
काठमाडौं— अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथलेट अफ दि इअर’ अवार्ड जितेका छन् ।
गत जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका मेसीले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए ।
उनकै उत्कृष्ट प्रदर्शनमा इन्टर मायमीले क्लब इतिहासमै पहिलो उपाधिको रुपमा लिग्स कपको उपाधि जितेको थियो । ३६ वर्षीय मेसीले अक्टोबरमा कीर्तिमानी आठौं पटक बालोन डे’ओर अवार्ड समेत जितेका थिए ।
‘लिओनल मेसीले यो वर्ष असम्भव देखिने उपलब्धीहरू हासिल गरेका छन् । जब उनले इन्टर मायमीसँग सम्झौता गरे अनि अमेरिकालाई एउटा फुटबल देशको रुपमा चिनाएका,’ टाइमले लेखेको छ ।
यस्तै टाइमले मेसीको आगमनले रङ्गशालामा दर्शकको उपस्थिति, टिकटको मूल्य र मर्चेन्डाइज बिक्रीमा उल्लेख्य वृद्धि तथा एमएलएस खेलको दर्शक बढाउन महत्वपूर्ण योगदान गरेको जनाएको छ ।
गत वर्ष अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका मेसीले टाइमम्यागजिनको अवार्ड जित्ने जिम्न्यास्ट सिमोन बेल्स, स्विमर माइकल फेल्प्स र एनबीए सुपर स्टार लिब्रोन जेम्सको सूचीमा समावेश भएका छन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग सम्झौता सकिएपछि मेसीले बार्सिलोना फर्किने इच्छा राखेका थिए तर त्यो तत्काल सम्भव भएन ।