News Griha :: न्यूजगृह
उम्मेदवारी घोषणादेखि उपनिर्वाचन बहिष्कारसम्म, यस्तो छ दलहरूको इलाम-२ मा तयारी 

विराटनगर— वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दिन विभिन्न राजनीतिक दलले तयारी तीव्र बनाएका छन्। केही दलले आकाङ्क्षीहरूबाट निवेदन लिइसकेका छन् भने केहीले निवेदन दिन सूचित गरेका छन्। आकाङ्क्षीहरूको निवेदन परेपछि पार्टीको विभिन्न तह हुँदै केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्ने तयारी दलहरूको छ। पछिल्लो पटक नेपाली कांग्रेसले आकाङ्क्षीहरूबाट प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ। उक्त क्षेत्रको पार्टी क्षेत्रीय कार्य सम्पादन समितिको बैठकले चैत ५ गते साँझ ५ बजेसम्म इच्छुक उम्मेदवारहरूले समितिमा निवेदन दिन सूचित गरेको हो।

निवेदनमा आवश्यक कागजात र आफू उम्मेदवार हुनका लागि निश्चित विवरण माग गरिएको जनाइएको छ। कांग्रेस क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार उम्मेदवारीको निवेदनमा एकजना प्रस्तावक र एकजना समर्थक, राजनीतिक वैयक्तिक विवरण, पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण रूपले सक्रिय रहने प्रण सहितको प्रतिबद्धता पत्र माग गरिएको छ। निवेदन परेपछि पार्टीको माथिल्ला निकाय हुँदै केन्द्रीय समितिमा नाम सिफारिस गर्ने तयारी पार्टीले गरेको छ।

इलाम–२ मा हुने उपनिर्वाचनका लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, पूर्वसांसद केशव थापा, महासमिति सदस्य भेषराज आचार्य, युवा नेता नगेन्द्र कुमाललगायतको नाम उम्मेदवारका रुपमा चर्चामा छ। उक्त क्षेत्रबाट निर्वाचित नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष, तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो।  उनको निधनपछि रिक्त रहेको प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।

२०७९ सालको निर्वाचनमा नेम्वाङ प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डम्बर खड्काभन्दा १ सय १४ मत बढी ल्याएर निर्वाचित भएका थिए। उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार घोषणा गरेको छैन। पार्टीले आकाङ्क्षीहरूको निवेदन माग गर्दा नेम्वाङ पुत्र सुहाङ, नेता नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाललगायत ६ जनाले निवेदन दिएका छन्।  उनीहरूमध्येबाट जिल्ला कमिटीले केन्द्रमा नाम सिफारिस गर्ने तयारी गरेको छ।

नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारबारे केही निर्णय गरेको छैन। केन्द्रमा नयाँ गठबन्धन बनेपछि संयुक्त उम्मेदवार उठाउने चर्चा चले पनि दलहरूले यसबारे कुनै निर्णय गरेका छन्। यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उक्त क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ। कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो भइनसकेको पार्टीले जनाएको छ। 

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि उक्त क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ। पार्टीको कोशी प्रदेश समितिले जिल्ला समितिसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । राप्रपाबाट लक्ष्मी गुरुङ उम्मेदवार बन्ने चर्चा छ ।

निर्वाचन आयोगले इलाम–२ उपनिर्वाचनका लागि कार्यक्रम तालिका सार्वजनिक गरिसकेको छ। त्यसअनुसार चैत २४ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ। यसैबीच, उपनिर्वाचनमा स्वतन्त्र स्वतन्त्र उम्मेदवारी दिने मिलन लिम्बुले घोषणा गरेका छन्।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन्। किरात मोर्चाले भने उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ। मोर्चाका अध्यक्ष मिसेकहाङ किरातले विज्ञप्ति प्रकाशन गर्दै उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन्। 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १८:१६
Weather Update