
काठमाडौं— आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बङ्गलादेशविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।
कप्तान देव खनालले टोलीमा २ परिवर्तन गरेका छन् । तिलकराज भण्डारी र दीपक डुम्रेको स्थानमा आज अलराउन्डर विशाल विक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्ता टोलीमा आएका छन् । विशाल प्रतियोगितामा पहिलो पटक खेलिरहेका छन् ।
बंगलादेशले समूह चरणमा आयरल्याण्ड र अमेरिकालाई हराउँदा भारतसँग भने हार बेहोरेको थियो । यसपछि सुपर सिक्सको खेलमा पाकिस्तानसँग खेल्न बाँकी छ । यस्तो अवस्थामा दुवै खेल जिते रनरेटको आधारमा बंगलादेश अघि बढ्ने सम्भावना रहन्छ ।
नेपालले भने सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोरेको थियो । त्यसपछि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा स्थान बनाउन सफल भएको थियो ।
नेपालले यसअघि विश्वकपमा बङ्गलादेशसँग दुई पटक खेलेको छ । सन् २००२ मा २३ रनको जित दर्ता गरेको नेपालले सन् २०१६ को संस्करणमा भने हार बेहोरेको थियो ।