News Griha :: न्यूजगृह
६० र ९ किलो सुन तस्करी प्रकरणमा राहुलको ‘कनेक्सन’ देखियो, कृष्णबहादुर महरालाई भने उन्मुक्ति ?

काठमाडौं— मोटरसाइकलको ‘ब्रेक शु’ मा लुकाएर तस्करी गरिएको ६० केजी सुन र सोही प्रकृतिको विद्युतीय चुरोट (भेप)मा लुकाएर भित्राइएको ९ केजी सुन प्रकरणको ‘कनेक्सन’ देखिएको छ  ।

तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यी दुई घटनालाई छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ । ९ केजी सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोजन गरिसकेको छ भने ६० केजी सुनको अनुसन्धान सीआईबीमार्फत् भइरहेको छ । सीआईबीको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा असार २७ गते गरेको अभियोजनमा ९ केजी सुनमा चिनियाँसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको कनेक्सन देखिएको विवरण चार्टसहित उल्लेख छ ।

Prabhu Bank

राहुल भने बुधबार मात्र पक्राउ परेका छन् । ९ केजी सुनमा कनेक्सन देखिएपछि राहुल महरालाई बुधबार पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । सीआईबीले सुन ल्याउने समूहका चिनियाँ नागरिक ली भन्ने ली वेन सुङ्गसँग कृष्णबहादुर महराको ११ पटक फोनसम्पर्क भएको देखाएको छ । सोही समूहका दाओजिन वाङसँग महराका छोरा राहुलको १३१ पटक सम्पर्क भएको देखाइएको छ । तर यो प्रकरणमा कृष्णबहादुर महरालाई भने उन्मुक्ति दिन खोजिएको छ  । 

चिनियाँ नागरिक याओ पुचेङ, ली वेन सुङ्ग र जिक्वान लिन भारतमा सन् २०२१ र २०२२ मा बरामद भएको १४७ केजी सुन तस्करीमा पनि पक्राउ परेर छुटेका व्यक्तिहरू हुन् । 

राहुलको कनेक्सन चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ । दावा, राहुल र चिनियाँ नागरिक दाओजिङ वाङसँग कनेक्सन देखिएको सीआईबीका अधिकारीहरूको दाबी छ । सीआईबीका एक अधिकारीले भने, ‘उहाँ(राहुल)को कनेक्सन ६० र ९ किलो सुन तस्करी प्रकरणमा देखिएपछि पक्राउ गरेका हौं ।’ ९ किलो सुन प्रकरणमा नासु रेवन्त खड्कासँगै सुन पसले वेदप्रसाद अग्रवाल, सुन जाँच्ने साहेव राव मर्ग, सुन पसले निर्मलकुमार बिक, भन्सार एजेन्ट दिनेश बस्नेत र अमृत कार्की सुरक्षा गार्डसहित ९ जना पक्राउ परेका छन् । 

जिल्ला अदालत काठमाडौंले रेवन्तसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । अन्य धरौटीमा रिहा भएका छन् । यो प्रकरणमा जोडिएका अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्ने तयारी सीआईबीले गरेको छ । तर, कोको पक्राउ पर्दैछन् भन्ने केही खुलाएको छैन ।  

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ११:४१
Weather Update