
काठमाडौं— वैशाख १५ गते हुने उपनिर्वाचनका लागि तयारी तीव्र छ। इलाममा नेकपा एमालेलाई सबैभन्दा धेरै निर्वाचनले छोएको छ। उम्मेदवार छान्न कार्यदल नै बनाएर एमालेले गृहकार्य गरिरहेको छ भने कांग्रेसले जित्ने उम्मेदवार छान्ने दावी कांग्रेसका जिल्ला सभापति डम्बर खड्काको छ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि एमालेको साथ पाए इलाम–२बाट उम्मेदवार बन्ने संकेत गरेका छन्।
न्यूजगृहसँगको कुराकानीमा खनालले नेकपा एकीकृत समाजवादीबाट मात्रै चुनावमा नजाने उल्लेख गर्दै वर्तमान गठबन्धनबाट साझा उम्मेदवारका रुपमा प्रस्ताव आए पछि नहट्ने बताए। उनले कांग्रेसकै नेताहरूले पनि सहयोग गर्ने आश्वासन दिएको सुनाए।
उनले भने, ‘अहिले इलामको अवस्था सुन्दा, इलामेको भावना बुझ्दा इलामे जनताले मलाई सम्झिरहेका छन्। केही दिन अघि म इलाम गएका बेला त्यहाँ भेटिने जनता तथा कांग्रेसकै साथीहरूले पनि मेरो उपस्थितिको बारेमा भन्नुभयो। नेता भनेको प्रतिद्वन्द्वी मान्यौँ। त्यसको होइन रहेछ। नेता विकास र समृद्धिका लागि रहेछ। मैले नेपाली कांग्रेसका नेतासँग पनि भेटेँ उहाँहरूले मलाई भन्नुभयो। हामीले नै तपाईंलाई हरायौँ। तर त्यो कमजोरी भएछ। तपाईं हामीलाई चाहिने मान्छे हुनुहुँदो रहेछ भन्नुभएको छ।’
कांग्रेसकै नेताहरूले चुनावमा साथ दिने आश्वासन दिएको पनि खनालले बताए। उनले भने, ‘यदी इलाम-२मा चुनाव लड्नेगरी तपाईं आउनुहुन्छ भने हामीले पनि तपाईंलाई सहयोग गर्छौं भन्नुभएको छ।’
अब इलाम–२ बाट देशका लागि केही गर्न सक्ने साझा उम्मेदवारले जित्ने दावी खनालको छ। उनले भने, ‘मेरो विचारमा साझा उम्मेदवार गए बामपन्थी शक्तिले अहिले पनि जित्न सक्छ। र ८४ को निर्वाचनमा दुइटै निर्वाचन जित्छ। तर अहिले पार्टीभित्रमात्र उम्मेदवार बनाउने वा प्रतिस्पर्धा गराउने भन्ने सोचका साथ गए बामपन्थीले एक सिट गुमाउँछ र आउने निर्वाचनमा दुई सिट गुमाउने निश्चित छ।’
यो वास्तविक अवस्था भएको भन्दै खनालले अहिलेको ठूलो शक्तिका रुपमा रहेको एमालेले सोचविचार गर्नुपर्नेब ताए। उनले भने, ‘अब बामपन्थी दलहरूले गम्भीरताका साथ सोच्न जरुरी छ। त्यसमा पनि सबैभन्दा ठूलो बामपन्थी दल नेकपा एमाले नै हो। एमालेले अहिलेको चुनाव र आगामी चुनाव दुवैका लागि गम्भीरताका साथ सोचेर एकीकृत निर्णय गर्न आवश्यक छ।’
एमालेले साझा उम्मेदवारका रुपमा प्रस्ताव गरे आफू उम्मेदवार बन्न तयार भएको बताउने खनालले उपनिर्वाचनलाई केन्द्रमा राखेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने कुनै कुरा नभएको बताए। ‘यदी एमालेले पनि साझा उम्मेदवारका रुपमा तपाईं जानुहोस् भन्छ भने म जान्छु। हामीबीच विभिन्न विषयमा छलफल त भइरहेको छ। छलफल नभए यत्रो गठबन्धन नै परिवर्तन सम्मको कुरा कसरी सम्भव भयो र। तर निर्वाचनकै विषयमा अहिलेसम्म छलफल भएका छैनन्।’
यसअघि इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित हुँदै आएका खनाल २०७९ सालको निर्वाचनमा एमाले नेता महेश बस्नेतसँग पराजित भएका थिए। बस्नेतले २५ हजार सात सय ५३ पाउँदा खनालले २३ हजार ८९ मत ल्याएका थिए।