साउदी अरबलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं— मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।
योसँगै नेपाल समूह 'ए'को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह 'डी'को विजेतासँग खेल्नुपर्नेछ ।
साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कँडेलले ६, आकाश चन्दले २ र सुवास भण्डारीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० १३:१५