News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुन तस्करलाई जोगाउन सीआईबी प्रमुख नै सक्रिय? 

काठमाडौं– विद्युतीय चुरोट (भेप)मा लुकाएर तथा स्कुटरको ब्रेक प्याडमा मोरेर भएको सुन तस्करीमा संलग्न व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट जोगाउने काम भएको देखिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले सीआईबी प्रमुख, एआईजी किरण बज्राचार्यको भूमिका नै शंकास्पद देखिएको भन्दै विभागीय कारबाही गर्न सिफारिस गरेको छ। 

आयोगले एआईजी बज्राचार्यसहित सीआईबीमा कार्यरत एसपी सञ्जयसिंह थापा तथा डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस गरेको छ। 

Prabhu Bank

आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेअनुसार उनीहरुले सुन तस्करीमा संलग्न मुख्य व्यक्ति (नाइके) जीवन चलाउनेलाई भगाएका थिए। जीवन चलाउनेको बयान लिएर पनि च्यात्ने काम भएको पनि आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। 

सीआईबीका डीएसपी रुगुम कुँवर र चलाउनेबीच पनि सम्बन्ध रहेको देखिएको आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। 

गत साउन ३ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट ठूलो मात्रामा सुन बरामद भएको थियो। हङकङबाट स्कुटरको ब्रेक प्याडको रुपमा भित्र्याइएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। 

बरामद हुँदा १०० किलोभन्दा बढी तौल भएको भनिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मापन भएको थियो। सुरुमा उक्त सुन तस्करी प्रकरणबारे राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरेकोमा पछि सीआईबीको जिम्मा लगाइएको थियो। 

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा नै उक्त सुन तस्करी प्रकरणमा बेल्जियम नागरिक दावा छिरिङको मुख्य भूमिका रहेको खुलेको थियो। दावालाई विभागले नै पक्राउ गरेर पछि सीआईबीको जिम्मा लगाएको थियो। सीआईबीले दावामाथि अनुसन्धान गर्दा उनीसँग चलाउनेको नियमित सम्पर्क रहेको खुलेको थियो। सीआईबीले चलाउनेलाई बयानका लागि बोलाएको थियो। चलाउनेको बयानबाट नेकपा एमालेका नेता तथा प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालको पनि सुन तस्करीमा संलग्ता रहेको खुलेको थियो। चलाउने र खनालबीच कारोबार भएको समेत देखिएको थियो। 

एमाले नेता तथा पूर्व आईजीपी खनाल समेत मुछिने गरी बयान दिएपछि सीआईबीका कर्मचारीहरुले चलाउनेको बयान नै च्यातिदिएका थिए। अनुसन्धानबाट सुन तस्करीमा चलाउनेको पनि संलग्नता देखिए पनि सीआईबीका अधिकारीहरुले भने उनलाई भगाएका थिए। 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १२:४४
Weather Update