
काठमाडौं— बाँकेको नेपालगञ्जस्थित सुर्खेत रोडमा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने मुख्य नाइके रिगल उर्फ योगराज ढकाल संविधान दिवसमा आममाफी पाएर रिहा भएका छन् ।
२०७२ असार २८ गते २९ वर्षीय मानन्धरको हत्या भएको थियो । जेल सजाय हुनुअघि रिगल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको बाँके क्षेत्र नम्बर ३ सभापति थिए ।
मानन्धनमाथि रिगलसहितको समूहले ०७२ असार २८ गते दिनदहाडै सांघातिक आक्रमण गरेको थियो । खुँडा प्रहारबाट गम्भीर घाइते भएका मानन्धरको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु अघि घटनाबारे प्रहरी समक्ष उनले आफैँ प्रत्यक्ष बयान दिएका थिए ।
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले बुधबार रिगलसहित ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका थिए । हत्या अभियोगमा जिल्ला अदालत बाँकेले रिगललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
उनले दाङस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनलाई बाँके, बर्दिया हुँदै दाङ कारागार सरुवा गरिएको थियो । ४० प्रतिशत मात्रै सजाय काटेको अवस्थामा कांग्रेसका नेताहरूको दबाबमा कारागार प्रशासनले उनको बाँकी कैद सजाय कट्टागरी रिहाइको लागि सिफारिस गरेको थियो । सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका उनलाई ५० प्रतिशत सजाय पूरा नभएपनि आममाफी मिलेको हो ।
गुण्डा नाइके रिगललाई लिन नेपालगञ्जदेखि कार्यकर्ता दाङ पुगेका थिए । दाङदेखि नेपालगञ्जसम्म गाडीका लावालस्करसहित कांग्रेस कार्यकर्ताले उनलाई एस्कर्ट गरेर लगेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । कारागारको मूलगेटमै उनलाई अबिर, खादा, मालासँगै तरुण कार्यकर्ताले संगठनको झण्डा ओढाएर स्वागत गरेका थिए ।
घटनाको तीन वर्षपछि २०७५ बैशाख १२ गते जिल्ला अदालत बाँकेले रिगललाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको थियो । घटनामा संलग्नताका आधारमा दोषी देखिएका अन्यलाई तीन वर्षदेखि जन्म कैदसम्मको सजाय सुनाइएको थियो । मुद्दा चलाइएका १५ जनामध्ये दीपक केसीलाई निर्दोष करार दिँदै अदालतले सफाई दिएको थियो । केसीले ढकाललाई प्रहरीबाट जोगाएर भगाउन मद्दत गरेको आरोप थियो ।
हत्यामा संलग्न प्रशान्त गौतम भन्ने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्म कैद सुनाइएको थियो । मोहन ढकाललाई १० वर्ष र दिपेन्द्र सिंह भन्ने दिपेन्द्र मल्ललाई ५ वर्षको सजाय सुनाइएको थियो । घटनामा अन्य अभियुक्त प्रितम थापा, यामबहादुर बुढामगर, केशव रोकाय, मनिष चौलागाईँ, माधव नेपाली, विवाद पाठक र हरि वलीलाई जनही तीन/तीन वर्ष कैदको सजाय सुनाइएको थियो ।
रिगल लामो समयदेखि गुण्डागर्दीमा संलग्न थिए । कुनै बेला आफ्नै सहयोगी रहेका मानन्धरलाई लेनदेनको विषयमा असन्तुष्टि बढ्दै गएपछि रिगल समूहले दिनदहाडै खुँडा प्रहार गरेको थियो । हात छिनालिएर गम्भीर घाइते भएका उनलाई थप उपचारको लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
घटनालगत्तै फरार रिगलले डेढ वर्षपछि बाँके जिल्ला अदालतमा आत्मसपर्मण गरेका थिए । प्रहरी इन्काउन्टरमा काठमाडौंका गुण्डा नाइके कुमार घैँटे मारिए लगत्तै उनले अदालतमा आत्मसमर्पण गरेका थिए । यो घटनामा संलग्न अझै २ जना फरार छन् ।