News Griha :: न्यूजगृह
सुपर सिक्सका खेल नखेल्दै बाहिरिएको नेपाललाई २२ वर्षपछि बङ्गलादेशलाई हराउने अवसर

काठमाडौं— दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ । त्यसका लागि नेपाली टोली गत आइतबार इस्ट लन्डनबाट ब्लोमफोन्टन पुगिसकेको छ ।

नेपालले शुक्रबार अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै सुपर सिक्समा पुगेको थियो । पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भए पनि समूह चरणको निर्णायक खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरी सुपर सिक्समा पुगेको थियो ।

समूह चरणका खेलमा बङ्गलादेशले अमेरिकालाई १२१ रन र आयरल्याण्डमाथि ६ विकेटको जित निकालेको थियो । भारतसँग भने ८४ रनले पराजित भएको थियो ।

नेपाल र बङ्गलादेशबीच विश्वकपमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन् । विश्वकपमा यि दुईबीच सन् २००२ मा न्युजिल्याण्डमा पहिलो प्रतिस्पर्धा भएको थियो। जहाँ नेपालले बङ्गलादेशलाई २३ रनले हराएको थियो । दोस्रो पटक सन् २०१६ मा बंगलादेशमै भएको विश्वकपमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै यू–१९ एसिया कपमा २ पटक भेट हुँदा दुवै खेलमा बंगलादेश विजयी भयो ।  सन् २०१९ मा बङ्गलादेशले नेपाललाई ६ विकेटले हराएको थियो भने २०२१ मा १५४ रनको फराकिलो अन्तरले हराएको थियो । 

समूह ‘डी’ को तेस्रो हुने टोलीले समूह ‘ए’ को पहिलो र दोस्रो स्थानसँग खेल्ने प्रावधान अनुसार नेपालले भारत र बङ्गलादेशसँग खेल्न लागेको हो ।

दोस्रो खेलमा माघ १९ गते नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारत यू–१९ विश्वकपकै सर्वाधिक सफल टोली हो । ५ पटकको विश्वकप विजेता भारत ३ पटक उपविजेता भइसकेको छ ।

नेपाल र भारतबीच विश्वकपमा यसअघि २ खेल भइसकेको छ । जहाँ नेपालले दुवै खेल गुमाएको छ । श्रीलङ्कामा सन् २००० मा भएको तेस्रो संस्करणमा भारतसँग ८ विकेटले हारेको नेपाल २०१६ मा भएको खेलमा ७ विकेटले पराजित भएको थियो ।

यू–१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ। यो पटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो ।

सुपर सिक्सका खेल नखेल्दै बाहिरियो नेपाल

सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट औपचारिक रुपमा बाहिरिएको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो ।

सुपर सिक्समा नेपालले बुधबार बङ्गलादेशसँग र शुक्रबार भारतसँग खेल्ने छ । बंगलादेश र भारतलाई हराए पनि नेपालको ४ अङ्क हुनेछ । तर भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेल अगावै ६–६ अङ्क रहेकाले नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो ।

नेपालसँगै आयरल्याण्ड र न्युजिल्याण्ड पनि ग्रुप 'ए' को सुपर सिक्सबाट औपचारिक रुपमा बाहिरिएका छन् ।

सुपर सिक्समा भारत ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । त्यस्तै पाकिस्तान ३ खेलमा समान ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । नेपाल भने २ खेलमा अङ्क विहीन हुँदै पाँचौं स्थानमा छ । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०६:३५
Weather Update