-1702023422.jpg)
काठमाडौं— पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जोन भनिने जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
गुरुङविरुद्ध १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गरिएको छ। गुरुङको योजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३८ किलो सुन तस्करी भएको दाबी अदालतमा दायर आरोपपत्रमा गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलका अनुसार बिहीबार सरकारी वकिल कार्यालयले गुरुङविरुद्ध मुद्दा दर्ता गर्ने अनुमति दिएसँगै शुक्रबार मुद्दा दर्ता गरिएको हो।
गुरुङ प्लाटिनम कलेजका अध्यक्षसमेत हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई फागुन १३ गते सामाखुसीबाट पक्राउ गरेको थियो। विमानस्थल भन्सार कार्यालयले गुरुङलाई पक्राउका लागि सीआईबीलाई पत्राचार गरेको थियो।
दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो। सोही प्रकरणको अनुसन्धान गर्दैजाँदा गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३८ किलो सुन तस्करी गरेको रहस्य खुलेको हो।
यस प्रकरणमा चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भइसकेको छ।













