
काठमाडौं— तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलभित्र शुक्रबार राति खुकुरी प्रहर गरी चार जनाको हत्या घटनामा एउटै व्यक्ति रहेको नेपाल प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रहरीले आइतबार थप एक जनालाई पक्राउ पनि गरेको छ । जुन व्यक्ति सीसीटीभी फुटेजमा देखिएका थिए ।
प्रहरीको स्रोतले बताएअनुसार ती व्यक्तिले चार जनाकै हत्या आफूले गरेको बयान दिएका छन् । प्रहरीले उनको परिचय भने गोप्य राखेको छ ।
प्रहरीलाई उनले दिएको बयानअनुसार उनी मोरङ घर भएका १९ वर्षका नवीन राईको हत्या गर्न सःमिलमा पुगेका थिए । घटना थाहा पाउने भएपछि उनले अरुमाथि पनि अन्धाधुन्ध आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा र आमा ७० वर्षकी सुमित्रा भुजेलको हत्या भएको छ । घटनाबारे खबर गर्न २८ वर्षका दीपेन्द्र राई तीनकुनेस्थित प्रहरी वृत्त नयाँ बानेश्वर पुगेका थिए । कपडा र जुत्तामा रगत लागेको अवस्थामा पुगेका उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।
सीसीटीभी फुटेजमा दीपेन्द्र सवा ११ बजेको हाराहारीमा सःमिलमा प्रवेश गरेर साढे ११ बजे निस्किएको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।