News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मिर्गौला प्रत्यारोपणपछि ‘जवान’ बनेका झलनाथ

काठमाडौं— सरकारको नेतृत्व कम्युनिस्ट दल नेकपा माओवादी केन्द्रले नै गरिरहेका बेला अर्को ठूलो कम्युनिस्ट पार्टी नेकपा एमाले प्रमुख प्रतिपक्षी दल थियो। त्यो समय सत्ता पक्ष र प्रतिपक्षीको कित्तामा उभिएर कम्युनिस्टहरुबीच एक–अर्काको आलोचना गर्ने प्रतिस्पर्धा चल्थ्यो। सत्तामा हुनेले आफ्नो प्रशंसा गर्थे। प्रतिपक्षमा हुनेले सरकार र सत्तासीनको आलोचना गर्न कुनै कसर बाँकी राख्दैन थिए।  

तर फागुन २१ गते फेरिएको समीकरणसँगै प्रमुख भनिएका कम्युनिस्ट पार्टी र तिनका नेता सक्रिय बन्न थालेका छन्। अहिले भइरहेको बहस छ अब वाम एकता! लोकतान्त्रिक वामपन्थी शक्तिबीच कार्यगत एकता भएको बताउने भन्दै केही कम्युनिस्ट नेताहरु हौसिएका छन्। उनीहरु अहिलेको कार्यगत एकतालाई वैचारिक एकताको आधार बनाएर लिएर शक्तिशाली वामपन्थी दल बनाउने भन्ने ‘अभियान’मा लागेका छन्। 

यही समीकरणले नेताहरूको दैनिकी फेरिएको छ। काम गर्ने शैली फेरिएको छ र शक्तिशाली दल बनाउने गृहकार्यसहितको भेटवार्ता र तयारी बढ्न थालेको छ। नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनाल यतिबेला नयाँ बनेको समीकरणलाई व्यवस्थित बनाउँदै शक्तिशाली कम्युनिस्ट पार्टी बनाउनु पर्छ भन्ने ध्याउन्नमा छन्। यसअघिको गठबन्धन परिस्थितिले तयार भए पनि विचार नमिल्ने शक्तिबाट बनेकाले जुनसुकै बेला भत्कन्छ भन्नेमा ढुक्क रहेका खनाल अब बनेको गठबन्धनले देशमा नयाँ सञ्चार प्रवाह गर्ने सम्भावना देख्दै राजनीतिक गतिविधिमा सक्रिय छन्। 

Prabhu Bank

स्वास्थ्य समस्याका कारण विगतमा केही समय निस्क्रिय भएका खनालको दैनिकी अहिले फेरिँदै गएको छ। नयाँ राजनीतिक सम्भावनाका लागि विभिन्न गतिविधिमा सक्रिय हुन थालेका छन्। शुक्रबार न्यूजगृहको टिम खनाल निवास डल्लु पुग्दा उनी भेटघाटमा सक्रिय थिए। अहिलेको सत्ता समीकरणलाई वाम एकताको पहिलो खुड्किलो मान्ने खनालले आफ्नो स्वास्थ्यसँगै खण्डिकृत बनेको वामशक्तिलाई एकीकृत बनाउने सपना बोकेर अघि बढ्न थालेको सुनाए। 

पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले आफ्नो व्यक्तिगत जीवन भोगाइ र अनुभव तथा राजनीतिक यात्राका आरोहअवरोध न्यूजगृहसँग साटेका छन्। 

JN_Khanal3-1710504833.jpg
स्वास्थ्य मजबुद, ६/६ महिनामा स्वास्थ्य जाँच गर्न सुझाव
यतिबेला खनालको स्वास्थ्य मजबुद छ। उनी अहिले १५ वर्ष अघिको जस्तो अनुभूत हुने गरेको बताउँछन्। कोरोना संक्रमण भएपछि गरिएको स्वास्थ्य जाँचबाट मिर्गौलामा समस्या रहेको थाहा पाएका खनालले राम्रो उपचार पाएर मात्र आफू जीवित रहेको बताए। 

‘मलाई थाहा पत्तै नभइ मिर्गौलाको बिरामी भएको रहेछु। मिर्गौलाको बिरामी भएपछि मान्छेको सबै क्षमताको ह्रास आउँदो रहेछ। काम गर्न, लेख्न, पढ्न, सिर्जनात्मक काम गर्ने सबै जाँगर हराउँदो रहेछ। म कमजोर भएको कुरा चाहिँ मलाई थाहा थियो। तर किन भइरहेको छ भन्ने त मलाई थाहा थिएन। त्यही बेला कोभिडको संक्रमण थियो। मलाई कोभिडले पनि हान्यो। कोभिडको संक्रमणले फोक्सो र मिर्गौलामा प्रहार गर्‍यो। म जीवनको अन्तिम क्षणमा पुगेँ। त्यही बेला मैले भारतको एपोलो अस्पतालमा उपचार गराएँ। सायद मेरो उपचारमा थोरै लापरबाही भएको भए वा केही ढिला भएको भए म पशुपति नै पुग्थेँ। एपोलोको उपचारले मलाई सुरक्षित बनायो।’

शारीरिक, मानसिक रुपमा कमजोर भएका उनलाई एपोलो अस्पतालमा ९ जना डाक्टरको टिमले उपचार गरेको रहेछ। आफू २/४ महिनादेखि नै पढ्न मन नलाग्ने, लेखनमा ध्यानै जनाने, महत्त्वपूर्ण कुरा भइराख्दा पनि आफ्नो ध्यान एकीकृत नहुने कारण डाक्टरलाई सोध्दा त्यो मिर्गौला खराबीका कारणले रहेको थाहा पाएको खनालले सुनाए। 

डाक्टरसँगको परामर्श र छलफलबाट स्वास्थ्यबारे धेरै सुझाव र ज्ञान लिएको तथा मिर्गौलाको गम्भीर समस्या थाहा पाएपछि एपोलो अस्पतालमै मिर्गौला प्रत्यारोपण गरेको खनाल बताउँछन्। मिर्गौला प्रत्यारोपणपछि भने उनी तन्दुरुस्त छन्। आफूमा प्राप्त नयाँ तन्दुरुस्तीको अनुभव सुनाउँदै उनले भने, ‘मिर्गौलाको प्रत्यारोपणले कसैकसैलाई सामान्य नै हुँदो रहेछ। कसैकसैलाई धेरै राम्रो। म धेरै राम्रो हुनेमा परेँ। अहिले त मलाई नयाँ उर्जा मिलेको छ। म १५ वर्षअघिको जस्तो भएको छ। म अब म्याराथनमा भाग लिन सक्छु जस्तो भएको छ। म शारीरिक तथा मानसिक दुवै रुपले तन्दुरुस्त भएको छु। त्यसैले मेरो हेल्थ धेरै हिसाबले मजबुद बनेको छ।’

स्वास्थ्य परीक्षण नगराएकै कारण धेरै नेपाली रोगले गम्भीर रुपमा च्यापेपछि मात्र अस्पताल पुग्दा उपचार सम्भव नहुने गरेको महसुस गरेका खनाल अवस्था अनुसार ६/६ महिनामा स्वास्थ्य परीक्षण गर्न सुझाउँछन्। उनी भन्छन्, ‘तपाईंको नजिक स्वास्थ्य चौकी, अस्पताल वा कुनै स्वास्थ्य केन्द्र छ भने स्वास्थ्यको अवस्था थाहा पाउन चेक जाँच गर्नुहोस्। कम्तीमा ६/६ महिनामा एक पटक जाँच गरियो भने धेरै सजिलो हुन्छ। समयमै रोगको पहिचान भयो भने उपचार गर्न पनि सजिलो हुन्छ।’

नेपालमा खाद्यान्नमा विषादी बढी भएपछि नयाँ नयाँ रोगको संक्रमण हुने गरेको खनाल बताउँछन्। ‘नेपालमा स्वास्थ्य समस्याका बारेमा म पहिलेदेखि नै अलि सचेत थिएँ। लामो समय अस्पताल बसाइले मैले त्यही विषयमा पनि अध्ययन गरेँ। हाम्रो गाउँठाउँ तथा बसोबास भएका क्षेत्रमा खाद्यान्नमा विषादीको प्रयोग बढेको छ। यो रोक्न जरुरी छ। यसका लागि सरकारले नै पहल गर्नुपर्छ। नत्र धेरै नेपालीले स्वास्थ्य समस्याकै कारण दु:ख पाउँछन्।’

योग, साधना र दैनिक हिँडाइ
आफूलाई स्वस्थ राख्न खनालले दैनिकीलाई व्यवस्थित बनाएका छन्। बिहान ५ बजे उठ्ने खनालको दिनको सुरुवात आफ्नै स्वास्थ्यको रेखदेखबाट सुरु हुन्छ। उनी उठेपछि योगाभ्यास गर्छन्। आधा घण्टाको समय योगका लागि छुट्याएका खनालले शारीरिक कसरतसँगै ध्यान पनि गर्छन्। 

त्यसपछिको समय खनालले लेखपढलाई छुट्याएका छन्। बिहानको समय लेखपढ गर्न उनलाई उपयुक्त लाग्छ। त्यसपछि आधादेखि एक घण्टाको मर्निङवाकमा निस्कन्छन्। मर्निङवाकबाट फर्किएपछि घरमा आएका पत्रपत्रिका पढ्ने, आफूलाई अपडेट गराउने, फोनसम्वादसहित पार्टीका काममा खटिने दैनिकी खनालको छ। निष्क्रिय जीवनले रोग निम्त्याउने भन्दै खनाल शारीरिक सक्रियता बढाउन सुझाउँछन्। 

‘हाम्रो शरीरलाई क्रियाशील बनाउनु पर्छ। गाउँघरमा घाँसपात गर्ने, खेतबारीमा काम गर्ने, शारीरिक कसरत हुने मजदुरी गर्ने बाहेकले समय मिलाएर हिँड्नुपर्छ। म दैनिक आधादेखि एक घण्टा हिँड्नलाई छुट्याउने गर्दछु,’ खनालले भने, ‘खानपानमा पनि विशेष ध्यान दिनुपर्छ। आफूलाई रोग लागेपछि करेजमा बस्नुपर्छ। जथाभावी खानु हुँदैन्। खानेकुराको सरसफाइमा ध्यान दिनुपर्छ। बाहिरको, विषादीको प्रयोग भएको खानेकुरा सकेसम्म खानु हुँदैन।’

JN_Khanal4-1710504833.jpg
सँधै चिटिक्क, तर कसरी?
नेपालका राजनीतिज्ञमध्ये खनाल सँधै सुकिलोमुकिलो भएर हिँड्ने व्यक्तिका रुपमा परिचित छन्। हुन पनि मिलाएर कपडा लगाउने खनाल सँधै चिटिक्क पारेर कपाल कोर्ने, अनुहार सफाचट बनाएर हिँड्छन्। यो उनको दैनिकी नै हो। ‘तपाईं सँधै चिटिक्क पर्ने राज के हो?’ भन्ने प्रश्नमा मुस्कुराउँदै खनालले भने, ‘तपाईंले भने जस्तो मेरो पहिरनका विषयमा हुने चर्चा मैले पनि सुनेको छु। तर म राम्रो हुन्छु भन्नका लागि यो गरिरहेको हुन्न। कसै कसैको शारीरिक बनावट नै जस्तोसुकै कपडा लगाए पनि सुहाउने देखिँदो रहेछ। सायद मेरो पनि यही हो कि! एउटा कुरा चाहिँ के हो भने म मिलेसम्म दैनिक नुहाउँछु। मिलेसम्म भनेको घरमा हुँदा। कुनै कुनै बेला घरबाहिर रहँदा परिस्थिति मिल्दैन। नत्र सँधै नुहाउँछु। त्यसैले पनि होला। सरसफाइमा मेरो विशेष ध्यान रहन्छ।’

खनालले शारीरिक सरसफाइमा पनि सबैले ध्यान दिनुपर्ने बताए। ‘महँगो लगाउनुपर्छ भन्ने मलाई छैन, तर सफा लगाउनुपर्छ भन्ने मेरो मान्यता हो। म त्यसै गरिरहेको हुन्छु। सरसफाइमा मेरो विशेष समय छुट्याएको भन्ने हुँदैन।’ 

दैनिकी व्यवस्थित गर्ने बताउँदै खनालले भने, ‘मैले आफू चिटिक्क पर्नुपर्छ, मैले सुन्दर कपडा लगाउनुपर्छ, म राम्रो देखिनुपर्छ भन्ने आशयले मैले कपडा लगाएको हुन्न। तर कसैकसैको ज्यान नै कलरमैत्री हुँदो रहेछ। भनेको जे लगाए पनि राम्रो देखिने, रातो लगाएनि राम्रो, निलो लगाएनि राम्रो, पहेँलो लगाएनि राम्रो। कसैकसैको भने निश्चित कलरमात्र म्याच गर्छ। संयोगबस मलाई सबै कलरले राम्रो देखिँदो रहेछ। मैले लगाउने कपडासँगै हुने अरु साथीहरूको तुलनामा कुनै मानेमा पनि राम्रो हुँदैन। बरु कमसल नै हुन्छ। देखिँदा राम्रो देखिँदो रहेछ। कुरा त्यत्ति हो।’

पूजापाठ नगर्ने, गर्नेलाई सम्मान
कम्युनिस्ट आन्दोलनमा होमिएका खनालले भूमिगत जीवन पनि बिताए। योग, ध्यानलाई जीवनशैली बनाउनुपर्छ भन्ने खनाल पूजापाठ भने गर्दैनन्। पूजापाठबारेको खनालको दृष्टिकोण छ, ‘म पूजापाठ गर्दिनँ। म मन्त्री हुँदा प्रधानमन्त्री हुँदा पण्डितहरूले तपाईं पूजा गर्नुहोस् भन्थे। मैले उहाँहरूलाई यो पूजापाठको काम तपाईंहरूको हो। तपाईंहरू नै गर्नुहोस्। म राजनीतिक मान्छे मलाई नमस्कार गर्न लगाउनुहोस् भन्थेँ। मैले भने पनि त्यसै गरेँ पनि त्यसै। पूजाआजा भनेको मान्छेले कृत्रिम रुपमा सिर्जना गरेका आस्था हुन्। अरु केही होइनन्। हामीलेले ढुंगा राखेर पूजा गर्छौँ र देउता भन्छौँ। तर त्यो केही पनि होइन्। ढुंगा नै हो। हो यस्ता कुरामा मेरो खासै ध्यान जाँदैन। तर पनि जनताको आस्था छ। हाम्रा बुवाआमा, दाजुभाइ दिदीबहिनीको आस्था छ। त्यो आस्थाको म सम्मान गर्छु।’ 

मस्तिष्कले रचनात्मक काम गरेसम्म सक्रिय
खनालले राजनीतिक रिटायरमेन्टको उमेरसँग कुनै सम्बन्ध नरहेको बताए। उनले दिमाग सक्रिय भएसम्म एक व्यक्तिले राजनीतिबाट सन्यास लिन नपर्ने तर्क गरे। 

बिगतमा ७० वर्षे उमेर हदको प्रस्ताव गरेका खनालले अहिले भने दिमागले सिर्जनशील काम गरुन्जेलसम्म काम गर्न, काम लगाउन र सुझाव लिन सकिने बताए। ‘सामान्यतया: राज्य व्यवस्थामा उमेरको हद राख्ने चलन छ। त्यो चलन ठीकै छ। तर राजनीतिक कार्य भनेको उमेरले गर्ने होइन रहेछ। विचारले गर्ने रहेछ। त्यसैले जहिलेसम्म तपाईं वैचारिक, राजनीतिक, सैद्धान्तिक रुपले क्रियाशील बन्न सक्नुहुन्छ। तपाईंको दिमागले सिर्जनशीलता राख्छ, तपाईंको दिमागमा स्मृतिका कुराहरू गतिशील भएर बस्छन्, त्यस्तो अवस्थासम्म काम गर्न दिनुपर्छ। सल्लाह सुझाव लिनुपर्छ भन्ने लाग्छ,’ खनालले भने, ‘यो उमेर पुग्यो। अब यसलाई हटाइदिउँ भन्दा कहिलेकाहीँ ठूलो नोक्सानी हुनसक्छ। हुन त उमेर हदको कुरा मैले नै पार्टीमा उठाएको थिएँ। यसपाली हाम्रो पार्टीले उमेर हदको कुरा हटाएको पनि छ।’   

JN_Khanal2-1710504832.jpg
एमालेले प्रस्ताव गरे इलाम–२ को उम्मेदवार
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमालेको साथ पाए इलाम–२ बाट उम्मेदवार बन्ने संकेत गरेका छन्। न्यूजगृहसँगको कुराकानीमा खनालले नेकपा एकीकृत समाजवादीबाट मात्रै चुनावमा नजाने उल्लेख गर्दै वर्तमान गठबन्धनबाट साझा उम्मेदवारका रुपमा प्रस्ताव आए पछि नहट्ने बताए।

उनले कांग्रेसकै नेताहरूले पनि सहयोग गर्ने आश्वासन दिएको सुनाए। उनले भने, ‘अहिले इलामको अवस्था सुन्दा, इलामेको भावना बुझ्दा इलामे जनताले मलाई सम्झिरहेका छन्। केही दिन अघि म इलाम गएका बेला त्यहाँ भेटिने जनता तथा कांग्रेसकै साथीहरूले पनि मेरो उपस्थितिको बारेमा भन्नुभयो। नेता भनेको प्रतिद्वन्द्वी मान्यौँ। त्यसको होइन रहेछ। नेता विकास र समृद्धिका लागि रहेछ। मैले नेपाली कांग्रेसका नेतासँग पनि भेटेँ उहाँहरूले मलाई भन्नुभयो। हामीले नै तपाईंलाई हरायौँ। तर त्यो कमजोरी भएछ। तपाईं हामीलाई चाहिने मान्छे हुनुहुँदो रहेछ भन्नुभएको छ।’

कांग्रेसकै नेताहरूले चुनावमा साथ दिने वचन दिएको पनि खनालले बताए। उनले भने, ‘यदी इलाम-२मा चुनाव लड्नेगरी तपाईं आउनुहुन्छ भने हामीले पनि तपाईंलाई सहयोग गर्छौं भन्नुभएको छ।’

अब इलाम–२ बाट देशका लागि केही गर्न सक्ने साझा उम्मेदवारले जित्ने दावी खनालको छ। उनले भने, ‘मेरो विचारमा साझा उम्मेदवार गए वामपन्थी शक्तिले अहिले पनि जित्न सक्छ। र ८४ को निर्वाचनमा दुइटै निर्वाचन जित्छ। तर अहिले पार्टीभित्रमात्र उम्मेदवार बनाउने वा प्रतिस्पर्धा गराउने भन्ने सोचका साथ गए वामपन्थीले एक सिट गुमाउँछ र आउने निर्वाचनमा दुई सिट गुमाउने निश्चित छ।’

यो वास्तविक अवस्था भएको भन्दै खनालले अहिलेको ठूलो शक्तिका रुपमा रहेको एमालेले सोचविचार गर्नुपर्नेब ताए। उनले भने, ‘अब वामपन्थी दलहरूले गम्भीरताका साथ सोच्न जरुरी छ। त्यसमा पनि सबैभन्दा ठूलो वामपन्थी दल नेकपा एमाले नै हो। एमालेले अहिलेको चुनाव र आगामी चुनाव दुवैका लागि गम्भीरताका साथ सोचेर एकीकृत निर्णय गर्न आवश्यक छ।’

एमालेले साझा उम्मेदवारका रुपमा प्रस्ताव गरे आफू उम्मेदवार बन्न तयार भएको बताउने खनालले उपनिर्वाचनलाई केन्द्रमा राखेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने कुनै कुरा नभएको बताए। ‘यदी एमालेले पनि साझा उम्मेदवारका रुपमा तपाईं जानुहोस् भन्छ भने म जान्छु। हामीबीच विभिन्न विषयमा छलफल त भइरहेको छ। छलफल नभए यत्रो गठबन्धन नै परिवर्तन सम्मको कुरा कसरी सम्भव भयो र। तर निर्वाचनकै विषयमा अहिलेसम्म छलफल भएका छैनन्।’

यसअघि इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित हुँदै आएका खनाल २०७९ सालको निर्वाचनमा एमाले नेता महेश बस्नेतसँग पराजित भएका थिए।

JN_Khanal1-1710504832.jpg
एमालेसँग नङ मासुको सम्बन्ध, कसैले छुटाउन सक्दैन
खनालले एमाले बनाउन निक्कै मेहनत गरेको बताए। पार्टीगत र व्यक्तिगत लगानीमा एमालेलाई मजबुद बनाएको दाबी गर्दै उनले एमालेसँग नङ र मासुको सम्बन्ध भएको बताए। ‘नेकपा एमाले बनाएको हामीले नै हो। यसमा मेरो व्यक्तिगत योगदान पनि छ। यसलाई कसैले मेटेर मेटिँदैन। सिंगो कम्युनिस्ट आन्दोलनमा हामी दोस्रो पुस्ताका रुपमा आएर खटेर काम गर्‍यौँ। २० को दशकमा करिब करिब चकनाचुर भएको कम्युनिस्ट आन्दोलनलाई ३० को दशकमा पुनर्गठन गर्दै एकताबद्ध पार्दै, सुदृढ गर्दै योअवस्थामा ल्याएका हौँ,’ खनालले भने, ‘त्यो कालखण्डमा पटक पटक विभिन्न अभियानको नेतृत्व मैले गरेकै हो। एमालेको पनि नेतृत्व गरेर समृद्ध दल बनाएकै हो। त्यसैले एमालेसँग मेरो नङ र मासुको जस्तै सम्बन्ध छ। त्यो कसैले छुट्याइदियो भने छुट्टिँदैन।’

नेपालका कम्युनिस्टबीच टुटफूटको राजनीति पहिलेदेखि नै रहेको बताउँदै खनालले आन्तरिक कारणले विभाजित भएका वाम दल एक ठाउँमा आउनुको विकल्प नरहेको बताए। नेपालमा वामपन्थी दल विभाजनको कारण मार्क्सवादी नभइ निम्न पुँजीवादी रहेको खनालको तर्क छ। उनले भने, ‘अहिले विभिन्न कारणले कम्युनिस्ट आन्दोलनका घटक विभाजन भएका छन्। यो विभाजनका कारण केही वैचारिक, केही सैद्धान्तिक, केही राजनीतिक, केही संगठनात्मक त केही कार्यशैलीगत छन्। यी कारण मार्क्सवादी हुँदै होइनन्। निम्न पुँजीवादी कारण हुन्। यी कारण अहिले बाधक बनेर बसेका छन्। यी बाधक बनेका निम्न पुँजीवादी चिन्तन हटाउन जरुरी छ।’

अहिले फेरिएको सत्ता समीकरण र लाकतान्त्रिक वाम गठबन्धनलाई खनालले शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने ठूलो कदमका रुपमा लिएका छन्। खनालले भने, ‘वैचारिक, राजनीतिक, संगठनात्मक, शैलीगत एकता निर्माण गर्दै हामीले एउटा एकीकृत, शक्तिशाली, राष्ट्रव्यापी, जनमुखी, क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी छ। यस्तो पार्टीले मात्रै यो देशलाई समाजवादमा पुर्‍याउँछ। अहिले जुन—जुन कारणले, ससाना पार्टीका स्वार्थ र निम्न पुँजीवादी चिन्तनले कम्युनिस्ट घटक छिन्न–भिन्न भएका छन्। कम्युनिस्ट पार्टीबाट निम्न पुँजीवादी सोच परास्त गर्न जरुरी छ। अहिले वाम शक्तिबीच जुन कार्यगत एकता भयो। यो मेजर स्टेप हो। अब यसलाई व्यवस्थित पार्दै शक्तिशाली पार्टी बनाउन पर्छ।’  

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०७:२९
Weather Update