News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भेप र ब्रेक प्याडमा लुकाएर भएको सुन तस्करीको नालिबेली

काठमाडौं— नेपालमा अवैध रुपमा हुने गरेको सुनको पैठारी (तस्करी)को सन्दर्भमा जाँचबुझ गर्न गठित आयोगले ५ महिना लगाएर गरेको अनुसन्धानपछि सरकारलाई प्रतिवेदन बुझाएको छ। बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाइएको उक्त प्रतिवेदनमा उल्लेख गरिएका केही विषयले भने नयाँ तरंग सिर्जना गरेको छ। आयोगले सुन तस्करीको अनुसन्धान निष्पक्ष नभएको, अनुसन्धान गर्ने निकायका अधिकारीले नै तस्करलाई जोगाउन भूमिका खेलेको तथा तस्करीलाई मद्दत पुग्ने गरी विभिन्न संरचनाहरु खडा गरिएको विषय आफ्नो प्रतिवेदनमा उठाएको छ। 

२०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हासनले भेपमा लुकाएर ल्याएको ९ किलो सुन र २०८० साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय बाहिरबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन तस्करीका विषयमा आयोगले जाँचबुझ गरेको थियो। ती दुवै तस्करीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पहिले नै अनुसन्धान गरेको थियो। सीआईबीले गरेको अनुसन्धानअनुसार ९ किलो सुन प्रकरणमा सुरुमा ६ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। त्यसपछि उक्त तस्करी प्रकरणमा पुरक अनुसन्धान गर्दै थप ४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो। 

भेपमा लुकाएर भएको ९ किलो सुन तस्करीको मुद्दा अदालतमा टेकिसकेको अवस्थामा २०८० साउन ३ गते विभानस्थल भन्सारबाट जाँचपास भइसकेको अवस्थामा ६० किलो ७१६ ग्राम सुन बरामद भएको थियो। हङकङबाट स्कुटरको ब्रेक प्याडका रुपमा भित्रिएको सुन भन्सारबाट जाँचपास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। उक्त तस्करी प्रकरणको अनुसन्धान सकेर २०८० भदौ ३१ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। 

Prabhu Bank

जाँचबुझ आयोग कसरी गठन भयो?
साउन ३ गते विमानस्थल भन्सार कार्यालय बाहिर (सिनामंगल)बाट ठूलो मात्रामा सुन बरामद भएपछि उक्त विषयले लामो समय संसद्‌ ततायो। तत्कालीन अवस्थामा प्रमुख प्रतिपक्षी रहेको नेकपा एमाले र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करी प्रकरणको गम्भीर रुपमा छानबिन हुनुपर्ने मागसहित संसद्‌ बैठक नै अवरुद्ध पारे। तस्करीको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनको मागसहित एमालेले साउन महिनाभर संसद् चल्न दिएन। त्यसपछि २०८० भदौ ६ गते संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुबीच सुन तस्करीबारे जाँचबुझ गरी सुझाव समेत दिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको थियो। उक्त सहमतिअनुसार सरकारले २०८० असोज १४ गते सुन तस्करीको कारण पत्ता लगाइ समाधानको उपाय सुझाउन जाँचबुझ आयोग गठन गरेको थियो। उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा, नेपाल सरकारका पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी सदस्य थिए। 

आयोगले १० पुस २०७९ मा चिनियाँ नागरिकले भेपमा लुकाएर ल्याएको ९ किलो सुन र २०८० साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुनका सन्दर्भमा अनुसन्धान गरेको थियो। आयोगलाई अनुसन्धानका लागि सुरुमा ३ महिना समयावधि तोकिएकोमा पछि २ पटकसम्म म्याद थप गरिएको थियो।

राजनीतिक संरक्षणमा गिरोहकै संलग्नता
बिहीबार गृहमन्त्री लामिछानेलाई बुझाइएको प्रतिवेदनमा आयोगले सुन तस्करीमा राजनीतिक संरक्षण पाएका व्यक्तिहरुको संलग्नता फेला परेको बताएको छ। आयोगले प्रतिवेदन बुझाउनु अगाडि नै पनि सुन तस्करीमा राजनीतिक दलका नेताहरुको संलग्नता रहेको विषय बाहिरिएको थियो। 

सुन तस्करीमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महरासहित उनका छोरा राहुल महराको संलग्नता रहेको विषय सीआईबीकै अनुसन्धानबाट खुलेको थियो। यस्तै, पूर्व राष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको संलग्नताको विषय पनि यसअघि नै बाहिरिएको थियो। साथै, सुन तस्करीमा संलग्न व्यक्तिहरु हालका अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग पनि सम्पर्कमा रहेको विषय बाहिरिएको थियो।

९ किलो सुनको नालिबेली
चिनियाँ नागरिक ली हासनले २०७९ पुस १० गते भेपमा ल्याएको सुनका सन्दर्भमा सीआईबीले २०८० वैशाखको अन्तिमतिरबाट मात्रै अनुसन्धान सुरु गरेको थियो। त्यस अगाडिसम्म उक्त विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमै ‘गोप्य’ थियो। 

फ्लाई दुबईको जहाजबाट नेपाल आएका चिनियाँ नागरिक लीले बोकेको ब्यागेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आगमन कक्षको एक्सरे मेसिन जाँच गर्दा ब्यागेजभित्र शंकास्पद बस्तु देखिएको थियो। खोलेर हेर्दा ब्यागेजभित्र ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) भेटिएको थियो। 

ठूलो मात्रामा भेटिएको भेप व्यापारिक मालबस्त हुनसक्ने र भन्सार राजस्व असुल गर्नुपर्ने भन्दै  भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो। त्यतिबेला भन्सार कार्यालयले चिनियाँ नागरिक लीको राहदानी समेत नियन्त्रणमा लिएको थियो। तर पछि राहदानी फिर्ता दिइयो र चिनियाँ नागरिक भेप विमानस्थलमै छाडेर चीन फर्किएका थिए। 

यसबीचमा उक्त भेप छुटाउनका लागि भन्दै विभिन्न व्यक्तिहरु विमानस्थल भन्सार कार्यालय धाउने गरेका थिए। त्यसरी धाउनेमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल पनि थिए। यस्तै, माओवादी नेता महराले समेत उक्त भेप छुटाउनका लागि तत्कालीन भन्सार प्रमुखलाई फोन गरेका थिए। 

भन्सार कार्यालयले लामो समयसम्म नियन्त्रणमा लिएर राखेको उक्त भेप पछि भने लिलामी गर्ने भन्दै प्रक्रिया अगाडि बढायो। तर लिलामीको प्रक्रिया थाल्दा चिनियाँ नागरिकले ल्याएको भेप गायव पारिएको देखियो। जसको सट्टामा उस्तै देखिने, तर उत्पादक कम्पनी फरक भएको भेप त्यहाँ राखिएको थियो। 

भेप साटिएको देखिएपछि भन्सार कार्यालयले आन्तरिक अनुसन्धान अगाडि बढायो। आन्तरिक अनुसन्धानका क्रममा उक्त भेपमा सुन लुकाएर ल्याइएको विषय पनि पत्ता लाग्यो। तर भन्सार कार्यालयले आन्तरिक अनुसन्धान थाल्दा सुन भने भन्सारका कर्मचारीहरुले विभिन्न व्यक्तिसँग मिलेर बेचिसकेका थिए। त्यसपछि भन्सार कार्यालयले उक्त विषयमा छानबिनका लागि भन्दै सीआईबीलाई पत्राचार गरेको थियो। 

भन्सार कार्यालयको पत्राचारपछि उक्त सुन तस्करीबारे अनुसन्धान सुरु गरेको सीआईबीले भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएका भन्सार एजेन्ट दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका–२ घर भइ काठमाडौंको न्यूरोडमा घडी पसल सञ्चालन गर्दै आएका वेदप्रकाश अग्रवाल, भारतको महाराष्ट्र घर भएका व्यापारी साहेब राव पाण्डुरङ मरगले, सिन्धुपाल्चोककै सुनकोशी–६ का अमृत कार्की, पोखरा महानगरपालिका–४ घर भइ विमानस्थलमा  सुरक्षा गार्डको काम गरेका निर्मलकुमार विकलाई पक्राउ गरेको थियो। 

पक्राउ परेकाहरुको बयानअनुसार सुरुमा भेपभित्र सुन भएको जानकारी सुरक्षा गार्ड निर्मलकुमार विकले थाहा पाएका थिए। 

२०७९ पुस १० गते नियन्त्रणमा लिएर राखिएको भेपलाई खोलेर कारबाही प्रक्रिया अगाडि बढाउन भन्दै पुस २६ गते भन्सार कार्यालयको मुद्दा शाखामा पुर्‍याइएको थियो। भेप राखिएको सुटकेश विकले नै बोकेर मुद्दा शाखासम्म पुर्‍याएका थिए। मुद्दा शाखामा उक्त सुटकेश खोलेर हेरिएको थियो, जसक्रममा एउटा सुटकेशको चेन बिग्रिएको थियो। कानुन शाखामा काम सकिएपछि चेन बिग्रिएकोसहित दुवै सुटकेश बोकेर विकले नै गोदाम पुर्‍याएका थिए। गोदाम पुर्‍याउने क्रममा चेन बिग्रिएको सुटकेशबाट एउटा भेप भुइँमा झरेको थियो। जुन भेप उनले भुइँबाट टिपेर आफ्नो गोजीमा राखेका थिए। 

गोजीमा राखिएको भेप विकले आफ्नो कोठामा लगे। त्यहाँ लगेर बटनहरु थिचेर चलाउन खोजे, तर चलेन। धुँवा निस्किन्छ कि भनेर उनले तान्न खोजे, धुँवा पनि निस्किएन। त्यसपछि ब्याट्री भएको ठाउँमा खोलेर हेर्दा एउटा प्लास्टिकमा बेरिएको अवस्थामा सुन जस्तो देखिने पहेँलो धातुको डल्लो भेटिएको थियो। जसलाई उनले सुन पसलमा लगेर जाँच गरे, जाँच गर्दा सुन नै भएको पुष्टि भयो। 

त्यसपछि उनले अरु भेपमा पनि सुन हुनसक्ने भन्दै सबै भेप आफूले पाउने प्रयास थाले। भन्सार कार्यालयमै बुझ्दा उनले उक्त भेप लिलामीको प्रक्रियामा जानेसक्ने जानकारी पाए। त्यसपछि भन्सारबाट हुने लिलामीको सामान किन्ने बब्लु गुप्ता नाम गरेका व्यक्तिलाई उक्त भेपमा सुन भएको र त्यसलाई लिलामीमा सकार्न भने। बब्लुले भन्सारका नासु रेवन्त खड्का तथा भन्सार एजेन्ट दिनेश बस्नेतसँग आफ्नो राम्रो चिनजान रहेको बताए। बब्लुले नै भन्सारका नासु खड्कालाई भेपभित्र सुन छ भनेर जानकारी दिए। 

त्यसपछि रेवन्तले भेपलाई डिस्पोज गर्नुपर्ने सामान हो भन्दै भन्सार कार्यालयको गोदामबाट नजिकै रहेको १११ नम्बरको कोठामा सार्न लगाए। उक्त कोठामा सीसीटीभी क्यामेरा नभएका कारण उनले त्यहाँबाट सजिलै सुन निकाल्ने योजना बनाएका थिए। त्यसपछि रेवन्त र भन्सार एजेन्ट दिनेशले सबै भेप खोलेर त्यहाँबाट सुन निकाले। पुरानो भेपलाई टुक्रा–टुक्रा पारे डिस्पोज गरे। त्यसको ठाउँमा नयाँ भेप किनेर ल्याएर राखे। 

सीआईबीलाई दिएको बयानमा भन्सार एजेन्ट दिनेशले उक्त सुन रेवन्तको सहयोगमा आफूले नै निकालेर बेच्न लगेको र बेच्ने क्रममा जोख्दा ९ किलो तौल मापन भएको बताएका थिए। उनले सबै सुन लगेर वेदप्रकाश अग्रवाललाई बुझाएका थिए। अग्रवालले नै उक्त सुन किन्नका लागि भारतीय नागरिक (व्यापारी) साहेब राव पाण्डुरङ मरगलेलाई भेटाइदिएका थिए। नन्दुकुमारले न्यूरोडस्थित बटुमा ‘टन्च हाउस’ (सुन जाँच्ने कार्यालय) सञ्चालन गरेका थिए। 

दिनेशले सुन बेचेर ६ करोड रुपैयाँ मिलेको बयानमा बताएका थिए। जसमध्येको ६५ लाख रुपैयाँ रेवन्तलाई दिएको उनको बयान छ। यस्तै, बब्लु गुप्तालाई तिर्नुपर्ने २० लाख रुपैयाँ ऋण तिरेको पनि उनले बयानमा बताएका छन्। बब्लु र रेवन्तलाई दिएसकेपछि बाँकी रहेको रकम मध्येबाट २ करोड ७५ लाख रुपैयाँ हालेर आफ्ना ससुरा केशव थापाको नाममा भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाअन्तर्गत पर्ने दिव्येश्वरी प्लानिङ भित्रको जग्गा किनेका थिए। दिनेशले उक्त पैसाबाटै आफ्ना भाइ दिपेशलाई ८ लाख र जग्गा खरिद गरिदिने दलाललाई पनि ८ लाख दिएको बयानमा बताएका छन्। ४ लाख रुपैयाँ भने सुकुटे बिच रिसोर्टमा पुगेर खर्च गरेको उनले बयानमा बताएका छन्। 

चिनियाँ नागरिकले भेपमा लुकाएर ल्याएकोमध्ये प्रहरीले करिब १०० ग्राम हाराहारी मात्रै सुन बरामद गरेको थियो। उक्त सुन पनि सुरक्षा गार्ड निर्मलकुमार विकबाट बरामद भएको थियो। उनले भेपबाट निकालेको सुनबाट सिक्री बनाएको तथा केही टुक्रा अलग्गै राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। 

उक्त सुन तस्करी प्रकरणमा सीआईबीले गरेको अनुसन्धानबाट माओवादी नेता महाराको सुन ल्याउने चिनियाँ ब्यापारीसँग पटक–पटक सम्पर्क भएको भेटिएको थियो। यस्तै, महाराका छोरा राहुलको पनि चिनियाँहरुसँग सम्पर्क भएको भेटिएको थियो। यद्यपि महराको संलग्नता र भूमिकाको विषयमा भने पूर्ण रुपमा खुल्न नसकेको सीआईबीका अनुसन्धान अधिकृतहरुको भनाइ छ। सीआईबीले उक्त प्रकरणमा अहिले पनि अनुसन्धान जारी रहेको जनाएको छ। चिनियाँ नागरिक विमानस्थलमा सुन छाडेर गत वर्ष पुसमा नै भागिसकेका हुनाले सुन तस्करीको ‘नेटवर्क’लाई भने चिर्न नसकिएको सीआईबीका अधिकारीहरुले बताउने गरेका छन्। 

ब्रेक प्याडमा भएको सुन तस्करी   
राजस्व अनुसन्धान विभागको टोलीले गत साउन ३ गते सिनमंगलबाट बा २ च २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिएर सुन बरामद गरेको थियो। विभानस्थलबाट जाँचपास भएपछि ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाने क्रममा राजस्वको टोलीले सुन बरामद गरेको थियो। बरामद भएको सुन मोरिएको ब्रेक प्याड रेड ट्रेड नामक कम्पनीका नाममा हङकङबाट क्याथे प्यासिफिकको उडानको कार्गोमार्फत् नेपाल ल्याइएको थियो। 

सुनसँगै विभागले ट्याक्सी चालक अशोक लामालाई पक्राउ गरेको थियो। पछि रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राईलाई पक्राउ गरिएको थियो। उनीहरुको बयानका आधारमा हर्कराज राई, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट पक्राउ परेका थिए।
विभागले गरेको अनुसन्धानबाट सुन तस्करीकै लागि रेडी ट्रेड नाम गरेर नक्कली कम्पनी खडा गरेको पाइएको थियो। कम्पनी खोल्नका लागि आर्थिक अवस्था कमजोर भएका भुजेललाई प्रयोग गरेको पाइएको थियो। 

सुरुमा तस्करीका लागि सहयोगी भूमिकामा रहेकाहरुलाई पक्राउ गरेको विभागले पछि नेपालमा तस्करीको सुन व्यवस्थापन गर्ने तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो। काठमाडौंको ठमेलमा होटल भियना सञ्चालन गरेका दावाले माओवादीका नेताहरुको सम्पर्क सुत्र प्रयोग गरेर तस्करीको सञ्जाल सञ्चालन गरिरहेका थिए। 

विभागले अनुसन्धान जारी राखेकै अवस्थामा सुन तस्करीमा आर्थिक अपराध मात्रै नभएर अरु अपराध पनि जोडिएको हुने भन्दै अनुसन्धानको जिम्मा प्रहरीलाई दिन दबाब बढेको थियो। तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत सुन तस्करीको छानबिनको जिम्मा प्रहरीलाई दिनुपर्ने बताउँदै आएका थिए। विभागले झन्डै २ साता अनुसन्धान गरेपछि बाँकी अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गर्ने गरी जिम्मा लगाइएको थियो। 

सीआईबीले गरेको अनुसन्धानबाट ब्रेक प्याडमा मोरेर ल्याइएको सुन तस्करी गर्ने गिरोहले ११ महिनाको अवधिमा ब्रेक प्याड लगायतमा लुकाएर ३६३ किलो सुन तस्करी गरेको देखिएको थियो। सीआईबीको अनुसन्धानपछि चिनियाँ नागरिक दावाजिन वाङलाई मुख्य नाइके किटान गरेर २९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 

मुद्दा दायर गर्दा चिनियाँ नागरिक एलेक्स भनिने याओ फुचेन, अली भनिने ली वेन सुङ, ली नेङकाई, लीन चछ्याङ, देङ सेङ फा, याङ वेन, मि सियान, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ, तिब्बती मूलका भारतीय नागरिक टासी भनिने थुप्तिन छिरिङलाई प्रतिवादी बनाइएको थियो। नेपाली नागरिकहरू रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, रुक्मिना सुब्बा, भोला साह सोनार, जीवन चलाउने, अमला रोका, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, कुमार ढकाल, सरोज श्रेष्ठलाई सुन तस्करीमा सघाएको कसुरमा प्रतिवादी बनाइएको थियो।

प्रतिवादी बनाइएकाहरुमध्ये गणेणप्रसाद पौडेल, सन्तोष चन्द, वीरेन्द्र नेपाली, कुमार ढकाल र सरोज श्रेष्ठ विमानस्थल भन्सारका कर्मचारी हुन्। सुन तस्करीमा संलग्नता देखिएका, तर फरार रहेका १५ जना विदेशी नागरिकको ३ पुस्ता नखुलेको र पछि पक्राउ परेका बखत सोहीअनुसार हुने गरी अभियोगपत्र दायर भएको थियो। उक्त सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड ३० लाख ९१ हजार ९७५ रुपैयाँ बिगो ठहर गर्दै बिगोअनुसार जरिवाना र कैद सजाय मागदाबी गरिएको थियो।

सीआईबीको अनुसन्धानबाट तस्कर जोगाउने खेल?
राजनीतिक दबाबका कारण गठन भएको जाँचबुझ आयोगले ५ महिनाको अनुसन्धान गरेर सरकारलाई बुझाएको प्रतिवेदनमा भने सीआईबीको अनुसन्धानमा गम्भीर प्रश्न उठाइदिएको छ। सीआईबीका अनुसन्धान अधिकारी र प्रमुख, एआईजी किरण बज्राचार्यले सुन तस्करीमा संलग्नता देखिएकाहरुलाई भगाएको आरोप छ। 

सुन तस्करीका संलग्नता देखिएका व्यवसायी जीवन चलाउनेको बयान लिइएको, तर बयान कागज च्यातिएको र उनलाई भगाउने काम भएको आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। 

तस्करीको सुन नेपालमा व्यवस्थापन गर्ने दावासँग सोझो सम्पर्क रहेको देखिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न आयोगले सिफारिस गरेको छ। 

यस्तै, माओवादी नेता कृष्णबहादुर महरालगायत कारबाही गर्नुपर्नेहरुमाथि पूर्ण अनुसन्धान नै नगरेको पनि आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगले महरासहित ठमेलको छाया सेन्टरमा वाल्डो क्यासिनो सञ्चालन गरिरहेका चिनियाँ नागरिक टेरेन्स टिएचसीलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ। यस्तै, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयका परराष्ट्र विज्ञ जीवन गुरूङ, विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी, जीवन चलाउने र होटल भियनाका सञ्चालक मन्जिल श्रेष्ठविरुद्ध पनि मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ।  

आयोगले बिहीबार प्रतिवेदन बुझाएपछि सरकारले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रतिवेदनको गम्भीर अध्ययन गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

मन्त्रिपरिषद् बैठकले आयोगबाट विभागीय कारबाही सिफारिस भएका सीआईबीका प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाएको छ। उनलाई  प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरेर उनको ठाउँमा एआईजी श्याम ज्ञवालीलाई पठाइएको छ। 

यस्तै, डीएसपी रुगम बहादुर कुँवर र दुर्गा दाहाललाई पनि सीआईबीबाट प्रहरी प्रधान कार्यालय तानिएको छ। उनीहरुले पनि अनुसन्धानमा लापरबाही गरेको तथा तस्करलाई जोगाउने गरे भूमिका निर्वाह गरेको भन्दै आयोगले विभागीय कारबाहीका लागि सिफारिस गरेको थियो। 

प्रतिवेदन कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्‌को निर्णयपछि प्रहरीले सुन तस्करी प्रकरणमा संलग्नता देखिएका, तर मुद्दा नलचेका व्यक्तिलाई पक्राउ गर्न सुरु गरेको छ। शुक्रबार नै प्रहरीले सत्तारुढ दल माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता दिपेश पुनलाई पक्राउ गरेको छ। सुन तस्करीमा संलग्नता देखिएपछि सीआईबीले यसअघि पनि दिपेशको बयान लिएको थियो। तर मुद्दा भने चलाएको थिएन।  

उच्चस्तरीय जाँचबुझ आयोगले भेप तथा ब्रेक प्याडमार्फत् भएको सुन तस्करीमा संलग्नता रहेको भनेर मुद्दा चलाउन सिफारिस गरेका जीवन गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतमा सुन तस्करीकै अर्को मुद्दा दर्ता भएको छ। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार रहेका जीवनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३८ किलो सुन तस्करी गरेको कसुरमा शुक्रबार मुद्दा दर्ता भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दायर गरेको मुद्दामा गुरुङविरुद्ध १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गरिएको छ।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो। सोही प्रकरणको अनुसन्धान गर्दैजाँदा गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३८ किलो सुन तस्करी गरेको रहस्य खुलेको हो।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २०:१९
Weather Update