png
आचार्यपछि दोस्रो नम्बरमा नेपाली कांग्रेस इलामका पूर्वसभापति, पूर्वमन्त्री केशव थापा, वर्तमान सभापति डम्बरबहादुर खड्का, नरेन्द्र कुमार र रमेश लिङ्देनको नाम सिफारिस गरेको छ। त्यस्तै तेस्रो नम्बरमा चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेको छ। 

इदिङ्गोले मंगलबारको बैठकमा सहभागी ८५ सदस्यबाट यो निर्णय भएको बताए। उनले भने, ‘विधानले प्रतिनिधि सभा सांसदको उम्मेदवार छान्ने जिम्मा क्षेत्रीय कार्यसमितिलाई दिएको छ। उम्मेदवार छान्ने बैठकमा को-को बस्न पाउने भन्ने व्यवस्था पनि छ। क्षेत्रीय समिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि बस्ने व्यवस्था छ। यी सबै समितिमा हामी ८७ जना रहेछौँ। दुई जना अनुपस्थित हुँदा ८५ जना बैठकमा सहभागी थियौँ। वृहत छलफलपछि यो निर्णयमा पुगेका हौँ। यही सिफारिसका आधारमा केन्द्रले उम्मेदवार तय गर्छ भन्ने हामीलाई लागेको छ। हामीले इलाम क्षेत्र नम्बर- २ का मतदाताको मनोभावलाई समेटेर उम्मेदवार चयन गरेकाले नतिजा हाम्रो पक्षमा आउनेमा ढुक्क छौँ।’

क्षेत्रीय समितिले गरेको सिफारिसलाई अब जिल्ला समितिले टिप्पणीसहित प्रदेशमा पठाउने र प्रदेश समितिले पनि राय टिप्पणीसहित केन्द्रमा पठाउने व्यवस्था रहेको उनले बताए। ‘नेपाली कांग्रेसको पार्टी विधान २०७५ को धारा ३२ को उपधारा ८‘क’ले सकेसम्म उम्मेदवार सहमतिमा टुंग्याउनु, नसके बहुमतले टुंग्याउनु भनेको छ। त्यो काम हामीले गरिसक्यौँ। अब सोही धाराको उपधारा ८ ‘ख’ अनुसार जिल्ला समितिले राय सुझावसहित प्रदेशमा पठाउनेछ। अनि प्रदेशले पनि आफ्नो राय सुझाव थपेर केन्द्रमा पठाउनेछ।’

पार्टीभित्र र बाहिर दुवै ठाउँमा आचार्यको जनमत रहेकाले जिल्ला, प्रदेश र केन्द्रले उनकै नाम सिफारिस गर्ने इदिंङ्गोले बताए। उनले भने, ‘इलाम क्षेत्र नम्बर-२ का मतदाता अलिक फरक छन्। हामीले क्षेत्रगत रुपमा पटक पटक मत सर्वेक्षण गरेका छौँ। सर्वेक्षणका क्रममा उनीहरूले पहिले राम्रो उम्मेदवार छानेर आउनुहोस् हामी भोट हाल्छौँ भन्नुभएको छ। सोही सुझावलाई क्षेत्रीय समितिले अवलम्बन गरेको हो।

प्रदेशको नामसँगै पहिचानको विषय पेचिलो बन्दै आएको सुनाउँदै उनले पहिचानका पक्षमा रहेका नेताहरू पनि उम्मेदवारको सूचीमा रहेको बताए। ‘पार्टीमा योगदान पुर्‍याउने, जनमतले मागेको, राजनीतिक एजेण्डालाई स्थापित गर्न सक्ने, पहिचान पक्षधरसँग काम गर्ने सबैलाई मिलाएर हामीले सिफारिस गरेका छौँ। अब केन्द्रबाट अनुमोदन भएर आएपछि यस क्षेत्रका सबै मुद्दा समाधान गर्दै कांग्रेसको उम्मेदवारलाई जिताउन लाग्नेछौँ,’ उनले भने। टिकट नपाएपछि अन्तर्घातको सम्भावना बारेको प्रश्नमा उनले भने, ‘हामीले सबैको राय, विचार र मत बुझेका छौँ। अहिले पनि क्षेत्रीय समितिमा वृहत छलफल भएको छ। गहन छलफलबाट गरिएको निर्णय भएकाले यसमा कसैको फरक मत नै छैन। त्यसमा पनि केन्द्रको निर्णय मान्ने हामीबीच समझदारी छ।’ 

पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र

पहिचान पक्षधरका तर्फबाट इलाम- २ मा डकेन्द्रसिंह थेगिम लिम्बू साझा उम्मेदवार बनाउनेका छन्। प्रदेश १ पुनः नामांकन सयुक्त संघर्ष समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरी थेगिमलाई साझा उम्मेदवार घोषणा गरेका थिए। 

थेगिमलाई उम्मेदवार घोषणा गर्दै किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्लेन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, पहिचानसहितको प्रदेश नं १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किराँत राई यायोक्खाका अध्यक्ष जीवन राई र नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले संयुक्त वक्तव्य नै जारी गरेका छन्।

वक्तव्यमा भनिएको छ, ‘इलाम क्षेत्र नम्बर- २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको विगत २०७९ फागुन १७ गतेबाट जारी आन्दोलनको अग्रपङ्क्तिमा सशक्त नेतृत्व गर्दै आउनुभएका संघर्ष समितिका वर्तमान अध्यक्ष डकेन्द्रसिंह लिम्बूलाई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम्मेदवार घोषणा गरिएको सार्वजनिक गर्दछौँ।’

Dakendra_Thegim1-1710912224.jpg

थेगिमले चुनावको तयारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न थालेको बताएका छन्। अहिले इलाम बरबोटेको बिब्लाँटे पुगेका थेगिम अब क्रम मतदातासँग नजिकिन गाउँघर छिर्ने योजनामा रहेको बताउँछन्। 

इलाम सदरमुकाममा सम्पर्क तथा प्रचार कार्यालय खोलेर आफ्ना चुनावी गतिविधि व्यवस्थित बनाउने थेगिमले बताए। यसअघि चुलाचुलीमा स्थानीयवासी कै चाहना अनुसार गरिएको कार्यक्रममा भएको सहभागिताले उत्साहित बनाएको बताउँदै उनले अब इलाम बजार केन्द्रित कार्यक्रम अघि बढाउने बताए।  

थेगिमले युवा दस्ता गठनको तयारी रहेको भन्दै आगामी १० गते इलाम बजारबाट युवा दस्ता सार्वजनिक गर्ने बताए। थेगिम पहिचानसहितको ‘प्रदेश नं १ पुनः नामकरण अभियान समिति’ का संयोजक हुन्। किराँत धर्म तथा साहित्य उत्थान संघको अध्यक्ष थेगिम लामो समयदेखि किराँत धर्म तथा साहित्य, उत्थानका लागि काम गर्दै आएका छन् ।

कोशी प्रदेश नामकरणसँगै पहिचानवादीले थालेको आन्दोलनको नेतृत्व गर्दै आएका उनी किराँत धर्म गुरु आत्मानन्द लिङदेनका विश्वास पात्र मानिन्छन्।

राप्रपाले लक्ष्मी गुरुङलाई उठाउने तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिने तीव्र गृहकार्य गरिरहेको छ। 

राप्रपपाले रवीन्द्र लिङदेनलाई चुनावी गतिविधि बढाउन इलाम पठाएको छ। फागुन २८ गते केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट इलाममा हुने उपनिर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको राप्रपाले कोशी प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षलाई उम्मेदवारको सिफारिस गर्न भनेको छ। 

सोही निर्णय अनुसार झापाको हल्दीबारी गाउँपालिकाका अध्यक्षसमेत रहेका पार्टीका नेता रवीन्द्र लिङ्देन अहिले चुनावी अभियानका क्रममा इलाम क्षेत्र नम्बर- २ मा छन्। उनले इलाममा उपनिर्वाचन लक्षित विभिन्न कार्यक्रम र भेटघाट गरिरहेका छन्।   

लिङ्देनले चैत १२ गतेभित्रमा उम्मेदवार टुंग्याउने गरी गृहकार्य भइरहेको बताए। उनले भने, ‘अहिले इलामको माहौल फेरिएको छ। त्यहाँका मतदाताले ३६ वर्षदेखि कांग्रेस र एमालेलाई भोट हाल्दै आउनुभएको हो। जनताले चुनेका नेता देशको सम्मानित पदमा पुगे पनि काम नगरेको गुनासो उहाँहरूमा रहेछ। हामी उहाँहरूको गुनासो सम्बोधन गर्ने गरी उपस्थित हुनेछौँ। राप्रपा आशावादी छ। इलामको उपनिर्वाचनबाट नयाँ र सकारात्मक सन्देश राप्रपाले दिने छ।’ 

लिङ्देनका अनुसार कोशी प्रदेश प्रमुख राम थापासहितको टोली चैत १२ गते इलाम जाने र सोही दिन उम्मेदवार टुंग्याउन सक्ने सम्भावना छ। उपनिर्वाचनमा राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने तयारी गरेको छ। पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएका उनी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनकी पूर्वउपाध्यक्ष हुन्। 

उम्मेदवार छनोट प्रक्रियामा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी भने उपनिर्वाचनका लागि उम्मेदवार छनौटको प्रक्रियामा छ। रास्वपाले चैत ६ गते मंगलबारदेखि आगामी चैत १४ गतेसम्मलाई उम्मेदवारी दर्ताको समय तोकेको छ। उम्मेदवार चयन गर्न पार्टी विधानको धारा ७१ बमोजिम प्रारम्भिक निर्वाचन कार्यक्रम नै तय गरेको छ। जसअनुसार उम्मेदवारी दर्ता चैत ६ देखि १४ गते, दिउँसो एक बजेसम्मलाई तोकिएको छ। 

RSP-1710912379.jpg

त्यस्तै प्रारम्भिक उम्मेदवारको नामावली चैत १४ गते, साँझ ८ बजे सार्वजनिक गरिने कार्यतालिका छ। प्रारम्भिक उम्मेदवारमाथिको दाबी विरोधका लागि चैत १४ देखि १५ गते बिहान एक बजेसम्मलाई समय तय गरिएको छ। त्यस्तै चैत १५ गते साँझ पाँच बजेसम्म उम्मेदवारसँग छलफल गर्ने कार्यक्रम छ। 

उम्मेदवारको अन्तिम नामावली चैत १५ गते साँझ ८ बजे सार्वजनिक हुने छ भने मतदानसहितको निर्णय चैत १६ गते साँझ ७ बजेसम्ममा हुनेछ। त्यसपछि चैत १७ गते दिउँसो एक बजे नतिजा प्रकाशन गरिने रास्वपाले जनाएको छ।

स्वतन्त्र उम्मेदवार मिलन लिम्बू

काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका मिलन लिम्बूले इलाम- २ को उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर विगतका प्राप्त उपलब्धि रक्षा गर्दै इलामको विकास र समृद्धिका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन्। आम नागरिक र मतदाताको मनोभाव बुझ्दै चुनावी मैदानमा उत्रने बताएका छन्। विगतदेखि नै नेता चुन्ने जनता जहाँको तहीँ र जनताले भोग्ने दुःख उस्तै रहे पनि जननिर्वाचित नेतामात्र समृद्ध बन्ने परम्परालाई तोड्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको लिम्बूले बताए। 

Milan_Limbu-1710912308.jpgअहिले उनी चुनाव केन्द्रित छलफलमा जुटेका छन्। उनी भन्छन्, ‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्न मलाई इलाम–२ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन्। म इलामको माटोको कसम खाएर भन्छु, अन्तिम श्वास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु।’

निर्वाचनमा जितहार स्वभाविक भएको बताउँदै उनले राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहने बताए। उनले अब जीवनभर इलाम र इलामे जनताको सेवक भएर काम गर्ने बताए। 

किरात मोर्चाले बहिष्कार गर्ने

राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिँदा किरात मोर्चाले भने इलाम- २ मा हुने उपनिर्वाचन बहिष्कार गर्ने भएको छ। मोर्चाका अध्यक्ष मिसेकहाङ किरातले प्रेस विज्ञप्ति जारी गर्दै आसन्न उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन्। कोशी प्रदेश नामकरण भएकै समयमा हुने सम्पूर्ण निर्वाचन प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेको मोर्चाले शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ।

कोशी नाम खारेजी, अधिकार सम्पन्न किरात राज्यको स्थापनाको माग गर्दै आन्दोलनरत मोर्चाले प्रदेशको नाम ‘किरात’ राख्नुपर्ने माग गरेको छ। 

इलाम- २ बाट प्रतिनिधि सभामा निर्वाचित नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। यो क्षेत्रमा नेम्वाङले नेपाली कांग्रेस इलाम सभापति डम्बरबहादुर खड्कालाई ११४ मतले पराजित गरेका थिए। 

 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १३:०१
Weather Update