News Griha :: न्यूजगृह
यू-१९ प्रिमियर कपमा नेपालले साउदीलाई दियो ३४८ रनको विशाल लक्ष्य

काठमाडौं— मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा नेपालले विशाल स्कोर बनाएको हो ।

नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो । नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्वपूर्ण योगदान गरे भने भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए । चौथो नम्बरमा आएका कप्तान देव खनालले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कँडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

५० ओभरको खेललाई एक बल घटाएर खेलाइएको थियो । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई/दुई खेल जितेका छन् । समान ४ अङ्क भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू-१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्नेछ ।

हाल भइरहेको यू-१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्ने भएकोले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछ ।

समूह ए को विजेताले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नेछ । समूह डी को अन्तिम दुई खेल शुक्रबार हुनेछ । जसमा जापान र हङकङ तथा मलेसिया र इन्डोनेसियाबीच खेल हुनेछ । 

जापान २ खेल जित्दै ४ अङ्क जोडेर शीर्ष स्थानमा छ । हङकङ र मलेसियाको एक जित र एक हारबाट समान २ अङ्क छ । दुवै खेलमा पराजित इन्डोनेसिया अंकविहीन छ । यू-१९ प्रिमियर कपको शीर्ष तीन टोली मात्र यू-१९ एसिया कपमा छनोट हुनेछन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ११:२९
Weather Update