
काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले २ अनुभवी राष्ट्र भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् ।
एशिया कपको यात्रा सुरु हुनुभन्दा अगाडि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक देशाईले राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका हुन् ।
भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग पहिलोपटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको कप्तान रोहित पौडेन नेतृत्वको नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गरेकाे छ ।
प्रशिक्षक देशाईले एसिया कपजस्तो ठूलो प्रतियोगितामा प्रभावशाली स्पिनर सन्दीप लामिछानेको अभाव खड्किएको पनि बताए । सन्दीप बलात्कार अभियोगमा मुद्दा झेलिरहेका छन् ।
देशाईले भने,‘सन्दीपको कमी हामीलाई खड्किएको छ । उनी हाम्रो टोलीका महत्त्वपूर्ण सदस्य हुन् । नभुलौं, हामी पाकिस्तान र भारतजस्तो बलियो टोलीसँग एसिया कप खेल्दैछौं ।’
उनले आगामी एसिया कपमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी पनि गरे । ‘हाम्रा प्रतिद्वन्द्वी बलिया छन् । तर, प्रतियोगिताका लागि हामी निकै राम्रो तयारी गरेका छौं । हामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ उनले भने ।