
काठमाडौं– प्रहरी कार्यालयभित्रै गोली चलेको घटनामा छानबिन गर्न गठित समितिले कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरेको छ।
प्रहरी प्रभाग बलम्बुमा गोली चलेको घटनामा इन्स्पेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए।
फागुन ६ मा प्रहरी कार्यालयभित्रै श्रेष्ठले प्रयोग गर्ने ९ एमएमको पेस्तोल एक्कासि पड्कँदा सुरक्षागार्ड र एक जना सर्वसाधारण घाइते भएका थिए। उक्त घटना छानबिनका लागि समिति बनाइएको थियो।
समितिले प्रतिवेदन बुझाउँदै श्रेष्ठबाट लापरबाही भएको औंल्याएको समितिका एक सदस्यले बताए। घटनालगत्तै इन्स्पेक्टर श्रेष्ठ जिल्ला प्रहरी परिसर, काठमाडौंमा तानिएका थिए।
प्रहरी कार्यालयमा हतियार बुझाएर मात्र घर जानुपर्नेमा उनी हतियार साथीलाई बुझाएर ड्युटीबाट सिधै घर जान लागेका बेला घटना भएको थियो।