
इलाम– प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तथा स्थानीय तहका गरी २३ पदका लागि निर्वाचन आयोग उपनिर्वाचनको तयारी अगाडि बढाएको छ। आयोगले अहिले उपनिर्वाचनको मिति तय गर्न सरकार र राजनीतिक दलसँग आन्तरिक परामर्श गरिरहेको छ। सम्भवत: वैशाखको पहिलो वा दोस्रो हप्ताभित्र उपनिर्वाचन गर्ने आयोगको तयारी छ। राष्ट्रिय सभा निर्वाचन सकिएसँगै आयोग उपनिर्वाचनका लागि तयारीमा जुटेको हो।
उपनिर्वाचन हुनेमध्ये प्रतिनिधि सभा सदस्य रिक्त रहेको इलाम क्षेत्र नम्बर २ मा धेरैको चासो छ। नेकपा एमालेका नेता तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ मा उपनिर्वाचन हुने भएको हो। इलाम २ मा हुने उपनिर्वाचनलाई दलहरूले आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर हेरिरहेका छन्। किनकि ‘मिसन ८४’को हल्ला जोडतोडले चल्न थालेपछि हुने पहिलो ‘जनमत परीक्षण’ नै अबको उपनिर्वाचन हो।
ठूला दलहरू आफ्नो जनमत जोगाइराख्ने दाउमा छन्। त्यसका लागि उनीहरूले लोकप्रिय व्यक्तिलाई उम्मेदवारको रूपमा अगाडि सार्ने रणनीति पनि लिएका छन्। निर्वाचन क्षेत्रमा लोकप्रिय उम्मेदवारको खोजीमा दलहरू ‘आन्तरिक सर्भे’मा पनि जुटेका छन्।नेपाली कांग्रेस र नेकपा एमालेले मतदाताको मनोभावना बुझ्न केन्द्रीय तहबाटै नेताहरू परिचालन गरेर सर्भे गरिरहेको छ।
उम्मेदवारमा आकांक्षा राख्नेहरूको अवस्था र मतदाताको मनोविज्ञान बुझ्न केन्द्रीय नेताहरू सक्रिय छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही साताअघि इलाम पुगेर सर्वेक्षणका आधारमा लोकप्रिय उम्मेदवार चयन गर्ने र कांग्रेस उम्मेदवारलाई विजयी गराइछाड्ने प्रतिक्रिया दिएका थिए।
एमाले पनि मतदाताको सहानुभूति र लोकप्रियताका आधारमा उम्मेदवार चयन गर्ने तयारीमा छ। राष्ट्रिय स्वतन्त्र पार्टी भने उपयुक्त उम्मेदवारको खोजीमा छ। उम्मेदवारको टिकट नपाएर असन्तुष्ट बनेका ठूला दलका नेता फकाएर आफ्नो उम्मेदवार बनाउने रास्वपाले रणनीति बनाएको छ। सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकै नेता उम्मेदवार बन्ने लगभग निश्चित छ। यद्यपि, उपनिर्वाचनको मिति घोषणा नहुँदै दलहरूले इलाम २ का गाउँहरूमा गतिविधि बढाएका छन्। भेला, सभा र कार्यकर्ता भेटघाटका कार्यक्रमहरू भइरहेका छन्। उपनिर्वाचनको मिति तोकेपछि चुनावी अभियान गर्ने समय छोटो हुने भएका नेताहरूले मिति तय नहुँदै सक्रियता बढाएका हुन्।
उम्मेदवारका आकांक्षीहरू टिकट पाउन काठमाडौं–इलाम बराबरी दौडधुप गरिरहेका छन्। २०७९ सालको आमनिर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गत भदौ २६ गते निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त बनेको हो।
कांग्रेसको तयारी
इलाम २ मा हुने उपनिर्वाचनलाई लिएर सत्तारूढ गठबन्धनका दलहरूबीच हालसम्म औपचारिक छलफल भइसकेको छैन। तर इलाम २ को उम्मेदवार भने नेपाली कांग्रेसले नै पाउने लगभग पक्का जस्तै रहेको गठबन्धन दलका नेताहरू बताउँछन्।
इलाम २ मा नेपाली कांग्रेसले २०५६ सालयता जित हासिल गर्न सकेको छैन। सुवासचन्द्र नेम्वाङले लगातार चुनाव जित्दै आएको उक्त क्षेत्रलाई एमालेले आफ्नो ‘गढ’ मान्ने गरेको छ।
यसपटक भने कांग्रेसले ‘एमालेको गढ’ भत्काउने रणनीति लिएको छ। एमालेसँग झिनो मतान्तरले पराजय बेहोर्दै आएको कांग्रेस यसपटक लोकप्रिय व्यक्तिलाई उम्मेदवार चयन गर्ने र एकतावद्ध अभियानमार्फत आफ्नो उम्मेदवारलाई विजयी गराउने रणनीतिमा देखिन्छ। कांग्रेसबाट भेषराज आचार्य, डम्बर खड्का, केशव थापा र नगेन्द्र कुमाल उम्मेदवार बन्ने दौडमा देखिन्छन। कांग्रेस इलामका पूर्वसभापति हिमालय कर्माचार्यले भने आफू उम्मेदवार नबन्ने, तर पार्टीको उम्मेदवारलाई सहयोग गर्ने बताउँदै आएका छन्। २०७९ सालको निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले पराजित पार्टी सभापति समेत रहेका खड्का पुनः उम्मेदवार बन्ने दौडमा छन्। तर उनलाई यसपटक पार्टीबाट टिकट लिन त्यति सहज देखिएको छैन। निर्वाचनमा पराजयपछि आफ्नै दलका अग्रज नेताहरूलाई ‘भौतिक आक्रमण गर्ने र अनुशासनको कारबाही गर्ने’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका कारण उनी आलोचित छन्।
पार्टी सभापति भएर अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको, जिल्ला कार्य समितिको पूर्ण बैठक १ वर्षदेखि राख्न नसकेको र ‘असहयोग गरेको’भन्दै आफ्नै नेता कार्यकर्तालाई सार्वजनिक कार्यक्रमहरूमा उत्तेजित भएर गाली गर्ने गरेका कारण खड्का साझा उम्मेदवार बन्ने सम्भावना न्यून देखिएको कांग्रेस नेताहरूको भनाइ छ। पछिल्लो समय स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा मङ्गलबारे बहुमुखी क्याम्पस र महेन्द्ररत्न बहुमुखी क्याम्पसमा गठबन्धन उम्मेदवारलाई धोका दिएको भन्दै माओवादी केन्द्र निकटका विद्यार्थीहरू खड्कासँग रूष्ट छन्। तर पार्टी सभापति भएकाले उनी बलिया उम्मेदवार हुन्। उनले चुनावी दौडधुप बढाएका छन्।
नेपाली कांग्रेसको संगठन निर्माणमार्फत् लोकप्रियता कमाएका, पटक पटक महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि रहँदै आएका आचार्य यस पटक जसरी पनि टिकट लिएर विजयी भइछाड्ने अभियानमा छन्। इलामका दुईवटा निर्वाचन क्षेत्र, चारवटा प्रदेश सभा, पालिका र वडा तहका पार्टी इकाइ एवम् संरचनाहरूको बहुमत नेतृत्वमा आफ्नो ‘विचार समूह’का नेताहरूलाई स्थापित गराएको बताउँदै आएका आचार्यले जुनसुकै दलमा आस्थावान मतदाताको मत आफूले पाउने दाबी गरिरहेका छन्। ‘लो प्रोफाइल’मा बसेर संगठन निर्माणमा ३ दशकदेखि सक्रिय रहेको बताउँदै आएका आचार्य यस पटक आफूले टिकट पाउने र विजयी भएरै छाड्ने बताउँछन्।
कांग्रेसबाटै पूर्वराज्यमन्त्री केशव थापा पनि चुनावी अभियानमा देखिन्छन्। कुनैबेला पार्टी दुई चिरा हुँदा शेरबहादुर देउवाको क्याम्पमा बसेर इलाममा संगठन निर्माणमा सक्रिय रहेका थापा लामो समयपछि फेरि संसदीय राजनीतिमार्फत सक्रिय हुने मनस्थितिमा छन्। तर केही वर्ष राजनीतिमा त्यति सक्रिय नदेखिएका थापा नयाँ पुस्तासँग घुलमिल नभएका कारण चुनाव जित्न निकै मेहेनत गर्नुपर्ने कार्यकर्ताहरू बताउने गर्छन्। आदिवासी जनजाति महासंघको पूर्वअध्यक्ष रहेका र समानुपातिक तर्फबाट सांसद भइसकेका नगेन्द्र कुमाल पनि टिकट पाउन दौडधुपमा छन्। कांग्रेसका जोसुकै उम्मेदवार भए पनि एकताबद्ध चुनावी अभियान सञ्चालन नगरेसम्म इलाम २ आफ्नो पोल्टामा पार्न कठिन देखिएको छ।
पार्टीको जिल्ला अधिवेशनमा खड्कालाई सभापतिमा सहयोग गरेका थापा र खड्का बीचको सम्बन्ध पछिल्लो समय बिग्रिएकाले देउवा समूहमा विचलन देखिएको छ। जसको प्रत्यक्ष असर देउवा समूह र पार्टीभित्र पर्ने देखिन्छ। तर डा शेखर कोइराला र महामन्त्री गगन थापाको समूहबाट निर्विकल्प उम्मेदवार मानिएका आचार्यले सबैलाई मिलाएर चुनाव जित्ने दाबी गरिरहेका छन्।
उम्मेदवारहरूको जेजस्तो दाबी र आकांक्षा रहे पनि उम्मेदवार चयन गर्दा पार्टीले गुटगत वा पहुँचका आधारमा गर्न नहुने कांग्रेसका पुराना नेता राजेन्द्र शर्माको धारणा छ। ‘केन्द्रीय नेताहरूमा पहुँच पुर्याएका आधारमा, पटक–पटक परीक्षण भइसकेका र मतदाताको मनोभावना नबुझेका नेतालाई टिकट दिए पार्टीले ठूलो क्षति बेहोर्ने छ,’ उनले भने, ‘कांग्रेसले उम्मेदवार चयन गर्दा पार्टीका क्रियाशील सदस्यहरूको मतदानमार्फत चयन गर्दा राम्रो हुन्छ।’ इलाम २ मा नयाँ दल र जातीय मतको प्रभाव कम रहेको उल्लेख गर्दै उनी कांग्रेस–एमालेले धेरै विवेक पुर्याएर मात्र उम्मेदवार चयन गर्नुपर्ने बताउँछन्।
एमालेको रणनीति
पार्टीका बलिया र पुराना हस्ती सुवास नेम्वाङको निधनसँगै इलाम एमालेमा एक किसिमको रिक्तता छ। पार्टीमा लामो समय बिताएका सक्रिय नेताहरू जिल्लामा रहे पनि चुनाव जित्ने उम्मेदवारको खडेरीजस्तै देखिएको छ। तर पनि आफ्नो विरासत जोगाउन एमालेले ठूलो कसरत गरिरहेको छ। कांग्रेसबाट कुन व्यक्ति उम्मेदवार बन्छ त्यसका आधारमा आफ्नो उम्मेदवार तय गर्ने रणनीतिमा एमाले छ। एमालेबाट एमाले उपाध्यक्ष उदय राई, नेता जयप्रकाश राई, डा देवी क्षेत्री दुलाल, प्रदेश सदस्य गणेश बराल, क्षेत्रीय इन्चार्ज बुद्धि खनाल र युवा नेता रवीन्द्र सुवेदी उम्मेदवार बन्ने दौडमा छन्। पछिल्लो समय नेम्वाङका छोरा सुहाङले पनि सक्रियता बढाएका छन्।
जनजाति अनुहार प्रस्तुत गर्ने वा सहानुभूति क्यास गर्ने रणनीति बनाएको खण्डमा एमालेले राईद्वय र सुहाङलाई अघि बढाउने सम्भावना छ। नेम्वाङको स्वकीय सचिवका रूपमा करिब दुई दशक बिताएका बुद्धि खनाल क्षेत्रीय इन्चार्ज समेत रहेकाले आफू जित्ने उम्मेदवार रहेको दाबी गर्दै आएका छन्। नेम्वाङको सचिवालयमा रहेर गाउँका मतदातासँग प्रत्यक्ष जोडिएकाले आफू बलियो उम्मेदवार रहेको खनालले बताउने गरेका छन्। त्यस्तै युवाहरूको मनोभावना तान्न रविन्द्रले आफूलाई बलियो ठानेका छन्। बरालले भने प्रतिस्पर्धी दलका उम्मेदवारको अनुहारका आधारमा आफू उम्मेदवार बन्ने दाउमा छन्। देवी क्षेत्रीले आफू साझा उम्मेदवार रहेको दाबी गरिरहेका छन्।
प्रगतिशील लेखक एवम् विश्लेषक डा देवी क्षेत्री दुलाल इलाम २ मा उम्मेदवार चयन गर्दा यस पटक मिहीन ढंगले मतदाताको मनोभावना बुझ्नुपर्ने र विवेक पुर्याउनुपर्ने सुझाव दिन्छन्। ‘पहिचान वा जातीय मुद्दाका सवालमा कोही अत्तालिनु पर्दैन। तर नयाँ अनुहार वा सहानुभूति साथै लहडमा उम्मेदवार चयन गर्दा एमालेले ऐतिहासिक क्षति बेहोर्नसक्छ,’ डा दुलाल भन्छन्, ‘पुराना, सक्रिय र क्षमतावान नेताहरूको योगदानलाई अपमानित गरेर पार्टीले उम्मेदवार चयन गर्नुहुँदैन्। इलाममा यतिबेला सहानुभूति र उत्तराधिकारी खोज्ने परिस्थिति छैन।’ संगठन निर्माणमा सक्रिय, क्षमतावान र अवसर नपाएका लोकप्रिय उम्मेदवार चयन गर्न उनको सुझाव छ।
रास्वपाको परीक्षण
पूर्वी पहाडका जिल्लामा आफ्नो संगठन विस्तार गर्ने उद्देश्य लिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) यस पटक इलाम २ मा आफूलाई परीक्षण गर्ने दाउमा छ। उम्मेदवार खडेरीको सामना गरिरहेको रास्वपाले शुरूमा चर्चित बैंकर्स अनिल केशरी शाहलाई उम्मेदवार बनाउने चर्चा चलाएको थियो। तर त्यो चर्चा हाल सेलाएको छ।
महेन्द्र थापा, धर्म गौतम, एलिजा गौतमको पनि नाम चर्चामा छ। तर रास्वपाले ठूला दल निकट मतदाताको मत चोर्न सक्ने प्रशस्त सम्भावना छ। स्वतन्त्र उम्मेदवार बन्ने दाउमा पत्रकार मिलन लिम्बू पनि दौडाहामा देखिन्छन्।
मुद्दा र मतदाता
इलाम क्षेत्र नम्बर २ विकासका दृष्टिकोणले केही पछाडि परेकाले विकासमा मुद्दालाई मतदाताले प्रमुख ठानेका छन्। त्यो बाहेक उम्मेदवारको व्यक्तित्वले उक्त क्षेत्रमा विशेष अर्थ राख्दै आएको छ। २०५६ सालयता विजयी हुँदै आएका दिवंगत नेम्वाङको ठाउँमा एमालेको अर्को उम्मेदवार हुनेबित्तिकै मतमा ठूलो अन्तर देखिने निश्चित छ। किरात धर्मगुरूको आशीर्वाद र जातीय मतलाई आफ्नो पक्षमा पार्दै आएको एमालेलाई यस पटक चुनाव जित्न त्यति सहज देखिएको छैन। हाल सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसले साझा र लोकप्रिय उम्मेदवार तयार गरेको खण्डमा कांग्रेसले केही सहज अनुभूति गर्नेछ।
इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन्। गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ। इलाम नगरपालिकाको मेयर र चुलाचुली गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो। २०४९ सालको स्थानीय निर्वाचनपछि पहिलोपटक इलाम नगरपालिकामा कांग्रेसले जितेपछि एमालेलाई ठूलो असर परेको छ।
स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने इलाम–२ मा कांग्रेसले एमालेभन्दा ४०० भन्दा बढी मत ल्याएको थियो। कांग्रेसले ३२ हजार ९ सय ७८ मत पाउँदा एमालेले ३२ हजार ५ सय २७ पाएको थियो। माओवादीले २ हजार ७१७, जसपाले ५५४, एकीकृत समाजवादीले २७७ र राप्रपाले १३० मत पाएका ल्याएका थिए। त्यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, नेकपा एमालेले २६ हजार ५ सय ६२, माओवादी केन्द्रले ५ हजार १५३, जनता समाजवादीले ९०६, एकीकृत समाजवादीले ५८६ र स्वतन्त्रले ४ हजार ६८६ मत प्राप्त गरेका थिए।
यस हिसाबले हालको सत्तारूढ गठबन्धनको मत बढी देखिन्छ भने स्वतन्त्रमा खसेको मत बाँडिन सक्ने देखिन्छ। त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतको पनि मत छ।
प्रतिनिधि सभा निर्वाचन भएपनि उक्त क्षेत्रमा विकासका मुद्दाले पनि विशेष अर्थ राख्दै आएको छ। बहुप्रतिक्षित आयोजनाहरू रवी–राँके सडक, इलाम–मंगलबारे सडक, जितपुर–सिद्धीथुम्का सडक, रतुवा खोला पुल, किरात धर्मगुरूको क्षेत्रमा माग गरेअनुसारको विकास नगरेको आरोप एमालेले खेप्दै आएको छ। कांग्रेस, रास्वपा, एकीकृत समाजवादी, राप्रपा जस्ता पार्टीहरू राज्यको जिम्मेवार ठाउँमा नपुगेकाले त्यो आरोपबाट जोगिएका छन्। पछिल्लो समय कोशी प्रदेशको नामकरणको विषय वा पहिचानको मुद्दा र दुर्गा प्रसाईंको अभियानले ठूला दलहरूलाई असर पारेको छ। त्यसमाथि एमाले त्यसको निशानामा छ।
प्रदेश नम्बर १ लाई कोशी नामाकरण गर्ने सरकारको नेतृत्व एमालेले गरेको र प्रसाईंको उत्तेजित अभिव्यक्तिको निशानामा एमाले परिरहेकाले त्यसको असर मतदाताको मनोभावनामा पर्ने अवस्था छ। कांग्रेस नेता शर्माकै विचारलाई आधार मान्ने हो भने इलामबाट विजयी भएर राज्यको महत्वपूर्ण जिम्मेवारीमा पुगेका नेताहरूले विकास निर्माणका काममा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकाकाले उपनिर्वाचनमा त्यसको असर पर्ने देखिन्छ। विकासका मुद्दामा ठूला दलप्रति मतदाताको गुनासो छ। साना दलहरूले राज्यको उपल्लो तहमा पहुँच पुर्याउन नसक्ने भएकाले विकासमा असर पर्ने मतदाताको बुझाइ छ।
विद्रोह र विग्रहको संकेत
इलाम २ मा कांग्रेस–एमालेकै दबदबा छ। जिल्लामा बसेर दशकौंदेखि संगठन विस्तार र राजनीतिक गतिविधिमा सक्रिय रहेका नेताहरूलाई उपेक्षा गरेको खण्डमा दुवै दलमा विद्रोह र विग्रहको संकेत समेत देखिएको छ। पार्टीमा अवसर नपाएको खण्डमा नेता व्यवस्थापन गर्ने सिलसिलामा राज्यका महत्त्वपूर्ण निकाय वा राजनीतिक नियुक्तिमा समेत हेपिएका इलामका नेताहरूमा उपनिर्वाचनपछि ठूलो विग्रह आउने देखिन्छ। कांग्रेसबाट चुनावी दौडाहमा रहेका थापा तीनवटा निर्वाचन क्षेत्र कायम रहँदा इलाम ३ बाट ४ पटक चुनाव लडेर दुई पटक विजयी भएका थिए। उनले राज्यमन्त्रीको जिम्मेवारी पाइसकेका छन् भने कुमालले समानुपातिकतर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका छन्।
त्यस्तै, जिल्ला सभापति खड्काले नेविसंघको केन्द्रीय तहमा अवसर पाएपनि सदन प्रवेश गर्ने अवसर पाएका छैनन्। उनी प्रदेश सभा २ (क) बाट टिकट पाएर पराजित भएका थिए। आचार्यले जिल्लाको संगठन निर्माणमा ३ दशक बिताए पनि पार्टीको केन्द्रीय र राज्यका निकायमा कुनैपनि अवसर नपाएको बताउँदै आएका छन्। उनी ०७० सालमा नेम्वाङसँग आमनेसामने भएका थिए। त्यसबेला आचार्य नेम्वाङसँग पराजित भएका थिए।
एमालेमा पनि नेम्वाङको उत्तराधिकारीका रूपमा छोरा सुहाङलाई अघि बढाएको खण्डमा पार्टीभित्र ठूलो विद्रोह आउनसक्ने अनुमान गरिएको छ। सुहाङ अघि बढे दशकौँदेखि दुःख गरेका पुराना नेताहरूको राजनीतिक भविष्य अन्त्य हुने त्रास बढेको छ। जसको असर उपनिर्वाचनमा पर्ने निश्चित छ। दुवै दलमा विग्रह र विद्रोहको संकेत देखा परे नयाँ दलहरूका उम्मेदवारहरूले मतदाताको मनोभावना जित्ने देखिन्छ।