News Griha :: न्यूजगृह
नेपालको लगातार दोस्रो जित

काठमाडौं— चार देश सम्मिलित टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो ।

नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्र बनाउन सक्यो। कुवेतलाई कम स्कोरमा रोक्न इन्दु बर्मा एक्लैले ३ विकेट लिइन्न । इन्दुले ४ ओभरमा १५ रन खर्चिइन्। खुसी डङ्गोलले दुई विकेट झारिन् । राष्ट्रिय टोलीमा डेब्यु गरेकी लेग स्पिनर खुसीले डेब्यु खेलमा नै विकेट लिएकी हुन् । कविता कुँवर, सीता रानामगर र ईश्वरी विष्टले समान एकएक विकेट लिए  । 

कुवेतका लागि जिफाजिलानीले ११ र खादिजाखलीले बनाएको १० रन नै कुवेतका लागि सर्वाधिक रह्यो । अन्य ब्याटरले दोहोरो अङ्कको स्कोर छुन सकेनन् । त्यसअघि बायोमास ओभलमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रनको सामान्य योगफल तयार पारेको थियो । 

कुवेतका बलरसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागि इन्दु बर्माले बनाएको २३ रन नै सर्वाधिक रह्यो । इन्दुले १९ बलमा २ चौका मद्दतमा २३ रन बनाउँदा क्याच आउट हुन पुगिन् । बिन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन थपे। अन्य ब्याटरले दोहोरो अङ्कको स्कोर छुन सकेनन् । 

कुवेतका लागि मरियम हैदर एक्लैले चार विकेट लिइन्न। मरियम उमरले दुई तथा प्रियदा मुरली र खासदजाखलीलले समान एक विकेट आफ्नो नाममा गरे। लगातार दोस्रो जितसँगै नेपाल ४ अङ्कमा तालिकाको शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । एक खेलमा जित र एक खेलमा हार भोगेको हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा छ ।

लगातार दोस्रो हार व्यहोरेको कुवेत अंकविहीन रुपमा तालिकाको पुछारमा छ । नेपालले सिरिजको आफ्नो अन्तिम खेल शुक्रबार घरेलु टोली मलेसियासँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोलीले शनिबार फाइनल खेल्नेछन् । पुछारका २ टोलीले भने तेस्रो र चौथो स्थानका लागि स्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १५:११
Weather Update