![बलम्बु प्रहरी प्रभागमा गोली चलेको घटनामा इन्स्पेक्टर पक्राउ, घाइते प्रहरी खतरामुक्त [अपडेट]](https://newsgriha.com/uploads/posts/gun-bullet-1702370057.jpg)
काठमाडौं– प्रहरी प्रभाग बलम्बुमा पेस्तोल पड्किएको छ। आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए।
इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउने क्रममा दुर्घटनावश पड्किएर बडिगार्ड घाइते भएको एआईजी थापाले बताए।‘इन्स्पेक्टरले ड्युटी सकेर पेस्तोल बुझाउने क्रममा दुर्घटनावश पड्किएको देखिन्छ। बडिगार्डको खुट्टामा चोट लागेको छ,’ उनले भने, ‘दुर्घटनावश पड्किएको भएपनि उनको केही लापरबाही देखिन्छ।’
घाइते बडिगार्ड सिपाही आशिष जैसवालको उपचारका लागि एपीएफ अस्पताल लगिएको थियो। उनी खतरामुक्त छन्। एक जना सर्वसाधारणको पनि खुट्टाको औँलामा सामान्य चोट लागेको छ। यद्यपि उनी उपचारपछि घर फर्किसकेका छन्।
यस विषयमा छानबिन गरी सत्यतथ्य जानकारी गराउन भनेर एआईजी थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन समेत दिएका छन्। इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरिरहेको छ ।