
काठमाडौं— चार देश सम्मिलित महिला टी–२० आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ ।
नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यु खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन् । उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट लिइन् ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो ।
उक्त लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि सम्झना कुमारी खड्काले अविजित ३६ रन बनाइन् । उनले ३६ बल खेल्ने क्रममा पाँच चौकासमेत हिर्काइन् ।
यस्तै, पूजा महतोले १६, कप्तान रुविना क्षेत्री बेलबासेले १० रनको योगदान दिइन् । हङकङले नेपालको खातामा १३ अतिरिक्त रन थपेको थियो ।
यसअघि नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन् । हङकङले १९ दशमलव एक ओभरमा सबै विकेटको क्षतिमा ८४ रन मात्रै बनायो ।
हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट लिइन् । उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन् । सीता प्लेयर अफ दी म्याच भइन् । यस्तै इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलबासेले एक÷एक विकेट लिए ।