
काठमाडौं— चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी सर्वत्र आलोचनाको विषय बनेको छ ।
उक्त घटनामा मृतक चेतनकी श्रीमती भारती मानन्धरले आममाफीको विरुद्धमा भोलि बुधबारदेखि काठमाडौंको माइतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकी छिन् ।
राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आम पीडितको न्यायका लागि आममाफीविरुद्ध रिले अनशन बस्न लागेको बताइन् ।
उनले भनिन्, ‘घटना भएको आज आठ वर्ष भयो । तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेको छैन । डिप्रेसनको औषधी अझै पनि चलिरहेको छ । मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी विर्सन सक्छु ?’
चेतनको हत्यारा कारागारमा छ भन्दा पनि आफूलाई विगतमा केही राहत महसुस भएको पनि राष्ट्रपतिले आममाफी दिएर पुरानो घटनाको पीडा दोहार्याइदिएको उनको आरोप छ ।
उनले भनिन्, ‘जो मान्छेले मेरो जीवनतहसनहस बनायो, त्यो मान्छे कारागारभित्र छ भन्ने थियो । तर, अहिले राष्ट्रपतिले म पहिला पीडामा थिएँ, फेरि दोहोर्याइ दिनुभयो । पहिलाको दृश्य मेरो आँखामा झलझली भइरहेको छ ।’
हत्यारालाई आममाफी हुने हो भने राज्यले आफूलाई पनि हतियार दिनुपर्ने उनको माग छ । आममाफी मिल्ने हो भने आफू पनि मार्नका लागि तयार रहेको उनको भनाइ छ ।
आममाफीका विषयमा यो घटना तपाईँको छोरी चेलीलाई परेको भए न्याय माग्नका लागि यसरी नै मिडियामा आएर रुने गराउनुहुन्थ्यो भनेर उनले राष्ट्रपतिमाथि प्रश्न गरिन् ।
उनले भनिन्, ‘यदि मेरो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी चेलिबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ? मिडियामा आएर रोएर, कराएर अधिकारको लागि लड्नुपर्ने मेरोजस्तै गराउनुहुन्थ्यो होला त ? यस्तै दिन देखाउनुहुन्थ्यो होला त आफ्ना छोरी चेलीलाई ? जस्तो आजमलाई यो दिन देखाउनुभयो । न्यायका लागि गुहार गर्नुहुन्थ्यो होला त ?’